तत्काल अन्तर्राष्ट्रिय उडानको तयारीमा १२ कम्पनी
फाइल फोटो


कोरोना कारण लामो समय बन्द रहेर करिब पाँच महिनापछि सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले तत्काल उडानको तयारी गरेका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन् ।
    
नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरण समक्ष प्रस्ताव पेश गरेको प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्ससँगै भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजिरा एयर, संयुक्त अरब इमिरेट्सको फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएको बताइएको छ ।
    
सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै दुबैतर्फका एयरलाइन्सले आफ्नो उडान तयारीलाई तीव्रता दिएका छन् । नेपाल उडान गर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दा एयरले हप्तामा १५, मलेसियायन एयरले पाँच र एयर अरेबियाले पनि समान उडान गर्ने प्रस्ताव गरेको बताइएको छ । यस्तै फ्लाई दुबई, सलाम एयर, इण्डिगोले सातामा सात÷सात वटा, टर्कीले छ वटा, जजीराले दुई वटा, एयर चाइना र चाइना साउदर्न ले सातामा एक÷एक वटा मात्रै उडान अनुमति मागेका छन् ।  

 

नेपाल एयरलाइन्सले भदौ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ । हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१ उडान गर्ने तयारी गरेको छ ।

 

 बन्दाबन्दीपछि स्वास्थ्य प्रोटोकल पालना गर्दै उडान सञ्चालनका लागि सरकारले स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले व्यावसायिक उडान गर्न पाउँछन् । विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । 

 



सरकारले कोभिड–१९ रोकथामका लागि गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म नेपालभर बन्दाबन्दी लागू गरेको थियो । उक्त अवधिमा नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ । 

 



उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनी जुटेका छन् । आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका ४८ उडान स्वीकृति भएको बताइएको छ । 

  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १५:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया