‘प्रम ओलीको स्विस बैंकमा खाता छैन’ : प्रेस सल्लाहकार थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम केपी ओलीको स्विस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर छ भन्ने समाचारको खण्डन गरेका छन् । नेपालका केही अनलाइनले ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै लेखेको समाचारप्रति आज प्रेस नोट जारी गर्दै उनले खण्डन गरेका हुन् ।

प्रेस सल्लाहकार थापाले प्रम ओलीको चरित्र हत्या गर्नेगरी झुटो समाचार सिर्जना गरिएको दाबीसमेत गरेका छन् ।

‘ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ, प्रेस नोटमा भनिएको छ, ‘स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाइ नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।’

गुमेको भूमि फिर्ता गर्न नक्सा जारी गरेर प्रधानमन्त्रीले साहसिक कदम उठाएको वेला झुटो समाचार आउनु सुनियोजित षड्यन्त्र रहेको थापाले बताएका छन् ।

‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ’, उनले भनेका छन्, ‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु ।’

प्रेस सल्लाहकार थापाले गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यहरुलाई कारवाही गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।



‘पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न ‘सम्बन्धित निकायहरूसँग मागसमेत गर्दछु’, उनले भनेका छन् ।



  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार ९:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया