Wed, 05 Aug, 2020


लकडाउनका चार महिनाः कोरोनाभन्दा ४९ गुणा बढी आत्महत्याबाट मृत्यु
फरकधार / साउन ११, २०७७
प्रतीकात्मक फोटो

२१ असारको कुरा हो । चितवनकी एक युवतीले सामाजिक सन्जाल फेसबुकमा सधैंको जस्तो लाइभ गरिनन् । उनले त त्यो लाइभमा गरिन्, आफ्नै आत्महत्या । यसको केही दिनअघि मात्र दाङमा पनि एक युवतीले आत्महत्या गरेकी थिइन्, फेसबुकमा लाइभ आएर ।



असारमै पर्साका बद्री साह कलवारले पनि आत्महत्यालाई रोजे । परिवारमा लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण कलह बढिरहेको थियो, साहले त्यसलाई सहन सकेनन्, आत्महत्याको बाटो रोजे ।

लकडाउनमै भएका यी तीन आत्महत्या त प्रतिनिधि घटना मात्र हुन् । कोरोना महामारी सुरु भएपछि देशमा लगाइएको लकडाउनमा आत्महत्याको ग्राफलाई हेर्ने हो भने यो डरलाग्दो छ ।

लकडाउनमा कोरोनाबाट ४५, तर आत्महत्याबाट २२ सय १८ जनाको मृत्यु

चैत ११ देखि साउनको पहिलो सातासम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेको तथ्यांक छ । जबकि यही अवधिमा कोरोनाका कारण कुल ४५ जनाको मृत्यु भएको छ ।  

प्रहरीको तथ्यांकअनुसार यो चार महिनाको अवधिमा, विष खाएर तीन सय ४६, आफैँले आगो लगाएर ४, झुण्डिएर १ हजार आठ सय २८, औजार हातहतियारबाट ८, हामफालेर १९, करेन्ट लागेर १ र डुबेर १२ जनाले आत्महत्या गरेका छन् । 

यो पाँच महिनाको अवधिमा सरदर हेर्ने हो भने दैनिक लगभग १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । यद्यपि, प्रहरीले भने आत्महत्याको घटनामा वृद्धि नभएको दाबी गरिरहेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाही आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउँछन् । यसबारे गहिरो अनुसन्धान नभए पनि प्रारम्भिक अनुसन्धानमा मानसिक तनाव नै आत्महत्याको प्रमुख कारण भएको उनको भनाइ छ । तैपनि घटना न्यूनीकरणका लागि प्रहरीले यसतर्फ आफ्नो निगरानी बढाएको उनले बताए । 
 
गत वर्ष अथवा लकडाउन हुनुपूर्वको अवधिमा तीन हजार पाँच सय २४ जनाले आत्महत्या गरेको थिए भने लकडाउनको अवधिमा मात्रै दुई हजार दुई सयभन्दा बढीले आत्महत्या गरिसकेका छन् । यसले सामान्य अवस्थामा भन्दा लकडाउन अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखाउँछ ।

बागमती प्रदेशमै बढी आत्महत्या

लकडाउन सुरु भएपश्चात् चैतयता प्रदेश–१ मा तीन सय ७१, प्रदेश–२ मा तीन सय पाँच, बागमतीमा तीन सय ८५, गण्डकीमा दुई सय ४६, प्रदेश– ५मा चार सय २९ कर्णालीमा १ सय १९ र सुदूरपश्चिम प्रदेशमा दुई सय चार जनाले आत्महत्या गरेका  छन् । यसैगरी, उपत्यकामा मात्रै एक सय ५९ जनाले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीसँग छ । 

प्रदेशगत हिसाबमा हेर्ने हो भने सबैभन्दा बढी प्रदेश–५ मा चार सय २९ वटा घटना भएको देखिन्छ । तर, बागमती प्रदेश र उपत्यकाको संख्या जोड्ने हो भने सबैभन्दा बढी बागमती प्रदेशमै पाँच सय ४४ वटा आत्महत्याका  घटना भएका छन् ।  

प्रहरी स्रोतअनुसार आत्महत्या गर्नेमा १५ देखि ४४ वर्ष उमेरसमूहका धेरै छन् । त्यसपछि १० देखि १४ वर्ष उमेरसमूहले आत्महत्या गर्ने गरेको पाइएको छ । 

तनाव बढेपछि आत्महत्या

मनोविश्लेषकहरुका अनुसार आत्महत्याका पछाडि आर्थिक र समाजिक कारण जोडिएका हुन्छन् । आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु प्रमुख कारण हुन् । यस्तै, सामाजिक कारणमा परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्ध, बोक्सी, दाइजोजस्ता सामाजिक विकृति समेतले मानिसलाई आत्महत्याको बाटो देखाउने उनीहरु बताउँछन् । मानसिक तनाव पनि अर्को कारण हो । 
कोरोना महामारीबीच जारी लकडाउन, रोजगारी गुम्ने, व्यवसाय डुब्ने अवस्था, भविष्यको अनिश्चिताजस्ता कारणले मानसिक रोगीको संख्या बढेको र त्यही अनुपातमा आत्महत्या गर्ने दर पनि बढेको मनोचित्सिकहरूको आकलन छ ।  
 
मनोविश्लेषक डा. अरुण कुँवर लामो समय घरमै थुनिएर बस्नुपर्दा, व्यवसाय सञ्चालन गर्न नपाउँदा, लकडाउनपछि जीवनयापन सहज हुन्छ भनेर आशावादी हुन नसक्ने अवस्था आदि कारणबाट कतिपयले आत्महत्याको गलत बाटो रोज्ने गरेको बताउँछन् । ‘जिउनभन्दा आफैँलाई मार्न सहज लागेपछि मान्छे आत्महत्याजस्तो गलत बाटो रोज्न पुग्छ,’ मनोविश्लेषक कुँवर भन्छन्, ‘यसमा डिप्रेसन, सिजोफ्रेनिया, भ्रम, तनाव, व्यक्तित्व विकार, डर, अल्कोहलमा निर्भरता, जटिल दीर्घरोग आदिको भूमिका हुन्छ ।’

आत्महत्याको मुख्य कारण व्यक्तिको मानसिक मनोदशा हो । मानिस मनोवैज्ञानिक रूपमा कमजोर हुँदै गएपछि निराशाको चरम रूप आत्महत्याको बाटो रोज्छ । आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू नै रहेको मनोविश्लेषक कुँवरको दाबी छ । 

आत्महत्याबारे रणनीति बनाउन सरकारलाई निर्देशन

लकडाउनको अवधिमा आत्महत्याका घटना बढेपछि प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले यसतर्फ सतर्कता अपनाउन सरकारलाई समेत आग्रह गरेको छ । असार १७ गतेको बैठकले लकडाउनको समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चारबुँदे निर्देशन नै दिएको छ । 

आत्महत्या गर्नेमा बालबालिका र आर्थिक रुपमा सक्रिय उमेरसमूहका मानिस भएको हुँदा रोकथामका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाई कार्यान्वयन गर्न समितिले गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक अध्ययनले आत्महत्या गर्नेमध्ये ७९ प्रतिशत न्यून र मध्यम आय भएका देशका छन् । यसले आर्थिक संकट आत्महत्याको महत्वपूर्ण कारण हो भन्ने देखाउँछ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्