पाँच कारण जसले देखाउँछ नेकपामा विवाद थप जटिल हुँदैछ
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद सहजै अन्त्य होला भन्ने आधारहरु घट्दै गइरहेका छन् । विशेषगरि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भइरहेका अडान र धारणालाई हेर्ने हो भने यो स्पष्ट हुन्छ । दुवै नेता पछिल्ला केही दिन देखि यो विवादलाई अन्त्य गर्न भेट गरिरहेका छन् । 

तर, यी भेटले पनि तात्विक भिन्नता केही पार्न सकेको छैन । यी भेटमा पनि दुई अध्यक्षले अहिलेसम्म कुनै विषयमा ठोस सहमती मात्र होइन, निश्चित विषयमा छलफल पनि गरिरहेका छैनन् ।

बरु उनीहरु आआफ्ना गुटका नेताहरुसँग आआफ्ना अडानका लागि सन्देश पठाइरहेका छन् । अनि दुवै पक्षले पछिल्लो समयमा दिएको अभिव्यक्तिहरु पनि एकअर्कासँग बाझिएका छन् । झन्, बुधबारका लागि तय भएको दुई अध्यक्षको बैठक पनि स्थगित गरियो । योसँगै नेकपामा विवाद झन् बढ्दो छ भन्ने अरु आधार पनि थपिँदै गएका छन् ।

यसका लागि यी पाँच कारण हेरौँ ।

पहिलो कारण हो, दुवै पक्षका नेताहरुमा अहिले देखिएको अडान लिने क्रम । पछिल्ला केही दिन यता नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार आफूनिकटका नेताहरुसँग छलफल गरिरहेका छन् । उनीसँग छलफलमा सहभागी भएका छन्, नेकपा महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल । ओलीले भेटेका यी नेताहरुलाई स्पष्ट पारिसकेका छन्, उनी अहिले अर्को पक्षले मागेजस्तो कुनै पनि पदबाट राजीनामा दिन तयार छैनन् । उनले यी नेताहरुलाई यही कुरा अर्को समूहमा सन्देशका रुपमा पठाउन पनि अनुरोध गरेका छन् ।

‘उहाँले जसलाई पछिल्लो समय भेटिरहनु भएको छ,’ नेकपा स्थायी कमिटीका एक सदस्यले फरकधारलाई भने, ‘उहाँहरुलाई प्रधानमन्त्री ओलीले यो अडानबाट पछाडि नहट्ने संकेत गरिसक्नु भएको छ ।’ प्रधानमन्त्री ओलीले लिएको यो अडानलाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतले पनि राम्रोसँग बुझेका छन् । र, उनीहरु पनि अहिले तत्काल प्रधानमन्त्री ओलीको अडान सामु आफूहरु कमजोर नदेखिने पक्षमा रहेका छन् । यसले प्रष्ट पार्छ, नेकपामा यो विवाद झन् बढ्दो छ ।



नेकपामा विवाद थप जटिल हुँदै जानुको अर्को कारणका रुपमा लिन सकिन्छ, प्रचण्डले आफूनिकटका नेताहरुलाई गरेको बिफ्रिङ । पछिल्ला दिन प्रधानमन्त्री ओलीलाई भेटिरहेका अध्यक्ष प्रचण्डले बुधबारको बैठकलाई खासै प्राथमिकता दिएनन् । बरु उनले नेपाल र अन्य नेताहरुसँग मिलेर सयभन्दा बढी पत्रकारहरुलाई बोलाएर एक पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा पनि उनले स्पष्ट पारेका छन्, अहिलेको यो चर्चा दुई नेता र पदको विवाद नभएर पार्टीमा विधि र विधान स्थापित गर्ने विवाद हो ।

‘बरु पछिल्लो समय प्रचण्ड र नेपाल आआफ्ना गुटलाई अझ बलियो बनाएर नयाँ रणनीति बनाइरहेका छन्,’ नेकपाका एक नेताले फरकधारलाई भनेका छन्, ‘उहाँहरु अहिले ओलीसामु नझुक्ने र परि आएको खण्डमा नयाँ पार्टी बनाउन पनि तयार भएको बुझ्न सकिन्छ ।’ यी नेताले प्रचण्डले अहिले नभएर दुई महिनाअघि नै आफूनिकट नेताहरुलाई अहिलेको लडाइँ वार कि पार हो भन्ने बताइसकेको पनि दाबी गरे । यसले गर्दा पनि प्रचण्ड आफ्नो अडानमा अडिग छन् र उनले यसलाई अहिले कमजोर नबनाउने पक्षमा काम गर्न थालिसकेका छन् । 



नेकपामा विवाद झन् जटिल बन्दै जानुमा वामदेव गौतम फ्याक्टरलाई पनि प्राथमिकताका साथ लिन सकिन्छ ।

केही दिनअघिसम्म नेकपा उपाध्यक्ष वामदेव गौतमले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने सार्वजनिक रुपमा बताएका थिए । तर, गत साता एक ६ बुँदे प्रस्ताव ल्याउँदै उनी आफू अहिले पनि ओली खेमामा रहेको संकेत गर्न पछाडि परेनन् । त्यही दिन प्रधानमन्त्री ओलीसँग गौतमको डिनर मिटिङ पनि भयो । त्यो बैठकमा पनि उपाध्यक्ष गौतमले आफू ओली पक्षमा रहेको बताएका छन् ।

बुधबार नै फेरि गौतमलाई भेट्न प्रचण्ड उनको निवासमा पुगे । त्यहाँ प्रचण्ड गौतमसँग क्लियर कुरा गर्न चाहन्थे– के उनी पछिल्लो मागबाट पछाडि हटेका हुन् ?

यो जिज्ञासामा भलै वामदेवले प्रचण्डलाई चित्तबुझ्दो जवाफ दिएनन्, तर यही कारणले उनलाई अहिले ओली र प्रचण्ड दुवै समूहले आआफ्नो पक्षमा रहेको भन्दै चित्रित गरिरहेका छन् । गौतमलाई सचिवालयमा दुवै नेताहरुले आआफ्नो पक्षमा छन् भन्ने सोच्दा नेकपा विवादमा दुवै पक्ष लचिलो नहुने संकेत पनि देखाइरहेका छन् । यसले गर्दा नेकपामा पछिल्लो विवाद झन् टड्कारो रुपमा बोझिल हुँदै गएको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

नेकपाका शीर्ष नेताहरुमा अहिले देखिएको विवाद र मनमुटावका कारण पछिल्ला महिना नेकपाका भातृ संगठनहरुमा पनि स्पष्ट देख्न सकिन्छ । नेकपाको युवा विङ युवा संघ नेपालमा पनि अहिलेको विवादले लिएको चरम रुपलाई हेर्न सकिन्छ । केही महिना यता युवासंघका नेताहरु आआफ्ना गुटका साथीहरुसँग बसेर छलफल गरिरहेका छन् । तर, फरक गुटका युवा नेताहरुबीच पछिल्लो समय संवाद समेत हुन सकेको छैन ।

‘संवाद नै केही भएको छैन र हामी त पार्टीमा विभाजन आएमा पनि अगाडि बढ्नु पर्छ भन्नेमा भावानात्मक रुपमा तयार भइसकेका छौँ,’ युवा संघका एक नेताले केही दिनअघि फरकधारसँग भनेका थिए, ‘अहिले पार्टीमा देखिएको विवादले हामीबीच यस्तो स्वरुप लिइसकेको छ कि हामीले दुई पार्टी एक भएका हुन् भन्ने पनि बिर्सन थालिसकेका छौँ ।’

  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २१:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया