नेकपा सचिवालय बैठक सकियो
फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकमा पार्टीमा देखा परेका समस्या समाधान गर्न, संकटको निकासका लागि भइरहेको छलफललाई व्यवस्थित ढंगले टुंगोमा पुर्‍याउने निर्णय भएको श्रेष्ठले बताए । 

‘पार्टीको विवाद समाधानका लागि दुई अध्यक्षले कार्यदल गठन गरी जुन पहल गर्नु भएको छ, त्यसलाई बैठकले सकारात्मक रुपमा लिँदै त्यसको निम्ति धन्यवाद दिएको छ,’ श्रेष्ठले भने । 

पार्टी र राष्ट्रमा देखा परेका समस्या समाधानको कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुने गरी गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन कार्यदल सक्षम हुनेछ  भन्ने आशा सचिवालयले लिएको प्रवक्ता श्रेष्ठले बताए । 

बैठकमा कार्यदललाई प्रभावकारी काम गर्न भन्दै उत्साही ढंगले उपयुक्त सुझाव आएको श्रेष्ठले जानकारी दिए । कार्यदलको म्याद नतोकिए पनि छिटोभन्दा छिटो काम सक्न भनिएको उनको भनाइ छ । 

‘छिटोभन्दा छिटो सकारात्मक ढंगले विवाद समाधान हुने, पार्टी एक ढिक्का हुने, पार्टी र सरकारको काम प्रभावकारी हुने र पार्टी महाधिवेशनमा जानेतर्फ हाम्रो ध्यान केन्द्रित छ,’ प्रवक्ता श्रेष्ठले भने ।



मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेर जस्ता विषय बाहिर हल्ला भए पनि पर्टीभित्र यसबारे अहिलेसम्म छलफल नभएको श्रेष्ठको भनाइ छ । कार्यदलले प्रतिवेदन दिएपछि त्यसबाट आएको निष्कर्षका आधारमा अघि बढ्ने उनले बताए ।



  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १२:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया