वामदेवले कहिले–कहिले मागे केपीको राजीनामा ?

नेकपा उपाध्यक्ष वामदेव गौतमको भूमिका कहिले कस्तो कहिले कस्तो रूपमा प्रकट हुने गर्दछ । खासगरी नेकपाभित्रको आन्तरिक राजनीतिका सन्दर्भमा नेता गौतम फरक–फरक भूमिकामा देखापर्ने गर्छन् । विभिन्न समयमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्दै आएका नेता गौतमले ओली अप्ठ्यारोमा पर्दा भने सधैं उनको साथ दिँदै आएका छन् । 

त्यसो त ओली–गौतमको सम्बन्ध सधैं एकनासको भने हुने गरेको छैन । प्रधानमन्त्री ओली संकटमा पर्दा उक्त संकटबाट जोगाउन नेता गौतमले सधैं रक्षाकवचको भूमिका निर्वाह गर्दै आएका छन् ।

२०७० सालको चुनावपछि तत्कालीन एमाले दोस्रो शक्तिको रूपमा उदायो । २०६४ को चुनावमा निकै पछि परेको एमालेले २०७० सालमा विगतको आफ्नो हैसियत फिर्ता ल्याउन सफल भयो । त्योबेला तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल थिए । चुनावपछि संसदीय दलको नेता खनाल नै बन्न चाहे । तर, केपी शर्मा ओलीले पनि उक्त पदमा आउने आकांक्षा राखेपछि पार्टीभित्र विवाद उत्पन्न भयो ।

विवादकै क्रममा पार्टी अध्यक्ष खनाललाई छोडेर नेता गौतमले ओलीलाई साथ दिए र ओली दलको नेता बन्न सफल भए ।

गौतमले २०७१ सालमा पनि ओलीलाई सहयोग गरे । संसदीय दलको नेता निर्वाचित भएपछि तत्कालीन एमालेको नवौं महाधिवेशन आयो । महाधिवेशनका बेला ओली करिब सिकिस्त बिरामी थिए । तर, पनि उनी अध्यक्ष उठ्ने योजना बनाएपछि ओलीको पक्षमा उनै नेता गौतम उभिए । 

महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओलीले संसदीय दलको नेता छोडेर आफूलाई बनाउन सक्ने गौतमले ठानेका थिए । तर, ओलीले वास्ता नगरेपछि गौतम ओलीसँग टाढिँदै गए । 



२०७४ को निर्वाचनमा पराजित भएपछि कुनै बेला प्रधानमन्त्री बन्न सक्छु भन्ने गौतमको चाहना अवरुद्ध हुन पुग्यो । त्यसपछि उनले ओलीसँग विकास निर्माणसम्बन्धी काम गर्ने भूमिकाको माग गरे । त्यसमा पनि ओलीको मन फर्किएन । परिणाम उनी पुष्पकमल दाहालसँग नजिकिँदै गए ।

उपाध्यक्ष गौतमले यसबीचमा उपचुनावबाट सांसद बनेर प्रतिनिधिसभामा छिर्ने योजना समेत बनाए । तर, उनको यो योजना सफल हुन सकेन । यसले पनि उनलाई ओलीबाट टाढा धकेल्दै लग्यो ।



पछिल्लोपल्ट प्रधानमन्त्री बनेका ओलीको कार्यकालको एक वर्ष बित्दा नबित्दै उनको कार्यशैलीमाथि चर्को आलोचना बढ्न थाल्यो । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरूबाट ओलीविरुद्ध मोर्चाबन्दी गर्दै घेराबन्दी सुरु भयो ।

ओली सचिवालयमा अल्पमतमा परे । त्यही बेलामा गत वर्ष साउनतिर ओली र गौतमबीच फेरि कुराकानी भयो । पार्टीभित्रको संकट बढेका बेला गौतम ओलीको लाइनमा उभिए । जसका कारण ओलीमाथि त्यसबेला आउन लागेको संकट पनि टरेको थियो ।

सोही बेला ओलीले गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरे । जुन प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि गौतम उपाध्यक्ष बने ।

गत पुसमा ओलीमाथि व्यापक घेराबन्दी भयो । ओलीलाई पदबाटै राजीनामा गर्न अध्यक्ष प्रचण्डले माग गरे । प्रधानमन्त्रीको राजीनामा नै मागिएपछि त्यो बेला पनि गौतम फेरि ओलीको पक्षमा देखिए । त्यहीबेला ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । 

६ बुँदे प्रस्ताव 

पछिल्लो समय ओलीविरुद्धको गठबन्धनमा हस्टेहैंसे गर्दै उभिएका गौतम अकस्मात् साउन १३ गते ६ बुँदे प्रस्तावसहित ओलीको रक्षाकवचका रूपमा निस्किए । उनले दाहाल र नेपाल समूहले गरेको स्थायी कमिटी बैठकमा विवाद गरे जानुभन्दा मिलेर जानुपर्ने र त्यसमा ओलीलाई नै ५ वर्ष सरकार र दाहाल महाधिवेशनसम्म अध्यक्ष चलाउन दिने प्रस्ताव गरे ।

गौतमको यही प्रस्तावका कारण ओलीविरुद्धको गठबन्धन पनि केही रक्षात्मक हुने स्थिति देखा परेको छ । त्यसैले विभिन्न समयमा गौतम ओलीको शक्ति र सत्तामा पुग्ने भर्‍याङ र संकटमा रक्षाकवचका रूपमा उभिएका छन् ।

ओलीलाई हरेक संकटबाट बचाउँदै आएका उपाध्यक्ष गौतमले विभिन्न समयमा ओलीको राजीनामा पनि माग गर्दै आएका छन् । संकटका बेला सधैं ओलीको कित्तामा उभिएका नेता गौतमले यसबीचमा ओलीको राजीनामा कतिपटक मागे भनेर फरकधारले खोज्ने प्रयास गरेको छ । 

२०७७ भदौ १

पछिल्लोपटक नेकपा उपाध्यक्ष गौतमले नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले केही दिनअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलप्रति आपत्ति जनाउँदै ओली–प्रचण्डको राजीनामा माग गरेका हुन् । 

सोमबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बोल्दै उनले अध्यक्षद्वयको राजीनामा माग गरेका हुन् । ‘के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय असफल भएको हो भने राजीनामा दिनुपर्छ । सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् ?’ उनले बैठकमा भनेका थिए । 

गौतमले बैठकमा दुई अध्यक्षले विवाद समाधान गर्न नसके अन्य सदस्यहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका थिए । उनले अध्यक्षद्वयले असीमित अधिकार प्रयोग गरेको समेत बताए ।

२०७७ वैशाख

प्रधानमन्त्री ओली सरकारले वैशाखमा राजनीतिक दल फुटाउने अध्यादेश ल्याए । उक्त अध्यादेश पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी फुटाउनका लागि ल्याइएको भन्दै नेकपाभित्र विवाद उत्पन्न भयो । 

विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुग्यो । सोही विवादकै बीच उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाव दिए । तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौतीको सामना गर्ने जवाफ फर्काए ।

अध्यादेश जारी भएको दिन केही नरम देखिएका गौतमले ६ दिनपछि ओलीको खरो आलोचनामा उत्रिँदै ओलीको नेतृत्व असफल भएको भन्दै दुवै पदबाट राजीनामा माग्न पुगेका थिए । ‘अब हामीलाई धेरै नधम्क्याउनुस्, बरु प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर बालकोट जानुस्, आराम गरेर बस्नुस्,’ त्यसबेला गौतमले ओलीलाई भनेका थिए ।

ओली र गौतमबीच आधाघण्टासम्म चर्काचर्की र धाकधम्कीको भाषा समेत प्रयोग भएको थियो । एकअर्कालाई हैसियत देखाइदिने धाकधम्कीकै बीच बालुवाटारबाट बाहिरिएका उपाध्यक्ष गौतमले केहीदिनमा ओलीकै साथ दिएपछि नेकपाको विवाद साम्य हुँदै गयो ।

२०७४ मंसिर २९

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७४ मंसिरमा पनि अप्रत्यक्षरूपमा ओलीको राजीनामा मागेका थिए । एमाओवादीसँग चुनावी तालमेल गर्दा दुवै दलका अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको उपाध्यक्ष गौतमले खुलासा गरेपछि दुवै पार्टी सर्कलमा हंगामा नै भएको थियो । ‘प्रधानमन्त्री पद आलोपालो चलाउने भन्ने सहमति तालमेल अगाडि नै गरिसकेका हौं, तर घोषणासभामा त्यो कुरा सार्वजनिक गरिएको थिएन । पाँच वर्ष एउटा नेताले, अर्काे पाँच वर्ष अर्काे नेताले पनि हुनसक्छ, यही कार्यकालमा पनि कसैले दुई वर्ष गर्ने र अर्को कसैले तीन वर्ष गर्ने पनि हुनसक्छ’, त्यतिबेला गौतमले भनेका थिए ।

उनले त्यसबेला आलोपालोको सहमति केवल प्रधानमन्त्री पदका लागि भएको तर अध्यक्ष पदका लागि नभएको बताएका थिए । 

२०७३ असार २८

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री निर्वाचित भए । तल्कालीन एमाओवादी, राप्रपा नेपाल लगायतका साना दलको समर्थनमा ओली निर्वाचित भएका थिए । ओली प्रधानमन्त्री भएको ९ महिनापछि आफ्नै पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागे ।

२०७३ वैशाख २३ गते एमाले र माओवादीबीच नौ बुँदे सहमति हुनुअघि भद्र सहमति गराउने मध्येमा एक जना नेता थिए एमालेका उपाध्यक्ष वामदेव गौतम । भद्र सहमतिअनुसार उनी सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा थिए । तर, सहमतिअनुसार माओवादीलाई ओलीले सरकारको नेतृत्व हस्तान्तरण नगरेपछि असन्तुष्ट रहेका गौतम ओलीले राजीनामा दिनुपर्ने पक्षमा थिए ।

ओलीले सहमतिको पालना नगरेपछि एमाओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसपछि सञ्चारमाध्यममा बोल्दै उपाध्यक्ष गौतमले एउटा दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको र विकल्पमा राजीनामा दिनुपर्ने बताएका थिए । त्यसबेला नेता गौतमले भनेका थिए, ‘अल्पमतमा परिसकेको र नयाँ समर्थन जुट्ने सम्भावना नरहेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ । हाम्रो मात्र मतले सरकार जोगिने हो र ?’

  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १७:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया