चितवनमा पनि सुरु भयो प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, के हो प्लाज्मा थेरापी ?

कोरोनाभाइरस संक्रमितको उपचारका लागि चितवनमा प्लाज्मा थेरापी विधी सुरु गर्न थालिएको छ । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले हेटौंडाकी एक कोरोना संक्रमित महिलालाई यसअघि ठिक भइसकेका कोरोना संक्रमितको रगत दिएर प्लाज्मा थेरापी सुरु गरेको हो ।

हेटौंडाकी यी महिला ११ भदौमा चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी थिइन् । उपचारकै क्रममा १२ भदौमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको रगत समूहसँग मेल खाने र यसअघि कोरोना संक्रमण जितिसकेका व्यक्तिले उनलाई रगत दिएका छन् । यही रगत प्रयोग गरेर उनको प्लाज्मा थेरापीबाट उपचार सुरु भएको हो ।

यो चितवनमा पहिलो पटक कोरोना संक्रमितका लागि उपचार विधि अपनाउन लागिएको हो । यसअघि काठमाडौंमा पनि यो विधिबाट केही कोरोना संक्रमितको उपचार गरिएको छ । 

तर, प्लाज्मा थेरापी नै उपचारका लागि सबैभन्दा उपयुक्त माध्यम भन्ने अहिलेसम्म प्रमाणित भइसकेको छैन ।

तर, अहिले कोरोनाभाइरस भ्याक्सिन नपाउँदा यो उपचार विधिलाई धेरै देशमा प्रयोग गर्न खोजिएको छ ।



भारतको राजधानी दिल्लीमा, कर्नाटकमा र केरलामा प्लाज्मा थेरापी सुरु भइसकेको छ । बेलायत, अमेरिका र अरु देशमा पनि प्लाज्मा थेरापी सुरु गरिएको छ । 

चीन जहाँबाट यो भाइरस विश्वभर फैलिएको हो, त्यहाँ पनि प्लाज्मा थेरापी सुरु भइसकेको छ । चीनले त फ्रेबुअरीबाट नै प्लाज्मा थेरापी सुरु गरेको हो । यसमा आफूले सफलता पाएको पनि चीनले बताउँदै आएको छ ।



आखिर के हो त प्लाज्मा थेरापी ? 

कन्भोलेसेन्ट प्लाज्मा थेरापी यो धारणामा आधारित छ कि कोही पनि व्यक्तिलाई कुनै भाइरस संक्रमण भएको छ र उसले भाइरस जित्न सकेको छ भने उसको शरीरमा भाइरससँग लड्ने एन्टीबडीको विकास भइसकेको हुन्छ । यसरी एन्टीबडी विकास हुँदा संक्रमण जितेको व्यक्तिको रगतमा त्यो प्रतिरोधात्मक क्षमता हुने मानिन्छ । 

यही एन्टीबडीको सहयोगमा कोभिड १९ का बिरामीलाई रगत दिँदा उसको शरीरमा भएको भाइरसलाई लडेर खत्तम गर्न सकिने विश्वास गरिन्छ ।

संक्रामक रोगहरुमा वर्षौअघिदेखि यो धारणा विकास गरिएको छ र यसरी प्लाज्मा दिएर संक्रमितलाई रोगबाट लड्न सहयोग गर्ने गरिएको छ । यसअघि सार्स, मार्स तथा एचवानएनवानजस्ता महामारीका लागि पनि प्लाज्मा थेरापी प्रयोग गरिएको थियो ।

यसको अर्थ हो, संक्रमणलाई जितिसकेको व्यक्तिको रगत अर्को संक्रमितलाई दिने र उसलाई भाइरसविरुद्ध लड्न सहयोग गर्ने ।

तर, बिर्सनु हुँदैन प्लाज्मा थेरापीले सबै बिरामीका लागि काम गर्छ भन्ने हुँदैन । यो केही हदसम्म भाइरसको उपचारका लागि सहयोग हुनसक्ने विधि चाहिँ हो ।

  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १२:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया