फुटबल प्रशिक्षण भदौ १५ गतेपछि मात्र
फाइल तस्बिर

विश्वकप तथा एसियाकप छनोटको तयारीमा रहेको नेपाली पुरुष फुटबल टिमको प्रशिक्षण भदौ १५ पछि मात्र हुने भएको छ ।

पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ बाट खोल्ने तयारीमा रहेका खेल गतिविधि तथा अन्तर्राष्ट्रिय खेल प्रशिक्षण लगायत सम्पूर्ण क्षेत्रको सञ्चालनमा भदौ १५ सम्म पूर्ण रोक लगाउने निर्णय गरेसँगै फुटबलको प्रशिक्षण पनि पछि सरेको हो । 

‘अहिले बन्द क्याम्पमा परेका सम्पूर्ण खेलाडीहरू काठमाडौं उपत्यकामा नै हुनुहुन्छ हामीले उहाँहरूलाई सातदोबाटोस्थित एन्फा होस्टलमा राख्ने व्यवस्था गरेका छौं तत्काललाई त्यहीको आइसोलेसनमा राखिनेछ,’ एन्फा प्रवक्ता किरण राईले फरक धारसँगको कुराकानीमा बताए ।

‘तत्काल खेलाडीलाई होल्डमा राखिएको छ उहाँहरू एन्फाकै होस्टलमा सामान्य अभ्यास गरेर बस्नुहुन्छ,’ राईले जानकारी दिए ।

‘हामीले सरकारको निर्देशन पालना गर्दै अहिलेको अवस्थालाई ध्यानमा राखेर भदौ १५ पछि मात्र प्रशिक्षण गराउने निर्णय गरेका छौं,’ राईले बताए ।

चैत्र ११ बाट देशभर लगाइएको लकडाउन साउन ७ गतेको मन्त्रिपरिषद् बैठकले अन्त्य भएको घोषणा गरेको थियो ।



त्यही बैठकले खेलकुद गतिविधि तथा अन्तर्राष्ट्रिय खेल प्रशिक्षण भदौ १ बाट गर्न पाउने निर्णय गरेको थियो ।

एन्फाले भदौ १ गतेबाट प्रशिक्षण सुरु गराउन तिव्र तयारी थालेको थियो र त्यही अनुरूप खेलाडीलाई काठमाडौं बोलाएर उनीहरू लगायत कोचिङ स्टाफ, अफिसियल, एन्फा कर्मचारी तथा प्रशिक्षणमा प्रत्यक्ष संलग्न हुने सम्पूर्ण ५४ जनाको पिसिआर समेत परीक्षण गराइसकेको थियो । 



विश्वकप २०२२ तथा एसियाकप २०२३ को संयुक्त छनोटको समूह ‘बी’ मा रहेको नेपालले तीन खेल्न बाँकी छ र तीनै खेल नेपालको घरेलु मैदान दशरथ रंगशालामा हुनेछन् । नेपालले अब अस्ट्रेलिया, चाइनिज ताइपेइ तथा जोर्डनसँग खेल्न बाँकी छ ।

नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अस्ट्रेलिया तथा नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ ।

  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १२:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया