सुरु भए लामो दूरीका यातायात
फाइल तस्बिर

कोरोना संक्रमणको जोखिमका कारण लामा समयदेखि बन्द रहेका लामो तथा मध्यम दूरीका सवारी साधान आज (बिहीबार) बाट सञ्चालनमा आएका छन् । 

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । यातायात सेवा पनि सोही समयदेखि बन्द थियो । लक डाउन खुकुलो भएपछि छोटो दूरीका सवारी सञ्चालनमा आए पनि लामो दूरीका यातायातका साधन सञ्चालनमा आएका थिएनन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालन गर्न पाइनेछ । असोज १ गते विश्वकर्मा पूजा सकेर गाडीहरु चल्न सुरु भएको व्यवसायीहरुले बताएका छन् । यातायात सञ्चालन गर्दा विगतभन्दा कम अर्थात् कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु राख्न पाइनेछ ।

भाडाका सम्बन्धमा पनि साविकभन्दा ५० प्रतिशत बढाएर लिन पाउने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

स्वास्थ्य सावधानीका उपाय पालना गरे/नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ ।

उपत्यकाभित्र चल्ने यातायातको हकमा जोर विजोर प्रणाली लागु हुनेछ । अर्को आदेश नभएसम्मका लागि जोरबिजोर प्रणाली लागु हुने निर्णय जिल्ला प्रशासन कार्यालयहरूले गरेका हुन् । होटल तथा रेस्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको छ ।



यसअघि बारअनुसार पालो मिलाएर मात्र खोल्न पाउने व्यवसायहरु अब हप्तामा सातै दिन खोल्न सकिने निर्णय पनि प्रशासनले गरेको छ । तर सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।



  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १३:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया