‘अपराधी’ बा
सांकेतिक फोटो

सन्तानलाई यस संसार देखाइदिने र संसारमा पाइला टेकिसकेपछि ममता, उर्जा, ज्ञान सबैको पहिलो स्रोत आमाबाबु नै हुन्। हरेक सन्तानलाई अघि बढ्न आमाको ममता, साथ आवश्यक हुन्छ। साथै बाबुको माया, प्रेरणा, साथको पनि उत्तिकै खाँचो हुन्छ। धेरै सन्तानले बाबुबाट त्यो पाएका हुन्छन् तर सबैका हकमा यो लागु हुँदैन।  

पौराणिक कथामा आकाशभन्दा उच्च कोही छ भने त्यो पिता हो भनिएको छ। अर्थात धार्मिक ग्रन्थहरूमा देवता भन्दाबढी बुबाआमालाई स्थान दिएको छ। बुबाआमाको पैतालमा स्वर्ग हुन्छ, भनिएको छ। 

सन्तानलाई बुबा आमाले गर्ने स्नेह, साथको बयान जति गरे पनि कम हुन्छ।  

आफ्नो ज्यानको पर्वाह नगरी सारा चिज सन्तानका लागि त्याग गर्न तयार रहने आमाको अनि आफ्ना सन्तानकै सुख र खुसीको निम्ति आफ्नो पूरै उर्जाशिल उमेर खर्च गर्ने बाबुको योगदानको मूल्य सायद सन्तानले कसै गरी तिर्न सक्दैनन्।

तर अपसोच ! सबै बाहरू सन्तानका लागि भगवान सावित हुन सक्दैनन्। कतिपय बाहरू त एउटा खराब मान्छेको रुपबाट पनि ओर्लिएर पशुरुप धारण गर्न पुग्छन्। हाम्रो समाजमा रहेका धेरै बाहरू छोरीका लागि कलंक सावित भएका उदारहण  प्रशस्तै छन्। 

आफ्नै बाबुबाट बलात्कृत भएर अपराधिको रुपमा न्यायको कठघरामा उभ्याउन बाध्य भइरहेका छन् धेरै छोरीहरू। 
 
घटना–१



गत ३१ असारमा बैतडीमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बुबालाई उनलाई पक्राउ गर्यो।पञ्चेश्वर गाउँपालिका–४ की १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबा पक्राउ परे।

दुई वर्षदेखि आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरिरहेको जानकारीपछि आधारमा पञ्चेश्वर गाउँपालिका –४ का ४५ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। आमा पहिले नै छाडेर गइसेकी र बुबाले दुई वर्षदेखि छोरीलाई जबरजस्ती करणी गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी भनाइ छ। 



घटना–२

यसैगरी असार १ मा आफ्नै छोरी बलात्कार गरेको आरोपमा झापा शिवसताक्षी नगरपालिका झापा–७ ब्याङडाँडाका ३८ वर्षीय बुबा बलात्कार गरेको आरोपमा पक्राउ परे।  उनले ११ वर्षीया छोरीलाई करणी गर्ने गरेको आरोपमा प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान थाल्यो। 

बालिकाकी आमाका अनुसार बाबु कामबाट घर फर्के। खाना खान घर गए। त्यसपछि घरनजिकैको एउटा पसलमा गएर मदिरा पिए। साँझ छ बजेतिर बाबुले छोरीलाई खेलाउँदै गर्दा करणी गरेका थिए।

बैतडी र झापामा बुबाद्वारा भएको बलात्कारको घटना त केही उदाहरण मात्रै हुन्। आफ्नै बाबुबाट बलात्कृत हुने छोरीको सूची निकै लामो छ। प्रहरीमा आएका उजुरीमा दुई वर्षमा ९९ जना छोरी आफ्नै बाबुबाट बलात्कृत भएको देखिएको छ। 

प्रहरी प्रधान कार्यालयको तथ्यांकमा आर्थिक वर्ष ०७५/०७६ मा ५२ जना र ०७६/०७७ मा ४७ जना छोरी आफ्नै बुबाबाट जबरजस्ती करणीको शिकार भएको प्रहरी तथ्यांक छ।  आर्थिक वर्ष ०७५/०७६ मा सबै भन्दाबढी प्रदेश ५ मा १३ वटा र सबैभन्दा कम प्रदेश २ र ६ मा २/२ वटा बाबुबाट बलात्कारका घटना देखिन्छ।
यसैगरी र ०७६/०७७ मा पनि सबै भन्दाबढी प्रदेश १ मा ११ वटा र सबैभन्दा कम प्रदेश चारमा १ वटा बलात्कारका घटना भएको प्रहरी तथ्यांक छ। 

यस्ता हुनुको मुख्य कारण सहज पहुँच रहेको प्रहरीको तर्क छ। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले त्यस्ता बाबु घरमै बस्ने भएको हुँदा सहज पहुँचले गर्दा बाबुबाट बलात्कार हुने गरेको दाबी गर्नुभयो।  घटना बाहिर ल्याउँदा परिवार समाजमा अप्ठेरो पर्ने भएकाले धेरै घटनाहरू लुकेर बस्ने गरेको प्रवक्ता कडायतले बताए। 

घटना बाहिर नआउँदा अपराधी झन सुरक्षित महसुस गरी थप हर्कतका लागि उद्धत हुने उनको भनाइ छ। बाबुमा रहेको जाडरक्सी सेवनलगायत कुलतको बानीका कारण पनि छोरीहरू बलात्कारको शिकार हुने गरेको देखिएको प्रहरीको बुझाइ छ।  

मानव हुनुको वास्तविकता भुलेपछि यस्ता हर्कत हुने गरेको मनोविदहरूको तर्क छ। मनोचिकित्सक डा.अरुण कुँवर भन्छन्–‘एउटा मान्छेले मान्छे भइ गर्ने काम र आफ्नो दायित्व जव बिर्सिन्छ तब मात्र यस्ता घटना हुने गर्छ।’ यसको रोकथामका लागि अझै कडा कनुनको खाँचो रहेको उनको तर्क छ। 

बा आदरणीय मात्रै नभएर पुजनीय पनि हुन्। बा सन्तानका लागि सदैव गर्व गर्ने एक कारक पनि हो। तर बा नै भक्षक र पीडक बनिदिँदा सन्तानमा बाप्रति हुनुपर्ने गर्वबोध बिलाएर जान्छ। आफ्नो बालाई आफैंले अपराधीको रुपमा उभ्याउने आकांक्षा, रहर कुन सन्तानलाई होला र ?

यो भन्न सकिन्छ की एउटा पूर्ण बा केबल जैविक सम्बन्धले मात्रै निर्माण गर्न सक्दैन। बा हुनुका कर्तव्य भूमिका र भावनाहरूको पनि मिश्रण हुनु जरुरी छ। 

  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १७:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया