सीमा नाकामा जाँच फितलो

काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गए पनि उपत्यका भित्रिने नाकाहरूमा जाँच फितलो बन्दै गएको छ ।

४ महिना लामो लक डाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं दिनपछि केही खुकुलो भएको छ । नाकाहरूमा पनि जाँच फितलो बन्दै गएको छ । विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको जाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको हो ।

प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ । खाद्यान्न, तरकारी र फलफुल, दूध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारी मात्रै भित्रिन दिए पनि जाँच फितलो देखिएको छ । तर शनिबार नागढुंगा नाका भएर भित्रिने सवारी प्रहरीले जाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइयो । उपत्यका भित्रिने सवारी चालकका कागजपत्र जाँच गर्दा सामाजिक दूरी नै कायम नगरेको पाइएको हो ।

नाकाबाट भित्रिने सवारीको विवरण उपत्यका भित्रिन दिइएको छ । जाँचमा खटिएका सुरक्षाकर्मीले मन लागे कागजपत्र हेर्ने र मन नलागे नहेरी पठाउने गरिएको दृश्य नागढुंगा नाकामा देखिन्थ्यो । उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गर्दा पनि त्यसो हुन सकेको छैन । यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन ।

सरकारले नै जिल्लाभित्र मात्रै छोटो दूरीका सवारी सञ्चालनको अनुमति दिएको छ । लामो दूरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन । उता साँगा नाकामा सवारीको चाप कम देखिए पनि जाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाइँदैन । उपत्यकामा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार मात्रै काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १८:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया