बुद्ध जन्मस्थल बहसको विषय होइन : परराष्ट्र

परराष्ट्र मन्त्रालयले भगवान् गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस/विवाद नरहेको प्रष्ट पारेको छ । मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत गौतम बुद्धको जन्मस्थानबारे बहस आवश्यक नभएको र यसबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको बताएको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक भएको हो । परराष्ट्र मन्त्रालयले भनेको छ, "यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहित र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।"

सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’

परराष्ट्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्ध नेपालमा जन्मिएको भन्नेबारे उल्लेख गरिएको बताउँदै भनिएको छ, "सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भन्‍नुभएको थियो कि, 'नेपाल एक त्यस्तो देश हो, जहाँ विश्वमा शान्ति फैलाउने  बुद्धको जन्म भएको थियो ।"

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका थिए । उनले भनेका थिए, "हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई नै हो । हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।"





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १८:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया