ओलीको सन्देश लिएर पौडेल-पोखरेल खुमलटारमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महासचिव विष्णु पौडेल र स्थायी कमिटीका सदस्य शंकर पोखरेलले भेटेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दूतका रूपमा पौडेल र पोखरेलले शनिबार अध्यक्ष प्रचण्डको निजी निवास खुमलटार पुगेर भेटेका हुन् । 

प्रधानमन्त्री ओलीका निकट मानिने पौडेल र पोखरेलले नेकपा दुई अध्यक्ष ओली–प्रचण्डले गत ३० साउनमा गठन गरेको समस्या समाधान सुझाव कार्यदलका संयोजक र सदस्य समेत हुन् । उक्त कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनका बारेमा मूर्त खाका बनाउनका निम्ति आफ्ना तर्फबाट अध्यक्ष प्रचण्डसँग छलफल गर्न महासचिव पौडेल र पोखरेललाई पठाएको बताइएको छ । 

नेकपाका नेताहरू पम्फा भुषाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे समेत रहेको कार्यदल ६ भदौमा दुई अध्यक्षलाई बुझाएको प्रतिवेदनमा १८ भदौमा नेकपाको सचिवालय बैठकमा छलफल भएको थियो । उक्त प्रतिवेदनमा समेटिएको सुझावमाथि वरिष्ठ नेता माधवकुमार नेपालले १५ बुँदे टिप्पणी गरेका थिए । 

उक्त बैठकले प्रतिवेदन माथि उठेका सुझावलाई समेटेर पार्टी र सरकार सञ्चालनका तथा स्थायी समिति बैठकको कार्यसूची बनाउने सन्दर्भमा निर्णय गर्न आवश्यक प्रस्ताव तयार पार्ने जिम्मा दुई अध्यक्ष ओली र प्रचण्डलाई दिएको थियो ।

राजनीतिक नियुक्तिको व्यवस्थापन, मन्त्री परिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन लगायतका विषयमा दुई अध्यक्षका बीचमा ठोस प्रस्ताव तयार पार्ने गरी केन्द्रित हुने बताइएको छ । प्रचण्डसँगको छलफलमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा मनोनितका लागि सरकारले कहिले सिफारिस गर्ने सन्दर्भमा पनि छलफल भएको थियो । उक्त प्रक्रिया कहिले सुरुवात हुन्छ भनेर पौडेल र पोखरेलसँग प्रचण्डले जिज्ञासा राखेको स्रोतको भनाइ छ ।

अध्यक्ष प्रचण्डसँगको भेटमा महासचिव पौडेल र नेता पोखरेलले कुन–कुन विषयमा के कसरी प्रस्ताव तयार पार्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतको भनाइ छ । 



प्रचण्डसँगको छलफलपछि पौडेल र पोखरेलले बालुवाटार पुगेर प्रचण्डसँगको छलफलका बारेमा ओलीलाई ब्रिफिङ गरेका थिए । दुई अध्यक्षबीच छलफलपश्चात् समग्र प्रस्तावमा छलफल गर्न स्थायी समिति बैठक बोलाउने र त्यसभित्र छलफल गरी उठेको थप सुझाव समेतलाई समेटेर पुनः दुई अध्यक्षले ठोस प्रस्ताव तयार पार्ने र त्यसलाई सचिवालयमा छलफल गरेर स्थायी समितिमा लगेर पारित गर्ने कार्ययोजना नेकपाको छ । अहिले दुई अध्यक्ष ओली–प्रचण्ड त्यसैको तयारीमा जुटेका छन् ।



  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १७:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया