ओली–प्रचण्डलाई माधव नेपालको प्रश्न– ‘विधिबिना पार्टी कसरी चल्छ’
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सञ्चालन र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिनेगरी सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । 

यसअघि नै नेकपाको विवाद समाधान सुझाव कार्यदलको प्रतिवेदनमाथि १५ बुँदे असन्तुष्टि जनाएका नेता नेपाल बैठकमा आक्रामक रूपमा प्रस्तुत भए । पार्टी विधि र पद्धतिमा चल्न नसकेको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले उक्त प्रस्तावमा असन्तुष्टि जनाउँदै अध्यक्षद्वयको प्रस्तावमा ‘एक व्यक्ति एक पदको’ व्यवस्था नभएको भन्दै चर्काे असन्तुष्टि जनाए ।

मूलतः ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ लगायतका विषय प्रस्ताव नसमेटिएको भन्दै नेता नेपालले अध्यक्षद्वयलाई प्रश्न गरेको स्थायी समितिका एक नेताले जानकारी दिए । बैठकमा बोल्दै नेता नेपालले भने, ‘पार्टी भनेको विधि, नीति, विधानमा चल्नुपर्छ । विधिबिना पार्टी कसरी चल्छ ? पार्टी एकता भएलगत्तैदेखि पार्टीमा निरन्तर ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को आवाज उठाउँदै आएका नेता नेपालको मुद्दा भने हालसम्म नेकपाले सम्बोधन गरेको छैन । यस विषयमा नेता नेपालले बिहीबार पनि अध्यक्ष प्रचण्डलाई भेटेर असन्तुष्टि व्यक्त गरेका थिए ।

१० असारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकको सुरुआतमै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपछि विवाद उत्कर्षमा पुगेको थियो । विवाद बढ्दै जाँदा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

पछिल्लो पटक गत साउन १३ गते तय गरिएको बैठक अध्यक्ष ओलीले एकलौटी ढंगले स्थगित गरेपछि विवादले उग्र रूप लिएको थियो । सोही दिन अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको २९ सदस्य सहभागी बैठकले ओलीसँग छलफल गरेर पार्टीको विवाद समाधान गर्न भन्दै अध्यक्ष प्रचण्डलाई जिम्मा दिएपछि नेकपाको स्थायी कमिटी अनिश्चित कालका लागि स्थगित गरिएको थियो । 

यसबीचमा पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गरेका थिए । उक्त कार्यदलमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका थिए ।



कार्यदलले एक साता गृहकार्य गरेर प्रतिवेदन बुझाएपछि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रूप दिएका थिए । उक्त प्रस्तावलाई शुक्रबार बसेको बैठकले सर्वसम्मत रूपमा पारित गर्दै बैठक सम्पन्न भएको हो । अध्यक्षद्वयको प्रस्ताव पारित भएसँगै झण्डै झण्डै विभाजनको तहसम्म पुगेको नेकपाको आन्तरिक कलह हालका लागि साम्य भएको छ ।



  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १७:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया