बाबुरामको दुई दिन अघिको ट्विट खोतल्दै सूर्य थापा यसरी खनिए

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईमाथि खनिएका छन् । भट्टराईले अर्थमन्त्रीबाट युवराज खतिवडाको बिदाईका सन्दर्भमा दिएका अभिव्यक्तिप्रति थापाले रोष प्रकट गरेका हुन् ।

डा. भट्टराईले दुई दिनअघि खतिवडाले अर्थमन्त्रीबाट राजिनामा दिएकै दिन एक ट्विट गरेका थिए । जसमा उनले विज्ञ अर्थमन्त्रीले आफ्नो क्षमता प्रदर्शन गर्ने नसकेको र ओली सरकारमा अब यो भन्दा राम्रो अर्थमन्त्री आउने सम्भावना नरहेको बताएका थिए । ‘विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले। ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन, न रुनु न हाँस्नु’भट्टराईले ट्विटरमा लेखेका थिए ।

भट्टराईको दुईअघिको ट्विटमाथि कटाक्ष गर्दै प्रेस सल्लाहकार थापाले सोमबार बिहान आफ्नो फेसबुकमा लामो प्रतिक्रिया दिएका छन् । त्यस प्रतिक्रियामा थापाले भट्टराईले चयन गरेका शब्द पूर्व प्रधानमन्त्रीको हैसियतले नसुहाउने भनेका छन् । खासमा भट्टराईले प्रधानमन्त्री ओली नेतृत्वलाई निरंकुश, भ्रष्ट र गफाष्टक भनेकोप्रति थापाको आक्रोश देखिन्छ । उनले बाबुरामसँग जोडिएका अनेक प्रसंग कोट्याउँदै उनीमाथि गालीको वर्षा गरेका छन् ।

‘केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ वर्ष जेल बसिरहँदा तपाईं , फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’ थापाले फेसबुकमा लेखेका छन् ।

थापाले पत्नी हिसिलासँग जोडेर पनि बाबुराममाथि टिप्पणी गरेका छन् । भारतसँग गरेको विप्पा सम्भौतामाथि पनि टिप्पणी गर्न भ्याएका छन् । उनले अरुकै रिमोटमा यस्तो लेखेको होकी भन्दै बाबुरामलाई प्र्रश्न गरेका छन् ‘तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट संचालन र सनकमा यतिसम्म लेख्न सक्नुभएको हो ?’ थापाले लेखेका छन् ।



प्रधानमन्त्री ओली र सरकारको आलोचना गर्नेमाथि प्रेस सल्लाहकार थापाले यसअघि पनि विभिन्न समयमा आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका छन् ।



  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार ११:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया