[अन्तर्वार्ता] ‌‌हाम्रा नेतालाई बिचौलिया, दलालहरुले चलाउँछन् : रामकुमारी झाँक्री
फरकधार / २५ भदौ, २०७७

विद्यार्थी राजनीतिबाट उदाएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्री पछिल्लो समय नेकपामै ‘प्रतिपक्ष’को रुपमा चिनिन थालेकी छिन् । पार्टी र नेतृत्वको चर्को र कटु आलोचना गरेर बारम्बार चर्चामा आइरहने प्रतिनिधिसभा सदस्यसमेत रहेकी झाँक्री सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । पछिल्लो समय नेकपामा देखिएको विवादमा पनि झाँक्रीले आफ्नो धारणा निर्धक्क राखिरहेकी छिन् । तिनै झाँक्रीसँग फरकधारले लामो कुराकानी गरेको थियो । त्यसको सम्पादित अंशः 



तपाईं सांसद् हुनुभएको पनि साढे दुई वर्षभन्दा बढी भइसक्यो । सांसद् भइसकेपछि राजनीतिमा जिम्मेवारी कसरी फेरिँदै जाने अनुभव गर्नुभएको छ ? 

म ७ कक्षामा प्रारम्भिक कमिटीको सचिव÷सहसचिव भएँ । २०४८ सालको चुनाव आउँदै थियो, त्यति बेला पनि आजका नेताभन्दा बढी जिम्मेवार हामी थियौँ । मैले भन्न के खोजेको भने अहिलेको यो पद नहुँदा पनि म जिम्मेवार नै थिएँ, पार्टीका लागि ।

त्यतिबेला भएका ठूलाठूला निर्वाचनका सारा काम हामीले गरेका हुन्थ्यौँ । २०४९ सालमा भोट हाल्ने÷एजेन्ट बस्ने योग्यता थिएन तर उम्मेदवार हामीले नै खडा गर्थ्याैँ । त्योबेला देखि अहिलेसम्म जिम्मेवारीपूर्ण ढंगले काम गर्दै आएको छु भन्ने लाग्छ । त्यतिबेला त झन् कमिटीहरु थिए, कमिटीमा आफ्ना कुरा राख्न पाइन्थ्यो, त्यसमाथि छलफल हुन्थ्यो । त्यहाँ समीक्षा हुन्थ्यो, निष्कर्ष निकालिन्थ्यो र निर्णय हुन्थ्यो । आगामी दिनमा यसरी अगाडी बढ्ने भनिन्थ्यो ।

म केन्द्रीय कमिटीको सदस्य २०७१ सालमा भएँ । तर, अहिले पार्टीमा कमिटीका बैठकहरू डिनाइ गरिन्छ, बसिँदैन । कतिसम्म भने छलफल पनि हुँदैन । म सांसद् भएको नै अब साढे दुई वर्ष भयो । तर, संसदीय दलको बैठक त बस्नै छाड्यो । यसले गर्दा यो सांसद भनेको अतिरिक्त अर्काे ठूलो जिम्मेवारी हो र यसले जिम्मेवारी ल्याएको छ कि छैन भन्ने कुरा केही पनि अनुभूत गर्न पाइएको छैन । किनकि हाम्रो पार्टीमा अहिले त कमिटी नै बसेको छैन । 

व्यक्तिगत हिसाबले पार्टी सदस्य भए बापत मजस्तै अरु सदस्यप्रति उत्तरदायी छु । सांसद भए बापत म जनताप्रति उत्तरदायी छु भन्ने व्यक्तिगत रुपमा अनुभूति गरेर जनताको पक्षमा बोल्ने, एक किसिमको काम गर्ने बाहेक त अरु के अनुभव गर्न पाएँ र ? 

 

देशको बागडोर सम्हालेको सबैभन्दा ठूलो तपाईंको पार्टी नेकपामा लामो समय यता विवाद देखिएको छ । युवा नेताको रुपमा यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?

यो पार्टीमा विवाद देखिनु पर्ने समय होइन । चारैतिर असर, समस्या भएको यो समयमा जनतालाई आशा, विश्वास दिलाएर पार्टी नेतृत्वले काम गर्नु पर्ने बेला हो । तर, पार्टीमा त्यस्तो देखिएन । यो पक्कै सुखद होइन ।

अब पार्टी विवाद कहाँबाट सुरु भयो भन्ने कुरा आइहाल्छ, हिजो पार्टी एकता गर्दा दुई पार्टीका अध्यक्षहरू र उहाँहरुका नजिकका मान्छेहरुले विधि, पद्धति, प्रक्रिया र विचारका कुरालाई थाँती राखेर जे मापदण्ड बनाएर पार्टी एकता गर्नुभयो, त्यहाँबाट नै यी समस्याहरु सुरु भएका हुन् ।

अनि ती समस्याहरूले अहिले जटिलता थप्दै आएका छन् । कतिपय भन्छन्, नेकपाभित्र देखिएको यो विवाद विचारको विवाद होइन, अरु नै चिज हो । जे जे भए पनि त्यसको पुनःउत्पादन त विचारै हुन्छ नि । त्यसकारण हाम्रो पार्टीभित्र आजको विवाद मूलतः विचारको विवाद हो । विधि, प्रक्रिया, पद्धतिको विवाद हो, विधि मान्ने र नमान्ने प्रवृत्तिको हो ।

 

पार्टी एकता भएको यतिका समय भइसक्दा पनि किन नेकपाको विवाद पटकपटक चर्किँदै आएको छ ? 

यसअघि पटकपटक मात्र होइन, यो विवाद फेरि पनि पटक–पटक निम्तिने सम्भावना उत्तिकै छ । किनकि पार्टी नेतृत्व कमिटी प्रणालीलाई बेवास्ता गरेर व्यक्तिगत हिसाबले समस्यालाई टालटुल गर्ने हिसाबले अगाडि बढिरहेको छ । यस्तो गर्दा व्यक्तिगत हिसाबले मिलाउन खोजेका कुराहरु खुसामतीमा मिल्छन् ।

खुसामतीमा मिलेका कुरा अर्को मुद्दामा गएपछि बल्झिहाल्छ । त्यसकारण समाधान विधि, प्रकृया, पद्धतिमै खोज्नुपर्छ र कमिटीभित्र खोज्नुपर्छ । जब कमिटी बाहिरबाट विधि, प्रकृयालाई लत्याएर व्यक्तिगत हिसाबले खुसामतीमा विवाद समाधान गर्ने प्रयत्न हुन्छ पार्टीभित्रको यस्तो विवाद पटक–पटक पुनरावृत्ति हुने र अझ डरलाग्दोसँग मुखरित हुने सम्भावना रहिरहन्छ नि । 

 

नेकपासँग दुई तिहाईको बहुमत छ । दुई पार्टी मिलेर सबैभन्दा ठूलो पार्टी बनेको छ । आफ्नै पार्टीको सरकार छ । एकातिर सरकारले काम गर्न सकेन भन्ने गुनासो निकै छ र अर्कोतिर नेकपाभित्रको विवाद बेलाबेला चर्किँदै पनि छ । के नेकपाले बहुमत सम्हाल्न नसकेको हो ?

पहिलो कुरा, सरकारको कामको समीक्षाको पाटो एउटा हो । नेकपा समग्र पार्टी कसरी चल्यो भन्ने विषय अर्काे हो । अरु बाँकी आएका क्रिया र प्रतिक्रिया फरक कुरा हुन् । हामीमा क्रिया, प्रतिक्रिया जस्तो तेस्रो विषयमा हाम्रो ध्यान गएको छ । कसले क्रिया ग¥यो ? कसले प्रतिक्रिया ग¥यो ? प्रतिक्रियाको फेरि अर्काे प्रतिक्रिया जनाउँदै हामीले समय खेर फालेका छौ । 

त्यसकारण सरकारले काम गर्दै गरेन, कामै गरेन यस्तो पनि त होइन होला । साँढे दुई वर्षमा सरकारले महत्वपूर्ण कामहरु पनि गरेको छ । तर, जनतालाई सरकारले काम गरेको छ भनेर कसले भन्दिने ? भन्नलाई त पार्टी चाहिन्छ नि । पार्टीले त्यो कुरा भन्ने हो किनकि पार्टी भनेको नै सरकार र जनताबीचको पुल हो । तर, हाम्रो पार्टीमा यस्तो हुन सकेन । हाम्रोमा त पार्टीका कामहरु, कमिटीहरु, पार्टी सदस्यका क्रियाकलापलाई अवरुद्ध गरियो । अनि प्रधानमन्त्री, पार्टी अध्यक्षले मेरो सरकारले यी यी काम गरेको छ भनेर टेलिभिजनमा बोल्नुपर्‍यो । यसरी प्रधानमन्त्री एक्लैले ७÷७ दिनमा टेलिभिजनमा आएर बोल्दा जनताले पत्याएनन् । फेरि यो व्यक्तिगत प्रचारजस्तो पनि भयो नि ।

यो सरकार हाम्रो पनि सरकार हो, नेकपालाई भोट हालेका जनताको पनि सरकार हो, सबै नेपालीको सरकार हो । सबैले सरकारको अपनत्व लिन पाउनुपर्थ्यो तर, त्यस्तो भएन । हामीले कमिटी प्रणालीलाई मानेको भए, नेकपाका कमिटी तलसम्म क्रियाशिल हुन पाउँथे, सरकारका कमीहरु यसरी छताछुल्ल बजारमा आउन पनि पाउने थिएनन् । हामी आफैँ पनि सामाजिक सञ्जालमा बोल्दैनथ्यौँ होला, कमिटीमा बोल्थ्यौँ होला । अनि समस्याहरूको व्यवस्थापन भित्रै हुने थियो । तर, अहिले पार्टीका कमिटीहरूलाई त अध्यक्षले नै ‘कमिटी भनेको हुल्लड, लठुवाहरुको समूह हो भन्नुहुन्छ, सडक छाप भन्नुहुन्छ ।’ 

पार्टीको अध्यक्षले नै कमिटी मान्नुहुन्न  । सदस्यहरुलाई मान्नुहुन्न त, चिन्नुहुन्न भने यस्तो समस्या आउनु पनि सामान्य नै हो । 

हो, यो सरकारले राम्रो काम गरेको छ भनेर त बाहिर बसेर हामी जस्ताले भन्न पाए पो जनताले पत्याउँथे त । तर, पार्टीको नेतृत्वले नै हामीलाई भन्ने ठाउँ दिँदैन । न हाम्रो पार्टीमा दलको बैठक हुन्छ, न हामीले आफ्नो कुरा नै केही राख्न पाएका छौँ ।

अब त मलाई पनि सरकारले आफ्ना कमिकमजोरी सच्याउँछ भन्ने कुराको विश्वास छैन । यति होल्डिङ देखि अग्नीसम्म आइपुग्दा, शैलुङ कन्ट्रक्शन देखि सेक्युरिटी प्रिन्टिङ प्रेससम्म आइपुग्दा जे भएको छ, यसले मलाई पनि विश्वास भएको छैन कि हाम्रा नेता विधि, प्रक्रिया र पद्धतिमा चल्छन् । हाम्रो पार्टीका दुई अध्यक्षलाई राष्ट्रपति कहाँ लगेर विचौलियाले पार्टीभित्रको आन्तरिक झगडा मिलाउने प्रचलनसम्म आइपुग्दा मलाई लाग्न थालिसकेको छ कि हाम्रा नेताहरुलाई अब विचौलियाहरुले चलाउँछन्, दलालहरूले चलाउँछन्, उनीहरुकै पञ्जाभित्र हाम्रा नेता छन् । म जत्तिको मान्छेलाई यस्तो लाग्दा अरु मान्छेलाई पनि पक्कै यस्तै लाग्छ । त्यसैले पनि हुनुपर्छ, सारा निराशा बाहिर आएका छन् ।

 

यो सब विवाद समाधान गर्न के गर्नुपथ्र्यो ?

यसको समाधान थियो, पार्टीले सरकार सन्चालन गर्ने, पार्टीले टिओआर दिने । पार्टीले एक हिसाबले गाइडलाइनलाई पोलिसीका रुपमा पास गर्ने, त्यसलाई कार्यान्वयन गर्ने । 

तर, प्रधानमन्त्रीले पार्टीलाई जसरी डिनाई गर्नुहुन्छ, यो पार्टी भनेको केही पनि होइन भन्नुहुन्छ, यसले समस्या थपिरहेको छ । उहाँले पार्टी भन्ने चिजलाई जब महत्व दिनुहुन्न तब सरकारका कामबारे पनि तल्लो तहसम्म जान सक्दैन । अब सरकारका विषयसँग मैले राम्रो काम गरेको छु भनेर २२ जना मन्त्री बोलेर तल स्थापित हुने कुरै होइन । यसले गर्दा दुईतिहाइ पनि अब गलपासो भएको छ । मागि सकेपछि जनताले दुईतिहाइ दिए, तर अहिले हामीले जनस्तरमा कुनै परिवर्तन ल्याउन सकेका छौँ कि छैनौँ भन्ने हेर्ने कोही भएन । प्रधानमन्त्रीले कोही मान्छे भोकै मर्दैन, कोही मान्छे भोकै बस्दैन भनेर दुई वर्ष अगाडी बोलेको भिडियो हेरेर त भोको पेट भरिँदैन । 

त्यसकारण सरकारको कार्यशैली असाध्यै अनुदार, कसैलाई नसुन्ने, एक्लै हिँड्ने, पार्टी कमिटीलाई नै नचिनेर, पार्टी कमिटी केही होइन भन्ने भयो । केन्द्रीय कमिटीलाई त एक हिसाबले भन्ने हो भने, विघटन जस्तो गराएको अवस्था अहिले छ । पार्टीलाई निष्क्रिय बनाउने काम नेतृत्वले गरेको छ, अनि पार्टी यसरी नै निष्क्रिय हुने हो भने यसले कुन मेसेज जाने रहेछ भन्ने त यही साढे दुई वर्षले देखाइसकेको छ नि ।

 

तपाईं प्रधानमन्त्रीले पार्टीलाई बेवास्ता गर्नुभयो भन्नुहुन्छ तर प्रधानमन्त्री केपी शर्मा ओलीले त पार्टीले सरकारलाई सहयोग गरेन भन्ने आरोप लगाउँदै आउनु भएको छ नि ?

उहाँले पार्टीभित्र कसलाई सहयोग माग्नुभएको छ त ? सरकार चलाउने सहयोग माग्नु भएको छ ? उहाँले तिमीहरु चाहिँदैन, म नै जान्ने छु भनेर एउटा विषय आयो कि एक घण्टा भाषण दिएर पठाइदिनुहुन्छ । सहयोग पाउनका लागि उहाँले कहिले सहयोग माग्नु भएको छ ? कुन विषयमा सहयोग माग्नु भएको छ ? सरकारको नीति तथा कार्यक्रम बनाउने बेलामा पार्टीको बैठक राख्नुभयो ? छलफल गर्नुभयो ? दलको बैठक राख्नुभयो ? त्यहाँ छलफल गर्नुभयो ? त्यहाँ सहयोग माग्नुभयो ? अथवा सरकारको बजेट आउने बेलामा प्रिबजेटमा सरकारका प्राथमिकताहरु के राखम् भनेर पार्टीसँग छलफल गर्नुभयो ? त्यहाँ पार्टी कमिटी चिन्नुभयो ? केन्द्रीय कमिटी, स्थायी कमिटी राख्नुभयो ? उहाँले केही गर्नु भएन । 

उहाँले पार्टीसँग के विषयमा सल्लाह माग्नुभयो त ? दलका सदस्य, केन्द्रीय सदस्यहरुसँग सहयोग माग्नुभएको छ ? प्रदेश, जिल्ला पार्टीहरुले सिफारिस लेखेर देउ भनेर कहिले भन्नुभएको छ ? के कुरामा सहयोग माग्नु भएको छ प्रधानमन्त्रीज्यूले ? उहाँले म त एक्लै म नै राज्य हुँ, म नै कानुन, संविधान, म नै पार्टी हुँ, म नै सरकार हुँ भनेर हिँड्नुभएको छ । यस्तो गरेपछि उहाँलाई कसले सहयोग गर्ने ? फेरि उहाँ त दिएको सहयोग पनि लिन्नँ भन्नुहुन्छ ।

 

नेकपाको आन्तरिक विवादमा शीर्ष नेतृत्वमै अलि बढी समस्या जस्तो देखिन्छ । बेलाबेला आन्तरिक समीकरण पनि फेरबदल हुने गर्छ । यसलाई पार्टी विधि, पद्धतिको छलफल भन्दा पनि नेताहरुको भागबण्डाको विवादको रुपमा हेरिँदै आएको छ । पार्टी सचिवालयमा शीर्ष नेताहरु रहनुभएको छ । के शीर्ष नेताहरुले पार्टीलाई अगाडी बढाउन असफल हुनुभएको हो ? 

वामदेव गौतम कता लाग्नुहुन्छ, त्यसका आधारमा कसको बहुमत हुन्छ भन्ने आधारमा दृष्टिकोण बनाएर समीकरणका गफ गर्ने यी पार्टीका शीर्ष नेताहरूप्रति त मेरो भनाई केही पनि छैन । किनभने उहाँहरुलाई मैले कुनै अपमान गर्नुपर्ने छैन । तर, यो सचिवालयको औचित्य छ कि छैन भन्ने प्रश्न सोध्ने हो भने आजको दिनमा यसको कुनै औचित्य छैन । पार्टी एकता घोषणा गर्दाखेरि बनेको विधानमा यो सचिवालय भन्ने त विधानले पनि चिन्दैनथ्यो । पछि उहाँहरुले थपथाप गरेको ल्याउनुभएको हो । पार्टीको सर्वाेच्च नेतृत्वदायी बडी भनेकै केन्द्रीय कमिटी हो । केन्द्रीय कमिटीले केही पावर स्थायी कमिटीलाई दिएको छ ।

स्थायी कमिटीले सचिवालयलाई केही पनि पावर दिएको छैन । किनभने सचिवालय भनेको त दिनदिनैका काम सम्पादन गर्ने हो । नीतिगत कुरा त स्थायी कमिटीले गर्ने हो । विधानले नचिनेको कमिटीलाई जुन हिसाबले ल्याएर ‘सिङ जुरो’ तयार उहाँहरुले पार्नुभएको छ, त्यो कहिले कोसँग ठोकिन्छ, कहिले कोसँग भाँच्चिएको छ । त्यसकारण यो सचिवालयबाट पार्टी चल्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन ।

त्यसो त यो सचिवालयको औचित्य समाप्त भयो भन्ने कुरा कमिटीले भन्ने कुरा हो । मैले व्यक्तिगत हिसाबले भन्ने कुरा आएन । त्यो कमिटी बसेर कमिटीमा भन्ने कुरा रहेन । केन्द्रीय कमिटीको बैठक पनि हामीले माग गरेका थियौं । अहिले यो कोभिड १९ महामारीका कारणले गर्दा बैठक बस्न नसक्ने अवस्था रह्यो । हामीले बुझ्ने अवस्था त महामारीका कारण सम्भव भएन । तर, प्रधानमन्त्रीलाई त पार्टीको बैठक बसाउने चाहना नै थिएन । स्थायी कमिटीको बैठक पनि उहाँले बसाउन चाहनुभएन । त्यसैले अब कुनै दिन हाम्रो बैठक बस्यो भने यो सचिवालय भंग गर्नुपर्छ भन्ने ठाउँसम्म पुग्नका लागि अब परिस्थिती क्रमशः बन्दै गएको छ भन्ने लाग्छ ।

 

तपाईंहरुले त हस्ताक्षर अभियान नै सञ्चालन गरेर केन्द्रीय कमिटी बैठक माग गर्नुभयो । तर, यो बैठक माग गरिएको भन्दा निकै पछि मात्र बोलाउने सम्भावना बढेको छ । तपाईंलाई के लाग्छ, किन बोलाइएन केन्द्रीय कमिटी बैठक ?

एक त कोभिड १९ महामारी छँदैछ । अर्कोतिर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले नै यो बैठक चाहनुभएन । स्थायी कमिटीको बैठक बोलाएर त उहाँ आउनुभएन, निवासमा सुतेर बस्नुभयो, केन्द्रीय कमिटी बैठक उहाँले किन बोलाउनुहुन्थ्यो ?

हामीले दबाव दिनका लागि बैठक माग गरेका थियौँ । विधानको व्यवस्था पनि सदस्यहरुले दबाब दिन पाउने सुविधा प्रयोग गरेर हामीले बैठक माग गरेका थियौँ । एक महिनापछि बैठक बोलाउने विधानको व्यवस्था छ । तर, गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नै बैठकबाट भागेर हिँड्नुभयो । कमिटी मान्दैन भनेर त्यसका बारेमा गलत कुरा उहाँले बोल्नुभयो । 

अनि यही समयमा अर्को ड्रामा उहाँहरुले गर्नुभयो– कार्यदल । त्यो कार्यदलको ड्रामाले हाम्रो बैठकलाई पनि पर सारिदियो । कोभिडले भन्दा पनि त्यो कार्यदलको कोपोभाजनमा पर्‍यो, केन्द्रीय कमिटी बैठक । 

 

तर, त्यही कार्यदलले दिएको प्रतिवेदनले अब नेकपामा देखिएको विवाद समाधान हुन्छ भन्नेहरु छन् नि ?

कार्यदलले बुझाएको प्रतिवेदनले समस्या समाधान गर्दैन भन्ने कुराको उद्घोष त स्वयं प्रधानमन्त्री तथा पार्टी अध्यक्षले एक अन्तर्वार्तामा बताइसक्नु भएको छ नि । स्वयं प्रधानमन्त्री तथा अध्यक्ष नै ती सुझावलाई कार्यान्वयन गरेर अगाडी लगेर जाने पक्षमा हुनुहुन्न भने त्यो प्रतिवेदनले समस्या समाधान गर्ला भन्ने कसले विश्वास गर्ने ? 

दोस्रो कुरा समस्या विधि र प्रक्रियामा छ । त्यही विधि र प्रक्रिया मिचेर दुई अध्यक्षले फेरि कार्यदल बनाएर फेरि दुईजना मिलेर आउ भनेर दिएको सुझावले समस्या समाधान गर्छ भनेर कसले विश्वास गर्छ भन्या ? प्रतिवेदनको सार के हो भने, दुईजना अध्यक्ष मिलेर आउ, सहमति गरेर आउ भनिएको छ । त्यसरी दिइएको सुझावले समस्या समाधान कसरी हुन्छ ?

यो कार्यदलले दिएको प्रतिवेदन त स्वयं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कार्यान्वयन गर्न तयार हुनुहुन्न । दोस्रो कुरो, कार्यान्वयन गर्नलाई पनि दुइटा अध्यक्षको सहमति चाहिएको छ । तर, सहमति भएको भए पार्टीमा यो रडाको हुनै नै थिएन नि ।

  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार ६:५९:३४,   अन्तिम अपडेट : भदौ २५, २०७७ बिहीबार १०:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया