वामदेवको ‘कमब्याक’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनित हुने भएका छन् । नेकपाको बिहीबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पार्टी उपाध्यक्ष गौतमलाई सरकारले गर्ने मनोनित गर्ने तयारी गरेको सचिवालयका सदस्यलाई जानकारी दिएका थिए । 

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफलले पार्टी उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने सहमति बमोजिम बिहीबार बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो । 

गएको १४ फागुनमा बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउन सरकारलाई आग्रह गरेको थियो । तर त्यही दिन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू उक्त निर्णय नमान्ने जनाएपछि गौतमको राष्ट्रिय सभाको यात्रामा ‘ब्रेक’ लागेको थियो ।

पछिल्लो समयमा नेकपामा विवाद बढ्दै जाँदा गौतम कहिले ओली समुहमा त कहिले प्रचण्ड समूहतर्फ लागेका कारण उनलाई अस्थिर नेताको रुपमा बुझिँदै आएको छ । तर प्रधानमन्त्री ओली जहिले–जहिले समस्यामा पर्छन त्यसलाई पार लाउने कार्यमा भने गौतमले सधैं ओलीलाई साथ दिँदै आएका छन् । 

गत १० असारबाट शुरु भएको स्थायी कमिटीको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सदस्यले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गर्दा उपाध्यक्ष गौतमले पनि ओलीको आलोचना गर्दै राजीनामा माग गरेका थिए । तर १३ साउनमा ६ बुँदे प्रस्ताव अगाडी सार्दै ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहन दिनुपर्ने भन्दै ‘यु–टर्न’ लिए । 

त्यसैको आधारमा ३० साउनमा नेकपाका दुवै अध्यक्ष ओली–प्रचण्डले कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले एक हप्ता गृहकार्य गरेर १७ बुँदे प्रतिवेदन बुझाइसकेको छ । बिहीबारको बैठकमा उक्त प्रतिवेदनका बारेमा समेत कुरा भएको थियो । 



 

प्रचण्डको अडानले राष्ट्रियसभा जाँदै गौतम



त्यसो त नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने कुरा यसअघि पनि नेकपाको सचिवालयले निर्णय गरिसकेको थियो । तर प्रधानमन्त्री ओलीले उक्त निर्णय नमान्दा कार्यान्वयनमा भने आउन सकेको थिए । यसपटक पनि राष्ट्रियसभामा सरकारले मनोनित गर्ने कोटामा हालका अर्थमन्त्री युवराज खतिवडालाई नै दोहो¥याउने पक्षमा थिए । खतिवडाले राम्रो काम गरिरहेकाले हाल परिवर्तन गर्न आवश्यक नरहेको बताउदै आएका प्रधानमन्त्री ओलीले गौतमलाई डोल्पाबाट प्रतिनिधिसभाको उप निर्वाचन लड्न आग्रह गरेका थिए । तर नेता गौतमले कोरोना महामारीको अहिलेको विषम परिस्थितीका कारण चुनाव लड्नसक्ने अवस्था नरहेको जवाफ फर्काउँदै आफु राष्ट्रियसभामा जान इच्छुक रहेको बताएका थिए । 

नेता गौतमको आकांक्षामा यसपाली नेकपाका अध्यक्ष प्रचण्ड दह्रो रुपमा उभिए । विगतमा गरिएको पार्टी निर्णय कार्यान्वयन गराउनुपर्छ र उपाध्यक्ष वामदेवजीलाई राष्ट्रियसभामा पठाउनुपर्छ भन्दै प्रचण्डले अडान लिएपछि गौतमको पक्षमा निर्णय भएको थियो । ‘होइन अब वामदेव गौतमको सन्दर्भमा त गएको फागुन १४ को सचिवालयले निर्णय गरिसकेकाले पार्टीको उक्त निर्णय जसरी भएपनि अहिले कार्यान्वयन गराउनुपर्ने पक्षमा अध्यक्ष कमरेड हुनुहुन्थ्यो’, प्रचण्ड निकट स्रोतले भन्यो । 

त्यस्तै नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि पार्टी निर्णय कार्यान्वयन गराउने पक्षमा थिए । नेता खनालले प्रष्ट रुपमै उक्त निर्णय कार्यान्वयन गराउनुपर्ने पक्षमा उभिएका थिए । नेता खनालले फरकधारलाई भनेका थिए, ‘अब वामदेव कमरेडको बारेमा पार्टी सचिवालयले यसअघि पनि निर्णय गरिसकेको छ । यसलाई कार्यान्वयन गराएर अब जानुपर्छ । यसमा अरु दायाबायाँ कुरै छैन ।’

बिहीबार बसेको नेकपाको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने सरकारको तयारी रहेको सुनाएपछि सबैले हो मा हो मिलाएका थिए । 

 

ओलीको संकट टार्न वामदेव

जबजब पार्टीभित्र ओलीलाई संकट पर्छ तबतब गौतमले साथ दिँदै आएका छन् । १० असारदेखि जारी नेकपाको आन्तरिक किचलो पार लगाउन साउन १३ मा वामदेवले ल्याएको ६ बुँदे प्रस्तावले ओलीलाई राहत मिलेको थियो । 

गौतमको उक्त प्रस्तावपछि ओलीमाथि दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब कम भएको थियो । ओलीले गौतमलाई भेट्न भैँसेपाटी नै पुगेका थिए । पछिल्लो समयमा ओली पनि गौतमको प्रस्ताव सकारात्मक भएको भन्दै त्यसकै वरीपरि सहमति गर्न राजी भएका थिए । अझ प्रचण्ड–नेपाल समूहले त ओलीको निर्देशनमा ६ बुँदे प्रस्ताव बाहिर आएको आरोप लगाए । उक्त ६ बुँदे प्रस्तावपछि ओली–गौतम सम्बन्ध नजिकिएको थियो ।

 

समीकरण बदल्ने तयारीमा थिए वामदेव 

उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव ल्याएपछि नजिकिएको ओली–गौतमको सम्बन्ध फेरि भत्किन सक्ने संकेत मिलेको थियो । केही दिन पहिला ओलीलाई भेटेर आफू राष्ट्रिय सभामा जाने र गत १४ फागुनमा भएको सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान गौतमले राखेका थिए । उक्त अडानपछि ओली झन अप्ठेरोमा परे । यतिसम्म की पार्टीको आन्तरिक जीवनमा अस्थिर भनेर चिनिएका नेता गौतम ओलीले पार्टीको निर्णय कार्यान्वयन नगरेमा समीकरण बदल्ने तयारीमा समेत रहेको गौतम निकट स्रोतले भन्यो ।

‘अब अहिले उहाँ (वामदेव गौतम) डोल्पाबाट चुनाव लड्ने हल्ला कसले ग¥यो थाहा भएन । तर पार्टीले विगतमा गरेको राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयन गर्नुपर्छ’, गौतम निकट एक नेताले केहीअघि मात्र फरकधारसँग भनेका थिए, ‘यो निर्णय पार्टीले कार्यान्वयन गर्नुपर्छ । प्रधानमन्त्रीले पनि निर्णय कार्यान्वयन गर्नुहुन्छ । नत्र समीकरण परिवर्तन हुन्छ ।’ 

यस वर्ष मात्र गौतमले ओली संकटमा परेको समयमा २ पटक काँध थापेर संकटबाट बचाएका कारण पनि ओली धर्म संकटमा थिए । त्यसैले ओली–प्रचण्ड दुवैले मध्यमार्गी बाटो अपनाएको स्रोतको भनाई छ । 

गत वैशाख १७ मा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेको थियो । ओलीले राजीनामा दिनै परे गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावपछि गौतम ओलीको पक्षमा लागेका थिए । २० गतेको सचिवालय बैठकमा भने ओलीले गौतमको कुनै प्रस्ताव नगरेपछि २४ गते गौतम पुनः प्रचण्ड–नेपाल समूहमा फर्केका थिए । २४ गते ओली सचिवालयमा अल्पमतमा परेपछि बैठक छोडेर हिँडेका थिए । 

१० असारबाट जारी स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा माग्ने काम रोकिएन । तर गौतमले ६ बुँदे प्रस्ताव ल्याएपछि ओलीको संकट टरेको थियो । त्यही गुन तिर्न पनि ओली गौतमलाई राष्ट्रियसभामा लिन सहमत भएको बताइएको छ । 

  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार २२:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया