विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ३७ करोड


विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७७\७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
बुधबार सम्पन्न छैटौं नगरसभाले स्वास्थ्य तथा रोजगारीलाई विशेष प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको हो ।     
     
 बजेटमा आन्तरिक आम्दानीतर्फ रू.८९ करोड ८२ लाख ९६ हजार ७ सय, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ रू. ७६ करोड ८२ लाख ५२ हजार, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रू. ३८ करोड सात लाख ६८ हजार र संघीय सरकारको सशर्त अनुदानतर्फ रू.१ अर्ब २ करोड ९ लाख रहेको छ । 
त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने रू.२ करोड १० लाख ९ हजार, संघीय सरकार विशेष अनुदानतर्फ रू. १३ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ रू.३ करोड, वैदेशिक र अन्य संघसंस्था अनुदानतर्फ रू.३ करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने रू.९ करोड ६२ लाख ५ हजार रकम देखाइएको छ ।     
     
 विनियोजित कुल व्ययतर्फ रू.३ अर्ब ३७ करोड ८१ लाख मध्ये प्रशासनिक खर्चतर्फ रू. ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ रू. ३६ करोड विनियोजन गरिएको छ । त्यस्तै, महानगरले वातावरण तथा फोहरमैला व्यवस्थापनतर्फ ल्याण्डफिल्ड साइटको जग्गा खरिदसहित रू. ११ करोड ४९ लाख ५० हजार विनियोजन गरेको छ । 

त्यस्तै, नगर स्वास्थ्यतर्फ सङ्घीय सरकारसमेत रू. ११ करोड ५७ लाख ९५ हजार र शैक्षिक विकास कार्यक्रमतर्फ रू. ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुदमा रू.२ करोड ९ लाख २४ हजार, अन्य कार्यक्रममा रू. ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पूँजीगत खर्च रू.१ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा कार्कीले बजेट सार्वजनिक कार्यक्रममा जानकारी दिइन् ।     
 सोही अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आर्थिक वर्ष ०७७\ ७८ का लागि वार्षिक नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेका थिए ।
नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरेको जानकारी दिँदै उनले पूर्वाधारसम्बन्धी, सूचनासम्बन्धी, वित्तीय व्यवस्थापन राजस्व परिचालनमा विशेष ध्यान दिउको बताए । 
सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत शैक्षिक, युवा, खेलकूद, नगर स्वास्थ्यसम्बन्धी, लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी, पर्यटन, भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धमा लिएको नीतिले नगर क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास उनले दिलाए ।     
      बालबालिका, गैरसरकारी सङ्घसंस्था, सहकारी, विपद् व्यवस्थापन, वातावरण संरक्षण एवं प्रवद्र्धन, खानेपानी तथा सरसफाइ, पशुपक्षी तथा कृषि विकास र भूमिसम्बन्धमा लिएको नीतिले बनाइएको बजेटबाट विराटनगरको ऐतिहासिकता प्रस्ट भई आधुनिक विराटनगर निर्माण गर्न मद्दत पुग्ने विश्वाससमेत उनले  व्यक्त गरे ।     
     





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १६:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया