के हो सोल्टी होटल र कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया जोडिएको ‘हल्ला’ ?

सामाजिक सन्जालमा केही दिन यता एउटा हल्ला प्राइभेट ग्रुपहरुमा अत्यधिक चलिरहेको छ । यो हल्ला चल्न थालेको केही दिनमा नै यसबारे निकै धेरैले चासो व्यक्त गरिरहेका छन् ।

सामाजिक सन्जालमा चलिरहेको यो चर्चा हो, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे ।

सिरोहिया र सोल्टी होटलबारे जोडेर चलिरहेको चर्चामा अब स्वयं सिरोहियाले पनि मुख खोलेका छन् । सामाजिक सन्जाल ट्विटरमा सिरोहियाले लेखेका छन्– मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । 

अनि उनले यसलाई आफ्नो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णतः कपोकल्पित र भ्रामक कुरा भएको दाबी गरेका छन् ।

सँगसँगै उनले अन्तिममा उल्लेख पनि गरेका छन्– प्रहरीमा यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजविन गरि उनीहरुमाथि सख्त कानुनी कारवाही गर्न प्रहरीमा उजुरी दिइएको छ ।



कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाले ट्विटरमा यो लेखेको केही समयमा नै पत्रकार किशोर नेपालले पनि सिरोहियाको समर्थनमा ट्विट गरेका छन् । उनले त्यसमा लेखेका छन्– कैलाश सिरोहियाविरुद्धमा अहिले बजारमा चलेका हल्ला प्रायोजित हुन् । कैलाशसँग घाँटी जोडेर हिँड्नु पर्ने पत्रकार पनि होइन म । तर, मलाई राम्ररी थाहा छ, यो स्वतन्त्र मिडियाको विपक्षमा प्रम ओलीको सचिवालयले रचेको षडयन्त्र हो । यसलाई हल्लाको विषय बनाउनु नादानी हो ।

३० मिनेटको अन्तरमा आएका कैलाश र किशोरका यी दुई ट्विटले प्रष्ट पारेको छ, कैलाश र सोल्टी होटलसँग अहिले पछिल्लो समय एउटा हल्ला चलिरहेको छ र यसलाई कैलाशविरुद्धको षडयन्त्रका रुपमा लिन थालिएको छ । 



झन्, पत्रकार किशोर नेपालले त प्रधानमन्त्री ओलीको सचिवालयले नै रचेको षडयन्त्र भन्ने टिप्पणी गरेका छन् । 

यो विषयमा प्रवेश गर्नुअघि पहिले यो हल्ला र कैलाश केसँग जोडिएको हल्ला चलेको थियो भन्ने चर्चा गरौँ । 

केही दिन यता केही व्यक्तिहरुले सामाजिक सन्जालमा घुमाउरो पारामा अब मिटू अभियान प्रकाशकहरुतिर सोझिएको टिप्पणी गर्न थालेका थिए । केही छद्म नामका एकाउन्टहरुले त यसबारे अझ प्रष्ट भएर कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया कोही एक युवतीसँग सोल्टी होटलमा गएको र त्यहाँ ती युवतीमाथि दुव्र्यवहार गरेको लेख्न थालिसकेका थिए ।

सोल्टी होटलको रुम नम्बर ९ सय २८ मा कैलाशले एक युवतीलाई जागिरका लागि अन्तर्वार्ता लिन बोलाएको र उनीमाथि दुव्र्यवहार गरेको ‘अफवाह’ चलेको थियो । 

यी युवती कैलाशकै एक साथीको सिफारिसमा कान्तिपुर मिडिया ग्रुपमा जागिर खानका लागि सिफारिसमा परेको पनि हल्ला चलेको थियो । सामाजिक सन्जालमा चलाइएको हल्लाअनुसार कैलाशले युवतीमाथि कोठामा दुव्र्यवहारको प्रयास गरेका थिए । तर, उनी त्यहाँबाट भागेर बाहिर निस्किएकी थिइन् । कैलाशको भाषामा भन्दा कपोकल्पित यो हल्ला शनिबारको घटना भन्दै बाहिर ल्याइएको थियो । 

यतिमात्र होइन, ती युवतीले यो विषयमा प्रहरीमा उजुरी दिन खोजेको तर प्रहरीले उजुरी लिन नमानेको र उनी मानवअघिकार आयोगसम्म पुगेको निकै धेरै चर्चा चलेको थियो ।

अब कैलाशको ट्विटरलाई आधार बनाउने हो भने यो हल्ला चलाउनेलाई खोजविन गरेर कानुनी कारवाहीमा ल्याउन प्रहरीमा उजुरी दिइसकिएको छ । त्यसैले प्रहरीले यसबारे थप अनुसन्धान गर्ने छ र वास्तविकता बाहिर आउने छ ।

अब लागौँ, पत्रकार किशोर नेपालले भनेजस्तै के यो हल्ला प्रधानमन्त्रीको सचिवालयबाट नै चलाइएको होला त भन्नेबारे ?

पत्रकार किशोर नेपालको आरोप छ– स्वतन्त्र पत्रकारिता गरिरहेको एक संस्थाविरुद्ध राज्य नै लागेको हो । उनले ट्विटरमा यस्तो दाबी गरेका छन् । के साँच्चिकै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले यस्तो हल्ला चलाएको होला त ?

‘हामीलाई यस्तो गर्नु कुनै आवश्यकता नै छैन र यस विषयमा हामीलाई केही थाहा पनि छैन,’ प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका एक सदस्यले नाम नखोल्ने सर्तमा फरकधारलाई भनेका छन्, ‘यस्तो हल्ला चलाउन हामी किन लाग्ने ?’

उनले स्वतन्त्र मिडियामाथि प्रधानमन्त्री केपी शर्मा ओलीले सधैं वकालत गरिरहेको र मिडिया स्वतन्त्रताबारे प्रधानमन्त्री ओली पूर्णरुपमा जानकार भएकाले मिडियामाथि अनावश्यक हमला गर्ने कुनै आधार नभएको पनि बताए ।

  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार २०:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया