उपत्यकाका ५ हजारको कोभिड–१९ पिसिआर परीक्षणका लागि नमुना सङ्कलन

काठमाडौं– इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका ५ हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिए ।

महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमुना सङ्कलन गरिने बताए । अस्पतालमा सघन उपचार कक्षका बिरामी,  अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ । यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना सङ्कलन गरिनेछ । उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो ।

महाशाखाका वरिष्ठ वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना सङ्कलन गरिसक्ने बताए । महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र  भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना सङ्कलन गरेको थियो । 

यस्तै आज ललितपुरको भैंसेपाटी, काठमाडौँका नयाँ बानेश्वर र  नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना सङ्कलन गर्दै छ । उनले दैनिक पाँच दिनसम्म एक हजारको दरले नमूना सङ्कलन गरिने बताए । केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ । केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए । 

यस्तै  मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले नमुना सङ्कलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ । अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ । 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १८:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया