निजी प्रयोगशालाको पिसिआर परीक्षणलाई पनि मान्यता दिने गरी मापदण्ड सच्याउँदै बिमा समिति

केही दिनअघि बिमा समितिले कोरोनाको बिमा भुक्तानीमा निजी प्रयोगशालाको पिसिआर परीक्षणलाई मान्यता नदिइने भन्दै बिमा कम्पनीहरुलाई परिपत्र गरेको थियो । तर, चौतर्फी विरोधपछि समिति सो निर्णयबाट पछि हटेको छ ।

निजी प्रयोगशाला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त निकाय भएकाले उनीहरुको रिपोर्टलाई पनि मान्यता दिने गरी समितिले गृहकार्य गरेको जनाएको छ ।

यसअघि सरकारी निकायलाई मात्रै कोरोना परीक्षण गर्न दिइएकाले सोअनुसारको मापदण्ड बनेको तर निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिन थालिएपछि पुरानो मापदण्ड सच्याउन आवश्यक रहेको बिमा समितिले स्वीकार गरेको छ ।

त्यसका लागि बिमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा सुझाब समिति गठन गरिने भएको छ । उक्त समितिले दिएको सुझाबका आधारमा मापदण्ड संशोधनको लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बताइएको छ ।

मापदण्ड संशोधन नहुँदासम्मका लागि भने मन्त्रालयअन्तर्गतका निकायका प्रयोगशालामा मात्रै परीक्षण गर्न अनुरोध गर्ने निर्णय भएको समितिले जनाएको छ । यद्यपि, नक्कली रिपोर्ट बनाएर हुन सक्ने ठगीलाई मध्यनजर गर्दै समितिले छानबिन समेत गर्ने भएको छ ।

कोरोना बिमाका सन्दर्भमा दुईखाले प्रावधान छ । प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क तिरेर बिमा गर्नेले कोरोना पोजेटिभ पुष्टि भएपछि १ लाख रुपैयाँ तथा ३ सय रुपैयाँ तिरेर बिमा गर्नेले ५० हजार रुपैयाँ दाबी भुक्तानी पाउँछन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १८:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया