प्रधानमन्त्री ओलीका ती कोरोना टिप्स, आजभोलि कोरोनाबारे किन चुपचाप छन् ओली ?

यसै पनि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली बोलीका कारण चर्चित छन् । कहिले विपक्षीलाई प्रहार गरेर होस् या कहिले अनावश्यक तर्कहरु गरेर किन नहोस्, उनी बोलीकै कारण पनि चर्चित रहन्छन् । ओलीको बोलीले कहिले सामाजिक सन्जालमा ट्रोल बन्छ त कहिले राजनीतिक वृत्तमा नै ठूलो तरंग सिर्जना हुन्छ ।

विश्व महामारी कोरोनाभाइरसले विश्वका विभिन्न देशमा ठूलो प्रभाव पारिसक्दा नेपालमा अत्यन्त धेरै समस्या परिसकेको थिएन । तर, नेपालमा पनि केही कोरोनाभाइरस संक्रमित भेटिन थालेका थिए । 

अनि त्यही समयमा प्रधानमन्त्री ओलीले कोरोनाबारे आफ्ना टिप्स मात्र दिएनन्, आलोचना पनि राम्रै खेपे ।

तर, केही समययता ओली चुपचाप छन्, कम्तिमा पनि कोरोनाभाइरस महामारीबारे । 

बेसार पानी र हामीले भान्सामा प्रयोग गर्ने मसला नै कोरोनाको अचुक औषधी भएको समेत बताउन भ्याएका ओलीले केहीअघिसम्म कोरोनालाई निस्तेज बनाउन तातो पानीले हात धुनमात्र सुझाएनन्, हाछ्यूँ गरेर कोरोना उडाउनु पर्ने ‘मनगढन्ते’ अभिव्यक्ति पनि दिए । उनका यस्ता अभिव्यक्तिको आलोचना बाहिर मात्र भएन, प्रतिनिधिसभाको बैठकमा समेत यसबारे जुहारी पनि चल्यो ।

उनको अभिव्यक्तिमाथि कयौं ट्रोलहरु बने, व्यंग्यको ओइरो लाग्यो । प्रधानमन्त्रीनिकट नेता कार्यकर्ताहरुले अभिव्यक्ति पूर्ण तथ्यमा आधारित रहेको भन्दै प्रतिरक्षामा उत्रिए कतिसँग झगडै पनि गरे । प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ र आलोचना गर्दै थुप्रै लेखहरु पनि लेखिए । 



प्रधानमन्त्रीको बेसार पानी खाएर, हाछ्यँ–साछ्ँयू गरेर कोरोना भगाउनु पर्छ भन्ने भनाइहरुको अहिले पनि चर्चा जारी नै छ । पछिल्ला दिनमा नेपालमा कोरोना भाइरसको संक्रमणले महामारीकै रुप लिइसकेको भन्न थालिएको छ । कोरोना रोकथाम, नियन्त्रणमा सरकार असफल भएको भन्दै आलोचना भइरहेको छ । सरकार पक्षले भने आफूहरुले राम्रै भूमिका खेलिरहेको दाबी गर्दै आएका छन् । 

सुरुका दिनमा नेपालमा कोरोना संक्रमण देखिएका अधिकांशमा कुनै लक्षण देखिएन र सहजै निको भएर घर फर्किरहेका थिए । धेरै केसहरु पनि देखिएका थिएनन् । 



यस अवस्थामा अन्य देशका तुलनामा नेपालमा कोरोना भाइरसले खासै असर नगर्ने दृढता प्रधानन्त्रीलगायत सरकारी अधिकारीहरुको थियो ।  प्रधानमन्त्री पनि निकै हौसिएको देखिन्थ्यो ।  हरेक ठाउँमा बोल्न मौका पाउनसाथ कोरोनाको टिप्स सुनाउने र अनेकौं सुझाव प्रधानमन्त्रीबाट आउने गरेका थिए । अहिले देश कोरोनामहामारीबाट आक्रान्त बनिरहेको छ । प्रधानमन्त्रीका कोरोना टिप्सहरु पनि आउन छाडेका छन् । 

 

प्रधानमन्त्रीका कोरोना अभिव्यक्ति  

चैत्र २९: सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल 

बैठकमा  कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गतेदेखि देशभर लकडाउन थियो । यसैबीच कोरोनाको त्रास र त्यसको तयारी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित भर्चुअल बैठक डाकेका थिए । सो क्रममा ओलीले कोरोना भाइरसबारे मुख्यमन्त्रीहरुलाई सुनाएका केही अभिव्यक्ति बाहिरिए । यसमा प्रधानमन्त्रीले भनेका थिए । 

तर्क: भाइरस निर्जीव बोसीय, फ्याटीय तत्व हो, यसलाई मार्न सकिँदैन ।

टिप्स:  तातो कुराहरुमात्रै खाने चिसो खाने कुरा नखाने,  सकेसम्म तातोपानीले हामुख धुने । तातो पानीले भाइरसको बाहिरी लेयरको बोसीय तत्व नष्ट गर्छ अनि आफैँ समाप्त हुन्छ ।

तर्क: कोरोना भाइरस सबैभन्दा छिटो मुखबाट, अनि आँखाबट अन्तिममा मात्रै नाकबाट सर्ने खतारा हुन्छ । 

टिप्स: मास्क मात्रै लगाएर हुँदैन, चश्मा पनि लगाउनुपर्छ । 

देशका उच्चपदस्थ व्यक्तिहरुलाई अनुमानको भरमा दृढताकासाथ यस्ता टिप्स सुनाएको भिडियो बाहिरिएपछि धेरैले आलोचना गरे । जतिबेला सरकारले कोरोनाबारे अनावश्यक भ्रम फैलाउनेलाई कारबाही गर्ने घोषण गरेको थियो । यही कुरालाई लिएर कोरोनाबारे अम्रमाणित कुरा गरेर प्रधानमन्त्री आफैंले भ्रम फैलाएको आरोप लागेको थियो । 

केही निकटस्थहरुले भने ओलीको यस तर्क सही भन्दै प्रतिरक्षा गर्न अनेकौं तर्कहरु अघि सारेका थिए । 

 

जेठ ६ गते: नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि प्रतिनिधिसभामा जवाफ दिनेक्रममा 
भारतको भाइरस कडा 

सरकारले जेठ २ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । यस विषयमा प्रतिनिधि सभा बैठकमा उठेको प्रश्नमाथि जवाफ दिनेक्रममा प्रधानमन्त्रीले नेपालमा कोभिड संक्रमणको प्रभावबारे चर्चा गर्दै कुन देशबाट आएको भाइसर कस्तो भनेर तुलना गर्दै अभिव्यक्ति दिएका थिए । वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो, इटालीबाट आएको पनिनरकै देखिया थ्यो, दुबइबाट आएको पनि नरमै देखिया थ्यो तर भारतबाट आएको चाँही अलि कडा भाइरस देखिएको छ । उनले भनेका थिए । 

उनको यस अभिव्यक्तिको नेपालमा सामान्य चर्चा भए पनि भारतीय मिडियाहरुले चाँही यसलाई फरक तरिकाले व्यख्या गरेका थिए । प्रधानमन्त्री ओली चीननिकट भएकाले पूर्वाग्रही ढंगले चीनको भाइरस नरम र भारतको भाइरस कडा भनेको भन्ने अर्थ लगाएका थिए । 

 

जेठ २८:  प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा  

जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्तुत गरेको थियो । यसबारे प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री ओली उपस्थित थिए । सो समयमा नेपालका कोरोना १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । भने ४०८५ जना संक्रमित फेला परेका थिए । 
 
तर्क:  नेपालीको रोधप्रतिरोध क्षमता धेरै छ । यसका कारण अन्य देशको तुलनामा नेपालमा यसबाट मृत्यु हुनेको संख्या धेरै हुने छैन । मृत्यु भएका १५ जनामा पनि एक दुई जनाबाहेक कोरोनाका कारण मृत्यु नभएको प्रधानमन्त्रीको तर्क थियो । कोरोनाका कारण मात्रै नेपालीको 

यसै बैठकमा सांसद गगन थापाले प्रधानमन्त्री ज्यूलाई नेपालीको नेपालीको प्रतिरोधी क्षमता बढी  छनेर कसले भन्या ? भनी प्रश्न गरेका थिए । त्यसको जवाफमा ओलीले यी अहिले भर्खर मैले नै भनेको सुन्न भएन ? भनी जवाफ फर्काएका थिए । 

नेपालीको भन्छामा हरेक दिन औषधी पाक्ने तर्क ओलीले गरेका थिए । नेपालीले तरकारीमा पकाउने , बेसार, नुन, प्याज, लसुन, अदुवा, धनिया, जिराजस्ता मसला अनिवार्य मिसाउने भएकाले तिनले औषधिको काम गर्ने र नेपालीको प्रतिरोधि क्षमता धेरै हुने कुरा स्वत सिद्ध हुने उनले बताएका थिए ।  

हिमाल पहाडमा रहनेहरुमा त्यहाँको स्वच्च हावा र उकाली ओरालीको दैनिकीका कारण रोग प्रतिरोधी क्षमता बढी भएको भन्ने तर्क ओलीले गरेका थिए । हिमालबाट ठोक्किएर बहने हावा तराइमा पनि पुग्ने हुनाले त्यहाँका नेपाली पनि स्वस्थ रहेको उनको तर्क थियो ।  

यो जडिबुटीको देश भएको र यहाँको पानी पनि हिमालबाट अनेर मिनिरल तत्व मिसिएर आउने भएकाले त्यो सेवन गर्ने नेपाली स्वत नै स्वस्थ हुने र कसैले प्रमाणित गर्नुनपर्ने उनको दावी थियो । 


असार ४ गते  विनियोजित बजेटमाथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिनेक्रममा

​आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेटमाथि राष्ट्रियसभामा उठेका सवालको जवाफ दिन असार ४ गते प्रधानमन्त्री ओली गएका थिए । यसदिन प्रधानमन्त्रीले कोरोना भाइरसबारे अगाडी सारेका तर्क, तथा त्यहाँ व्यक्त गरेका अभिव्यक्ति सबैभन्दा बढी चर्चित बने । अहिले पनि बनिरहेका छन् । 
हाछ्यूँ–साछ्यूँ गरेर उडाइदिनुपर्छ 

‘कोरोना भनेको सामान्य रुघाखोकीजस्तो हो हाछ्यूँ–साछ्यूँ गर्नुपर्छ, तातोपानी खानुपर्छ उडाइ दिनुपर्छ’ उनेका यो अभिव्यक्तिको निकै नै आलोचना भएको थियो । देशको कार्यकारी प्रमुखले नै विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसलाई यसरी हल्कारुपमा दिएको भन्दै धेरैले आलोचना गरे । 

नेपाली दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठले पनि भोग्नेलाई मात्रै थाहा हुन्छ, त्यसको असर भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेकी थिइन् । त्यसलाई हल्कारुपमा लिएर संक्रमितको मजाक उडाएको उनले बताएकी थिइन् । 

 

बेसार महात्म्य

यसअघि प्रतिनिधि सभामा बोल्दा प्रधानमन्त्रीले बेसारले कोरोना निको हुने तर्क गरेपनि यसबारे चर्चा चलिरहेकै थियो । केही व्यक्तिहरुले बेसार दलेर सडकमा प्रदर्शन गर्दै सरकारमाथि व्यंग्य पनि गरेका थिए । 

आफ्नो बेसारे टिप्समाथि भइरहेको आलोचनालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा बोल्दै प्रतिवाद गरे ।  बेसारका गुणका साथमा अवगुण पनि रहेको उनले दावी गरे  । बेसार गर्भवती, सुत्केरी महिलाले, जन्डिस भएकाले , रक्त अल्पता भएकाले , मधुमेह भएकाले, आइरनको कमी भएकाले खानु हुँदैन भन्ने अभिव्यक्ति दिए ।  अप्रेशन गर्नु छ भने । त्यभन्दा ४८ वा ७२ घण्टादेखि बेसार खान नहुने पनि उनले बताए । 

बेसारका वास्तविकता अध्ययन नगरी विरोध गर्ने ? भन्दै आलोचकप्रति प्रश्न तेस्र्याए । 

तर ओलीले भनेजस्तो गर्भवती वा सुत्केरी महिला, जन्डिसको बिरामी र उनले र उल्लेख गरेका बिरामीहरुले बेसार खान नहुने कुरा सत्य नभएको ती रोगका विज्ञ चिकित्सकहरुले प्रतिवाद गरेका थिए। 

यसक्रममा उनले कोरोना संक्रमण भइहाले पनि उच्च मनोबल बनाइ राख्दा प्रतिरोध क्षमता बढाउनु पर्छ मनोबल भन्ने तर्क भने सही नै भनेका थिए । 

 

नेपालमा कोरोना: साउनमा उच्च फागुनमा अन्त्य

यसमा स्थानमा बोल्दै ओलीले नेपालमा साउन महिनामा कोरोना महामारी उच्च विन्दुमा पुग्ने र त्यसपछि  ओरालो लाग्ने र फागुमा हराउँने दावी गरेका थिए । साउनदेखि ओरालो लागेको संक्रमणको ग्राफ दशैं, तिहार, छठजस्ता पर्वमा हुने जमघटका कारण फेरि माथि चढ्ने आँकलन उनको थियो । मंसिरको अन्त्यतिरबाट त्यसको ग्राफलाई घटाउन सकिने तर्क ओलीको थियो । 

तर प्रधान्मन्त्री भनेभन्दा ठीक विपरित अवस्था देखिएको छ । साउनदेखि नेपालका कोरोना संक्रमणको ग्राफ निकै उकालो लागिरहेको छ । कहिले उच्चविन्दुमा पुग्छ वा कहिलेबाट ओरालो लाग्छ भन्ने कसैले अनुमान लगाउन सक्ने अवस्था देखिँदैन । 

 

नेपालमा सबै कोरोनाबाट नमरेको दावी 

प्रतिनिधि सभामा बोलेका कुरालाई प्रधानमन्त्री ओलीले पुन यहाँ पनि दोहो¥याएका थिए । यस समय नेपालमा २० जनाको मृत्यु भइसकेको थियो । उनले २० जनामा एक दुई जनाको मात्रै कोरोनाबाट मृत्यु भएको तर जुनसुकै कारणबाट मृत्यु भएपनि त्यसमा कोरोना संक्रमण छ भने कोरोनाबाट मृत्यु भएको भन्नुपर्ने बाध्यताले धेरै संख्या देखिएको दावी गरे । 

तर संक्रमण भएर मृत्यु भएमा पनि कस्तालाई कोरोनबाट मृत्यु भन्ने, कस्तालाई नभन्ने भनी विश्वस्वास्थ्य संगठनले मापदण्ड बनाएको छ । 

प्रधानमन्त्री ओलीले अन्य ठाउँमा पनि कोरोनाबारे आफ्ना अभिव्यक्ति दिँदा माथिका तर्कहरुलाई अगाडी सार्न गरेका थिए ।  त्यसपछि नयाँ नक्सा, रामजन्मभूमि जस्ता विषयतिर ध्यान मोडेका प्रधानमन्त्री ओलीले कोरोनबारे तर्क र मत राख्न छाडेको धेरै भयो । 

तर, आजभोलि किन बोल्न छाडे त ओली कोरोनाबारे ?

‘एक त अहिले बोल्ने ठाउँ पनि छैन, कार्यक्रमहरु भएका छैनन्, औपचारिक बैठकहरु पनि भएका छैनन्,’ नेकपाका ओलीनिकट एक नेता भन्छन्, ‘फेरि संसद् पनि छैन । त्यसैले होला ।’

  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १०:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया