प्रधानमन्त्री ओली अर्थमन्त्रीमा किन देख्दैनन् डा. खतिवडाका विकल्प ?

पछिल्ला केही दिन यता समाधान उन्मुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद अब फेरि बल्झिने संकेत देखिएको छ । विशेषगरि नेकपा उपाध्यक्ष वामदेव गौतमले अब आफू राष्ट्रिय सभामा जान तयार रहेको अभिव्यक्ति दिएसँगै यो विवाद बल्झिने संकेत देखिएको हो । 

नेकपा उपाध्यक्ष गौतमले आफू राष्ट्रिय सभामा जाने संकेत मात्र गरेका छैनन्, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफू सरकारमा सहभागी भएर प्रधानमन्त्रीलाई सहयोग गर्ने चाहनामा रहेको पनि बताएका छन् । 

अब गौतमले यस्तो भन्न थालेपछि प्रधानमन्त्री ओली समस्यामा परेका छन् । प्रधानमन्त्री ओली समस्यामा परे पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले भने गौतमलाई साथ दिने सम्भावना बढेको छ । उनीहरुले अहिलेसम्म गौतमको इच्छाबारे केही पनि बताएका छैनन् । तर, बिर्सनु हुँदैन गत वैशाखमा गौतम सांसद बन्नका लागि राष्ट्रिय सभामा जानुपर्छ भन्नेमा अडान लिएका थिए, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ।

तर, त्यति बेला गौतमले एउटा सर्त राखे । उनी राष्ट्रिय सभामा गएको खण्डमा संविधान संशोधन भएर राष्ट्रिय सभाका सदस्य पनि सरकार प्रमुख हुन पाउनु पर्ने उनको अडान थियो । त्यति बेला उनको यो सर्तको पार्टीभित्र र बाहिर व्यापक विरोध भयो । त्यसपछि फागुनमा उनलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको नेकपा सचिवालय बैठकले वैशाखमा उपयुक्त समयमा निर्वाचन गराएर गौतमलाई सांसद बनाउने निर्णय गर्यो ।

तर, अब गौतम आफू प्रतिनिधिसभामा जानका लागि निर्वाचन गर्ने कुरा सान्दर्भिक नभएको भन्दै राष्ट्रिय सभामा लैजाने निर्णय भइसकेकाले त्यो निर्णय पालना गरिनु पर्ने अडानमा छन् ।



गौतमले यो मागमा दाबी गर्नुका पछाडि दुई कारण रहेका छन् । एकछिन त्यस विषयमा चर्चा गरौँ ।

पहिलो कारण हो, अहिले राष्ट्रिय सभामा एक पद खाली हुनु । यसअघि राष्ट्रिय सभा सदस्य तथा अर्थमन्त्री डा. युवराज खतिवडाको समयसीमा सकिएको छ । खतिवडा सरकारले गरेको सिफारिसमा र राष्ट्रपतिले गरेको नियुक्तिपछि राष्ट्रिय सभा सदस्य भएका थिए । उनी राष्ट्रिय सभा सदस्य भएपछि अर्थमन्त्री पनि भए । कार्यावधि निर्धारण गर्न राष्ट्रिय सभामा गोलाप्रथा गरिएको समयमा उनले २ वर्षको समय ताने, उनको पदावधि ६ महिनअघि सकियो । 



तर, उनी फेरि अर्थमन्त्रीमा नियुक्त भए । अब उनी अर्थमन्त्रीमा रहिरहने हो भने संसदको सदस्य हुन केही दिन मात्र बाँकी छ । उनको समयसीमा अब २० भदौमा सकिँदैछ । त्यसअघि नै उनलाई कि राष्ट्रिय सभामा फेरि मनोनित गरिनु पर्ने हुन्छ वा प्रतिनिधि सभामा उनलाई कुनै स्थानबाट निर्वाचित गराएर ल्याउनु पर्ने हुन्छ । संवैधानिक व्यवस्थाअनुसार अन्यथा उनी संघीय संसदको सदस्य नभएकाले २० भदौपछि अर्थमन्त्रीबाट उनी स्वतः हट्नेछन् । 

वामदेव गौतमले ठिक यही समयमा आएर आफू राष्ट्रिय सभामा जाने मनासय राखेका छन् । यसअघि उनले पार्टीले निर्णय गरिसक्दा पनि आफूलाई राष्ट्रिय सभामा जान मन नभएको बताएका थिए । अब उनले राष्ट्रिय सभामा जाने बताएपछि उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित गर्न सकिनेछ । अनि गौतमले सरकारमा पनि समावेश हुने बताएपछि खाली रहेको अर्थमा नै उनको ध्यान गएको हुनसक्ने नेकपाका नेताहरुले बताएका छन् ।

तर, गौतमको यो माग र अडानका कारण अब प्रधानमन्त्री ओली समस्यामा परेका छन् । किनकि प्रधानमन्त्री ओली राष्ट्रिय सभामा डा. खतिवडालाई नै पुनः नियुक्ति दिएर अर्थमन्त्री बनाउन चाहन्छन् । पहिलोपटक डा. खतिवडालाई अर्थमन्त्री बनाउँदा प्रधानमन्त्री ओलीले पार्टीकै नेताहरुबाट आलोचना खेपेका थिए । दोस्रो पटक पनि उनलाई नै अर्थमन्त्रालयको जिम्मेवारी दिँदा प्रधानमन्त्री ओलीको आलोचना भएको थियो । 

तर, यी सब आलोचनाहरुलाई पन्छाएर ओलीले यसपटक पनि अर्थमन्त्रीमा फेरि डा. खतिवडालाई नै ल्याउन चाहिरहेका छन् । आखिर किन ? किन ओली अर्थमन्त्रीमा डा. खतिवडाको विकल्प देखिरहेका छैनन् ?

‘खतिवडाप्रति प्रधानमन्त्री ओलीको निकै ठूलो मोह रहेको यो विषयले प्रमाणित गरेको छ,’ नेकपाका एक नेताले फरकधारलाई बताए, ‘उहाँको कुन खुबीका कारण प्रधानमन्त्री ओली यति धेरै लोभिनु भएको हो भन्ने चाहिँ खुल्न सकेको छैन ।’

हो, अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि खतिवडाले आर्थिक विकासका केही सूचांकहरुमा सुधार ल्याए । तर, अर्थमन्त्री खतिवडाले गरेका कतिपय निर्णय बारम्बार विवादित बनिरहेका छन् । यस्तो हुँदा पनि प्रधानमन्त्री ओलीले उनलाई नै साथ लिन खोज्नुलाई नेकपाका नेताहरुले रुचाएका छैनन् । 

‘तर, प्रधानमन्त्रीलाई विदेशी आइएनजिओहरुसँग पनि सम्बन्ध राख्ने र अर्थतन्त्र बुझेको मानिस अर्थमन्त्रीमा चाहिएको छ,’ नेकपाका ती नेताले फरकधारलाई बताए, ‘त्यही भएर पनि डा. खतिवडाको विकल्प अहिले प्रधानमन्त्री ओलीले देखेका छैनन् ।’ 

  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १५:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया