निषेधाज्ञाको मारमा साना व्यवसायी, विकल्प नदिए अवज्ञा गर्ने चेतावनी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः ७ दिन थपिएपछि यसको प्रत्यक्ष मारमा साना तथा मझौला व्यवसायी परेका छन् । कोरोनाका कारण विगत ५ महिनादेखि लगाइएको बन्दाबन्दीले अवरुद्ध व्यवसायलाई पछिल्लो निषेधाज्ञाले झनै असर पारेको उनीहरूको गुनासो छ ।

महामारी नियन्त्रणका नाममा जारी निषेधाज्ञाले मात्र समस्या समाधान नहुने भन्दै व्यवसायीले चाँडै नै यसको विकल्प खोज्नुपर्ने मागसमेत गरेका छन् । महिनौंदेखि व्यवसाय ठप्प रहँदा काठमाडौंमा करिब ५० प्रतिशत सटर खाली भइसकेको व्यवसायीको भनाइ छ । अन्य मुख्य सहरको अवस्था पनि उपत्यकाभन्दा फरक नरहेको उनीहरुको भनाइ छ ।

पहिलेको बन्दाबन्दी र हालको निषेधाज्ञाले देशभरिमा लाखौं व्यवसायी र त्यस क्षेत्रसँग आबद्ध मजदूर तथा कर्मचारी मारमा परेको बताउँदै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले निषेधाज्ञाको विकल्प खोजेर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए ।

अझै पनि सरकारले व्यवसाय सुचारु गर्नेतर्फ प्राथमिकता नदिने हो भने व्यापारबाट पलायन हुने व्यवसायीको संख्या थपिँदै जाने उनको भनाइ छ । अर्थतन्त्र चलायमान नहुँदा व्यवसायीमा चिन्ता बढ्दै गएकाले उनीहरूले अब निषेधाज्ञाको अवज्ञा गर्दै व्यापार सञ्चालन गनुपर्ने भन्दै महासंघलाई दबाब सृजना गरिरहेको उनको भनाइ छ ।

महासंघले हालसम्म निषेधाज्ञाको अवज्ञा गर्नेबारे धारणा नबनाएको भए पनि व्यवसायीबाट दबाब बढ्दै गए सरकारको निर्णयको अवज्ञा गर्नुपर्ने अवस्थामा जान सक्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघको तथ्यांक अनुसार नेपालमा हाल ३० लाखको हाराहारीमा साना तथा मझौला व्यवसायी छन्, जसमध्ये १६ लाख जति दर्ता भएका व्यवसायी छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २२ प्रतिशत योगदान गर्दछ भने १७ लाखभन्दा बढी मानिसले यसमा प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
 





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १३:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया