भारतबाट १७ सय जना कर्णाली भित्रिए

कर्णाली प्रदेशमा बिहीबार एकैदिन भारतबाट आएका करिव १७ सय नागरिक भित्रिएका छन् । सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जाजरकोट र जुम्लाका गरेर एक हजार छ सय ६९ जना भित्रिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विहान आएका मध्ये दैलेखका ७२७ र सल्यानका तीन सय ५१ जना सम्वन्धीत जिल्लामा पुर्‍याइएको छ भने बाँकी जिल्लाकालाई सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ ।  

कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगामै क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गरेर भारतबाट आएका नागरिकहरुको चेकजाँच गर्ने निर्णय गरेको प्रदेश सरकारले सम्बन्धित स्थानीय तहको विरोधपछि भारतबाट आएका नागरिकहरुलाई वीरेन्द्रनगर ल्याएको हो ।  

स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेख र सल्यानका नागरिकहरुलाई सम्बन्धित जिल्लामै ‍र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गर्ने गरेर पठाइएको जानकारी दिए । ‘बाँकी जिल्लाका नागरिकहरुलाई प्रदेश राजधानी वीरेन्द्रनगर ल्याएका छौं,’ उनले भने, ‘यहीँ आरडिटी चेकजाँच गर्नुका साथै १४ दिनसम्म क्वारेन्टिनमा राखेर सम्बन्धित पालिकामा पठाउँछौं ।’

डा. तिवारीका अनुसार सल्यानका नागरिकहरुलाई दैलेखको प्रवेशद्वार गुराँसेमा आरडिटी चेक गरिने छ भने सल्यानका नागरिकहरुलाई प्रदेश सरकारले स्थापना गरेको मेडिकल मार्चमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले चेकजाँच गर्नेछन् । आरडिटी रिपोर्टका आधारमा सम्बन्धित पालिकामा पठाएर १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

भारतमा रेल सेवा सुरु भएसँगै कामका लागि त्यहाँ रहेका नागरिकहरु स्वदेश फर्कनेक्रम सुरु भएको छ । पछिल्लो चार दिनको अवधिमा २५ सय भन्दाबढी कर्णालीबासीहरु घर फर्केका छन् । सुर्खेतको बबईसँगै कुइने र सल्यानको कपुरकोटबाट यहाँका नागरिकहरु भित्रिने गरेका छन् । कर्णाली प्रदेश सरकारले भारतबाट आएकाहरुसँगै शंकास्पद विरामीहरुको कोरोना परीक्षणका लागि १० वटा जिल्लाका २८ ठाउँमा ‘मेडिकल मार्च’ नाम दिएर चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ ।  

बिहीबार मात्रै सुर्खेतका चार सय ४८, दैलेखका सात सय २७, सल्यानका तीन सय ५१, कालिकोटका ५४, जाजरकोटका ८२ र जुम्लाका १० जना कर्णालीमा भित्रिएका छन् ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १५:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया