सलहको ठूलो झुन्ड नेपाल प्रवेश गर्ने सम्भावना

भारतको राजस्थान क्षेत्रबाट ठूलो संख्यामा रहेको सलहको झुन्ड उत्तरतर्फ अघि बढेको छ । हावाको गतिसँगै अघि बढेको सलहको झुन्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले बताएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुन्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले जनाएको छ ।

 

भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको उक्त झुन्ड हावाको वहावसंगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बताएको छ । तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सरोकारवालालाई केन्द्रले निर्देशन दिएको छ । विशेषगरी सीमावर्ती नेपाली क्षेत्रमा सतर्कता अपनाउन समेत केन्द्रले आग्रह गरेको छ ।


सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको सलहको मुभमेन्टसम्बन्धी जानकारीमा सो कुरा उल्लेख रहेकोको केन्द्रको भनाइ छ । ‘अनुकुल मौसममा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने परिपक्व हुँदै गरेका झुन्ड हावाको बहावसँगै पूर्वउत्तरतर्फ लाग्न सक्ने पूर्वानुमान गरिएको छ,’ केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ, ‘हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुन्ड नेपाल प्रवेश गर्न सक्ने सम्भावना प्रबल छ ।

 

भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका झुन्ड भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपणसमेत केन्द्रले गरेको छ । त्यसमध्येका केही झुन्ड केही दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना देखिएकाले सतर्कता अपनाउनु पर्ने केन्द्रको भनाइ छ ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १३:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया