साधारणसभा स्थगित गर्नु नियम संगत होइन: ढकाल
फाइल फोटो

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभा स्थगित हुनु गलत भएको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालले बताएका छन् । ढकाल नेतृत्वको समूहले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले निर्वाचन सार्ने महासंघको निर्णय नियम संगत नभएको बताए ।


निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु विधान विपरीत भएको ढकालको भनाइ छ । ‘मलाई आगामी चैतमा गरे पनि खासै फरक पर्दैन, मैले भन्न खोजेको विधानअनुसार गरौँ भन्ने मात्रै हो’ उनले भने ‘कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गरेको छ, यो ठीक भएन ।’

 

निर्वाचन गर्ने विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गर पनि जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगितको निर्णय गर्नु गलत भएको ढकालको भनाइ थियो । ‘सरकारले छुट दिन्थ्यो होला वा रोक लगाउथ्यो होला,’ उनले भने ‘तर चिठीको जवाफ आउनुभन्दा पहिलै हतारमा निर्णय गरियो ।’ 

 

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न आफूले प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्य भन्दा महासंघ ठूलो भएको भन्दै आफूलाई हतोत्साही पार्न खोजेको आरोपसमेत ढकालले लगाए ।



सभा स्थगित गर्ने निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको उनले टिप्पणी गरे । चुनावी नतिजाको आंकलन गरेर निर्वाचन स्थगित गरिएको ढकालले दावी गरे ।

 



कोरोना महामारीको जोखिमको कारण देखाउँदै साउन २६ र २७ गतेका लागि तोकिएको महासंघको चुनाव बिहीबार बसेको पदाधिकारी बैठकले स्थगितको निर्णय गरेको थियो । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् ।

 

ढकाल समूहको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्डीराज ढकाल र पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार पनि सहभागी थिए ।

 

पूर्वअध्यक्ष ढकालले गलत नियतले हतारहतार चुनाव स्थगित गरिएको टिप्पणी गरे । कतिपय पदाधिकारी काठमाडौं उपत्यका बाहिर रहेको बेला यो निर्णय गरिएको भन्दै उनले कार्यसमितिले गर्नुपर्ने निर्णय केही पदाधिकारी बसेर निर्णय गर्नु गलत बताए ।


महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले करिब ५० प्रतिशत पदाधिकारीको असहमतिका बाबजुद चुनाव सार्ने निर्णय गरिएको भन्दै असन्तुष्टि जनाए ।
 

  • प्रकाशित मिति : साउन ९, २०७७ शुक्रबार १५:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया