झलनाथ खनाल प्रतिष्ठानलाई सर्पको खेती गर्न ७२ करोड, यो प्रोजेक्टको नालीबेली
फाइल तस्वीर ।

बुधबार विहानबाट नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताहरुले निकै चर्चा गरिरहेका छन्– सर्प खेतीको । सरकारले आफ्नै पार्टीका नेता झलनाथ खनालको नाममा खोलिएको प्रतिष्ठानलाई ७२ करोड अनुदान दिने निर्णय गरेपछि यो आलोचित विषय बनेको छ ।

नेपालमा जीवित व्यक्तिको नाममा खुलेका निकै कम प्रतिष्ठानमध्ये एक हो, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान । २०७१ सालमा खोलिएको यो प्रतिष्ठानले अब सर्पको खेती गर्न लागेको हो । र, यसको उद्देश्य हो– नेपालमा ‘स्नेक एन्टी भेनम’ उत्पादन गर्ने ।

यसका लागि यो प्रतिष्ठानले सर्लाहीमा लालबन्दी नगरपालिका ६ मा सर्प पालन सुरु पनि गरिसकेको छ । त्यसका लागि त्यहाँ ८ बिघा जमिन किनिएको छ । प्रतिष्ठानलाई यो काममा सहयोग गरेका छन्, २ नम्बर प्रदेश सरकार र लालबन्दी नगरपालिकाले ।

लालबन्दी नगरपालिका, प्रदेश नं. २ सरकार र केन्द्रीय सरकार मिलेर यो प्रतिष्ठानलाई सर्प पाल्न र त्यसबाट एन्टी भेनम उत्पादन गर्न यो बजेट विनियोजन गरिएको हो । 
‘तिनै तहका सरकारसँग यो सम्झौता भइसकेको छ,’ प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले फरकधारलाई जानकारी दिए ।

आखिर विषालु सर्पको खेती गर्न किन लागे त झलनाथ खनाल ? 

यो २०७० सालको निर्वाचनको समयको कुरा हो । खनाल त्यति बेला सर्लाहीबाट चुनावमा उठेका थिए । चुनावी प्रचारप्रसार चलिरहेको थियो । उनको प्रचार अभियानमा सहभागी एक कार्यकर्ताको निधन भएको समाचार आयो । ती कार्यकर्ताको निधनको कारण थियो– सर्पदंश । अर्थात्, विषालु सर्पले टोकेकाले ती कार्यकर्ताको निधन भएको थियो । 



आफ्नो प्रचारमा लागेका कार्यकर्ताको निधन सर्पले टोकेर भएपछि खनालले ‘एन्टी स्नेक भेनम’ बनाउने उद्देश्य बनाए । अनि त्यही उद्देश्यका कारण जन्मियो, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान । 

यो प्रतिष्ठानको नेतृत्व गरिरहेका छन्, नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त । अनि खनालको प्रतिष्ठानले सुरु गरेको सर्प पालनको नेतृत्व पनि उनै पन्तले गरिरहेका छन् । 



पन्तले त यो प्रतिष्ठानको गठन नै नेपालमा सर्पको विषविरुद्धको औषधी बनाउनका लागि भएको दाबी गर्छन् ।

अनि भन्छन्– यो एउटा लामो प्रक्रिया हो, नेपालमा अहिलेसम्म कसैले पनि यो नयाँ काम सोचेको थिएन । उनका अनुसार अब यो प्रतिष्ठानले बनाएको योजनाको आधा काम सकिएको छ । ‘आधा यात्रा हामीले पूरा गरेका छौँ,’ फरकधारसँगको टेलिफोन संवादमा उनले भने, ‘अब यात्राको आधा भाग बाँकी छ ।’

नेपालमा वर्षेनी १ हजार देखि १ हजार पाँच सयसम्म मानिसको मृत्यु अहिले पनि सर्पदंशका कारण हुन्छ । तराईमा समस्याका रुपमा रहेको सर्पदंशका मृत्युलाई समाधान गर्न र मृत्यु न्यूनिकरण गर्न आफूहरुले यो योजना सुरु गरेको पन्तले बताए ।

‘मधेशमा सर्पले टोकेर हुने मृत्यु ठूलो समस्या हो,’ उनले भने, ‘यही समस्यालाई कम गर्न हामीले सर्प पालन गर्ने र एन्टी स्नेक भेनम उत्पादनको काम सुरु गर्न खोजेका हौँ ।’

विषालु सर्पको विषलाई लिएर अहिले तत्काल भारतमा पठाउने र पछि नेपालमै ल्याब बनाएर यसको उत्पादन गर्ने खनालको प्रतिष्ठानको उद्देश्य रहेको छ । सर्पले टोकेका बिरामीको उपचारका लागि त्यो विषविरुद्ध लड्ने औषधी सर्पकै विषबाट बनाइन्छ र अहिले नेपाल यो औषधीका लागि भारतसँग निर्भर छ । प्रतिष्ठानका अध्यक्ष पन्त यो परियोजना पूर्ण भएपछि नेपाल नै यसमा आत्मनिर्भर हुने तर्क गर्छन् ।

त्यसो त यस विषयमा नेपाल सरकारले यसअघि विभिन्न योजना बनाएको थियो । तर, स्वास्थ्य मन्त्रालयले यसको सम्भावना नेपालमा नभएको दाबी गर्दै आएको पन्तले बताए । ‘स्वास्थ्य मन्त्रालयले एक कार्यदल गठन गरेको थियो,’ पन्तले भने, ‘कार्यदलले यो नेपालमा सम्भव छैन भन्ने प्रतिव्ेदन बनाएको थियो । हामी यो सम्भव छ भनेर अगाडि बढेका छौँ ।’

उनका अनुसार ३ देखि ५ वर्षभित्र सर्प फार्मिङ गरेर उत्पादन सुरु गर्ने भनेर प्रतिष्ठान लागिपरेका छ । यसका लागि मंसिरदेखि सम्पूर्ण काम सुरु हुने पनि उनले जानकारी दिएका छन् । 

अहिले यो प्रतिष्ठानको प्रमुख संरक्षक स्वयं झलनाथ खनाल नै रहेका छन् ।

अनि उनको नाममा खोलिएको प्रतिष्ठानलाई ठूलो रकम दिइने भएपछि यसको विरोध भएको छ । तर, यस्तो विरोध नबुझेकाले भएको पन्त बताउँछन् । 

‘यो हाम्रो पवित्र भावना हो, पवित्र काम हो,’ उनले फरकधारसँग भनेका छन्, ‘तर, यसलाई नकारात्मक रुपमा प्रचार गर्न थालियो, गलत नजरमा हेरियो ।’

उनी त सरकारले पनि गर्न नसकेको काम प्रतिष्ठानले गर्न खोजिरहेकाले सबैले सकारात्मक रुपमा हेर्नु पर्ने बताउँछन् ।

  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार २२:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया