पशुपतिनाथको सरसफाइमा समेत भारतको सहयोग !

पशुपतिनाथको मन्दिर विश्वसम्पदा सूचिमा सूचिकृत नेपालको राष्ट्रिय सम्पदा हो । त्यसैले, यसको संरक्षण र सरसफाइमा स्वयम् नेपाल सरकार लाग्नुपर्ने हो । तर, त्यस्तो भइरहेको छैन ।


पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माणका लागि सरकारले भारतसँग सहयोग मागेको छ । यसका लागि नेपालस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


सम्झौताअनुसार भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपिज) को रुपमा यस परियोजनालाई नेपाल–भारतमैत्री : विकास साझेदारीअन्तर्गत अनुदान दिइनेछ । यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो ।

 
पशुपतिनाथ मन्दिरमा पाल्नुहुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाइ सुविधा निर्माण गर्न यस परियोजनाअन्तर्गत भारतले तीन करोड ७२ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ ।

 
यो परियोजनाको कार्यान्वयन काठमाडौँ महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डअनुरुप गर्नेछ । सहमतिअनुसार १५ महिनामा निर्माण सम्पन्न गर्नका लागि महानगरपालिकाले बोलपत्र प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।

काठमाडौँमा अवस्थित पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिसर हो र वाग्मती नदीको दुवैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौँको सङ्ख्यामा भक्तजन आउँछन् ।



सन् २०१४ अगस्ट महिनामा दुवै देशका सरकारले सहमति गरेको सरसफाइ परियोजनाले पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाको स्तरोन्नतिका लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने आशा राखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
 



  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार ७:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया