परराष्ट्रमन्त्री ज्ञवालीले आजतकसँग भने, ‘जारी भएको नक्सा परिवर्तन हुँदैन’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले हालै जारी गरेको नेपालको नक्सा स्थायी भएको बताएका छन् । भारतीय मिडिया आजतकलाई शुक्रबार दिएको अन्तर्वार्तामा उनले यस्तो अडान राखेका हुन् ।

 
परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपपालको नक्सा परिवर्तन नहुने प्रस्ट पारे ।


उनले नेपालको नक्सा अद्यावधिकले भारतसँग हुने वार्तामा कुनै पनि असर नपार्ने प्रतिक्रिया दिए । नक्सा तत्काल अद्यावधिक गर्ने विषय भारतकै कारण आएको बताए ।
‛जब भारतले २ नोभेम्बर २०१९ मा जम्मु काश्मीरलाई पुनव्र्यवस्थित गरेर नक्सा परिवर्तन ग¥यो’, उनले भने, ‘हामीले सीमा विवादका बारेमा नयाँदिल्लीसँग धेरै पटक कुरा गर्ने प्रयास गरेका थियौँ, तर त्यहाँबाट कुनै प्रतिक्रिया आएको छैन । त्यसपछि नेपालका सबै राजनीतिक दलले संयुक्त रूपमा नक्सा परिवर्तन गर्न जोड दियो । अब यो पुनः परिवर्तन गर्न सकिँदैन ।’


नेपालको अद्यावधिक नक्सामा नेपालका आफ्ना क्षेत्रहरू सही रूपमा वर्णन गरिएको उनले स्पष्ट पारे ।

 
भारतसँगको विवादका विषयमा भने भारतसँग औपचारिक वार्ता आवश्यक रहेको उनको भनाइ थियो । स्वतन्त्र सार्वभौम मुलुकले गरेको राष्ट्रहितको निर्णयको भारतीय पक्षले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले नेपालले स्वतन्त्र निर्णय लिएको र राष्ट्रिय हितको पक्षमा निर्णय गर्नु कसैको विरोध गर्नु नभएको समेत प्रस्ट्याए ।


‛भारतसँग दुईपटक वार्ता गर्न हामीले पहल गरेका छौँ तर हाम्रो पत्रमा भारतबाट कुनै प्रतिक्रिया आएको छैन’, उनले भने । चीनले नेपाललाई उक्साइरहेको भन्ने टिप्पणीअन्तर्गत सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले स्वतन्त्र रूपमा नेपालले लिएको निर्णयमा नेपालीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सुझाव दिए ।



 
‛नेपाल मात्रै दक्षिण एसियामा एक यस्तो राष्ट्र हो जो कहिल्यै पनि कसैको उपनिवेशमा रहेको छैन । त्यसकारण नेपाल आफैँ कुनै निर्णय लिन सक्दैन भन्ने औपनिवेशिक मानसिकता पनि परिवर्तन गर्नुपर्छ’, उनले भने ।
 



  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार ८:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया