नेपालमा बढ्दै गुणस्तरहीन ह्यान्ड स्यानिटाइजरको व्यापार, विभागको कारबाहीमा परे विदेशीसहित चार कम्पनी

औषधि व्यवस्था विभागले दुई नेपालीसहित चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ ।  काठमाडौँ र ललितपुरमा रहेका उद्योग  तथा चीन, भारतमा बनेका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो । उक्त स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो । यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ ।

ललितपुरमा रहेको सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्टको ५० एमएलको ह्यान्ड स्यानिटाइजरमा ३९.३४ प्रतिशत मिथानोल र १३.३८ प्रतिशत इथानोल रहेको पाइएको छ । त्यसैगरी, श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्रीले काठमाडौँले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको हो ।

बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीत विषाक्त रसायन समावेश रहेको पाइएको विभागले जनाएको छ । 
ती चार कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको विभागको भनाइ छ । यसअघि विभागले काठमाडौँ र चितवनमा सञ्चालित पाँच स्यानिटाइजर कम्पनीको उत्पादन बन्द गर्न निर्देशन दिएको थियो ।
 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १३:१४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया