७० करोड काण्ड : मिश्र भन्छन्-‘म डिभाइस लिन जापान आएको हुँ, भागेको होइन’
फाइल फोटो

सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद र ७० करोड प्रकरणमा जोडिएका स्वीस कम्पनीका नेपाली एजेन्ट हुन् विजयीप्रकाश मिश्र । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल  बाँस्कोटासँग सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदका क्रममा ठूलो रकमको कमिसन लेनदेनका लागि बार्गेनिङ गरेको अडियो उनले नै बाहिर ल्याएका थिए।

यसै काण्डमा जोडेर आफ्नाविरुद्ध अनर्गल प्रचार गरेको भन्दै उनले आपत्ति जनाएका छन् । उनले आफू अहिले सोही काण्डको रेकर्डेड डिभाइस लिन जापान गएको दावी गरेका छन्। यसै विषयलाई लिएर नेपालमा केही मिडियाहरुले आफू भागेको भन्ने गलत हाल्ला चलाएको मिश्रको भनाइ छ ।

यो पनि पढ्नुहोस् : ७० करोड प्रकरण: कारबाही बाँस्कोटालाई कि मिश्रलाई ? दोहोरी खेल्दै छन् मिडिया !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाइ आफूसँग सो डिभाइस मागेको र त्यसपछि त्यही लिनका लागि जापान पुगेको उनको दावी छ । मिश्रले बुधबार बिहान नेपालमा विभिन्न मिडियाहरुमा पठाएको प्रेस विज्ञप्तिमा आफू छिट्टै नेपाल फर्किन लागेको जानकारी दिएका छन् ।

अख्तियारका अनुसन्धान अधिर्कतसँग आफ्नो कुराकानी भइरहेको उनले बताएका छन् । राष्ट्रिय दैनिक, अनलाइनहरुले आफ्नाविरुद्ध गलत प्रचार गरेको र त्यो सत्य नभएको उनले बताएका छन् ।  

राज्य र कानुन भन्दामाथि कोही नहुने सबैले गल्तीका भागीदार हुनुपर्ने मिश्रको भनाइ छ । केही मिडियाले तथ्य र प्रमाणका आधारमा नभइ आफ्नो चरित्रहत्या गर्ने नियतले समाचार प्रकाशन गरेको आरोप मिश्रले लगाएका छन् ।



मिश्रको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति



सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको बारेमा २, ३ दिनदेखि केही समाजिक सञ्जाल, राष्ट्रिय दैनिक र केही अनलाइनहरुमा मेरो नाम राखी अतिरन्जित गरिएको कुरामा मेरो ध्यानाकर्षण भएकोकुनै पनि व्यक्ति राज्यभन्दा ठूलो हुन नसक्ने र राजनीतिको खोल ओढेर भ्रष्टाचारमा जघन्य अपराधमा संलग्न जो कोही व्यक्ति पनि राज्यका निर्देशित सिद्धान्त र विद्यारकार कानूनबाट सजायँको भागिदार हुनुपर्ने कुरा प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित मानवीय सत्य हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चलानी नं. ८२२९ को आवश्यक सहयोगको लागि भनी अनुरोध गरिएको पत्र मेरो हात परेको कुरामा दुईमत छैन। त्यसै पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ मेरो नेपाल फर्कने फ्लाइट निश्चित भैसकेको अवस्थामा भागेर जापान गयो भन्ने केही पत्रकार साथीहरुले अतिरन्जित गरी समाचार सम्प्रेषण गर्नु भनेको आफूले गरेको पत्रकारितामाथी बिश्वास नगर्नु हो।

अझ यसलाई भन्नू पर्दा जुन थालमा खायो तेहि थालमा छेदन गर्नु हो। अख्तियारी प्राप्त अनुसन्धान अधिकृत र मेरोबीचमा बेलाबेलामा कुराकानी भएको र मैले दर्ता गरेको निवेदनबाट यो कुरा प्रष्ट हुन्छ । कोरोनाको महामारीको विषयले विश्वव्यापीरुपमा असर गरेको र नेपालमा पनि त्यसको प्रभाव परेको कुरा तपाई हामीमा जानकारी भएकै कुरा हो ।

हाल यस प्रकरण हेर्ने अधिकृत सरुवा भई नयाँ अनुसन्धान अधिकृतको पदस्थापना भएको कुरा पत्रपित्रकाबाट मैले जानकारी पाएको हुँ । मलाई आशा छ उहाँहरूले मलाई सम्पर्क गर्नुहुने छ वा म आफैले पनि उहाँहरुसँग सम्पर्क गरी यस राजनीतिक खोल ओढेको सेक्युरिटी प्रेस खरिद प्रकरणकोछानबिनलाई आवश्यक सहयोग गर्ने नै छु । साथै यस महामारीको विषम परिस्थितिका बाबजुद अनुसन्धान कार्य अघि बढ्ने छ भन्ने मैले विश्वास लिएको छु।

कुनै पनि राजनीतिक व्यक्ति होस् वा सर्वसाधारण, अष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन सक्दैन । र, प्रतिपक्षबाट जति पनि सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पबित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रीन चरित्र नै हो । आफूले गरेको सबै ठिक, अर्काले गरेको सबै बेठीक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृत्तिबाट चोखो रहन नसकेको अवस्था छ ।

त्यस्ता प्रवृत्तिका घटनाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्मानित अदालतलाई समेत अनुसन्धानको दायरामा रहेको घटनालाई बिचलित गर्न पत्रकारिताभित्रको चाटुकारिता जुर्मुराएको मात्र हो । शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्तमा सत्यको नै जित हुने कुरामा विश्वस्त छु । यो त केबल न्यायलाई बिचलित पार्न र अनुसन्धानलाई फितलो पार्न तथा न्यायप्रेमी, राष्ट्रप्रेमी जनताको ध्यान अर्कैतिर मोइन गरिएको प्रोपोगन्डा हो । मसानघाटबाट कात्रो छुट्याई मुर्दा जिवित गर्न खोज्ने काम भएकोछ ।

 यस्को म घोर भर्त्सना गर्दछु । यस प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेका छन् । यी सबै प्रमाणहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरिनेछ र तपाई शुभेच्छुक, राष्ट्रप्रेमी, नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि भविष्यमा राम्रोसँग बुझ्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
समाजिक सञ्जालको सन्दर्भमा म के भन्न चाहन्छु भने कसैको पक्षमा बोल्नुभन्दा पनि राज्यको पक्षमा बोल्ने गर्नुहोस् । यसमा राज्यको जीत हुनुपर्छ र जनताको हित हुनुपर्छ ।

कसैको गुणगान गाएर र १० जना फेसबुकमा साथीहरु बनाएर म्यासेज गर्दैमा कोही चोखिन सक्दैन । गुणगानकै आधारमा राज्यले नियुक्ति दिएको कुरा तपाई हामीबीच छर्लङ्ग छ । यो राजनीतिक भ्रष्टाचार हो ।

चाहे राजनीतिक होस् वा आर्थिक, कुनै पनि भ्रष्टाचारिले उन्मुक्ति पाउनुहुन्न भन्ने कुरामा म विश्वास राख्दछु र तपाईंहरुको सहयोग रहने कुरामा आशावादी छु । साथै न्यायाप्रेमी, राष्ट्रप्रेमी हामी सबै नेपालीले हाम्रो समाजमा मुख्यरुपमा राजनीतिमा गाँसिएको राजनीतिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार उन्मुलन गर्न सबैले आ–आफ्नै ठाँउबाट निरन्तरुपमा सहयोग गरिरहनुहुनेछ र विचलित हुनुहुने छैन भन्ने कुरामा आशावादी र विश्वस्त छु ।

अन्तमा, म विजयप्रकाश मिश्र कसैको दवाब वा कसैको कुरा सुनेर बहकिने व्यक्ति हैन । एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पुर्णरुपमा निर्वाह गर्नुपर्ने कुरामलाई राम्ररी थाहा छ । साथै जस्तोसुकै दुःख कष्टमा पनि बाटो नबिराइ आफ्नो कर्तव्यपालना गर्ने छु भन्ने विश्वास दिलाउन चाहन्छु ।

 साथै, नेपालको सञ्चार क्षेत्रमा आफ्नो महत्वपूर्ण छवि बनाइराख्न सक्षम तपाईहरुको दैनिक पत्रिका वा अनलाइन पोर्टलले चाटुकारितालाई टाढै राखी सञ्चार जगतमा देखिएको आफ्नो उत्कृष्ट छविलाई अक्षुण राख्न भगवन वुद्धको दिव्य उपदेश र राष्ट्रप्रेमबाट प्रभावित भएर प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र यसका लागि तपाईहरुलाई हार्दिक अनुरोध पनि गर्दछु ।

धन्यवाद ।

विजयप्रकाश मिश्र

 

यसबारे फरकधारकाे भिडिओ सामग्री: 

  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १०:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया