काङ्ग्रेसमा पौडेलको प्रस्ताव सिटौलाले अस्वीकार गरिदिए

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसमा गुटगत भेला पछिल्लो समय बाक्लिँदै गएका मात्र छैनन्, सभापति शेरबहादुर देउवाविरुद्ध अभियान पनि चर्किँदै गएका छन् । विशेषगरि देउवाले गठन गरेका विभिन्न विभागहरु पाटीको विधानविपरित भएको भन्दै देउवाविरुद्ध अरु नेताहरु एउटै मोर्चामा उभिएका छन् ।

पछिल्लो समय देउवाविरुद्धको मोर्चामा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि सिटौलाले साथ दिन थालेका थिए । तर, केही दिन यता पौडेल र सिटौलाको सम्बन्ध बिग्रिन थालेको छ । अब पौडेलले गरेका प्रस्तावलाई सिटौलाले अस्वीकार गर्न थालेका छन् ।

‘पछिल्लो समय नेपाली काङ्ग्रेसका विभिन्न विभागहरुको गठन भइरहेको छ, यो वैधानिक छैन,’ काङ्ग्रेसका एक केन्द्रीय सदस्य तथा सिटौला नजिक नेताले भने, ‘देउवाको यो कदमविरुद्ध एक भएर लड्न पौडेलले सिटौलाको साथ खोजेका थिए । तर, पछिल्लो समय सिटौलाले पौडेललाई साथ दिएका छैनन् ।’

सिटौला र पौडेलबीच केही समयअघि मात्र देउवाविरुद्ध एक भएर लड्ने अनौपचारिक सहमति भएको थियो । तर, देउवाले आफूलाई सहयोग गर्न सिटौलालाई आग्रह गरेको र महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका थप नयाँ गुटहरु सिर्जना हुने परिस्थिति बनेकाले सिटौलाले पौडेललाई साथ दिन छोडेको हुनसक्ने अनुमान कांग्रेस नेताहरुले गरेका छन् ।

‘पौडेल र सिटौला एउटै खेमामा आउनुको कारण हो, देउवालाई कमजोर बनाउनु,’ कांग्रेसका ती नेताले भने, ‘तर, पछिल्लो समय बिमलेन्द्र निधिले नै देउवाविरुद्ध कदम चाल्न थालेपछि देउवा कमजोर भएका छन् । अब पौडेल र सिटौला आआफूलाई बलियो बनाउन लागिपरेका छन् ।’

यही सन्दर्भमा पछिल्लो समय विभिन्न विभागहरु देउवाले गठन गर्न थालेपछि पौडेल तथा सिटौला समर्थक अधिकांश कांग्रेसका केन्द्रीय सदस्यहरुले यसको विरोध सुरु गरेका थिए । यही विरोधस्वरुप पौडेल समूहले धर्ना दिने देखि कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिनेसम्म योजना बनाएका थिए । पौडेलको यो योजनामा साथ दिने संकेत गरेका थिए, सिटौलाले पनि । 



सिटौला, प्रकाशमान सिंह र शशांक कोइरालाको साथ पाएपछि आफ्नो अभियान पूर्ण हुने विश्वासमा थिए, पौडेल । तर, अब रामचन्द्र पौडेलले देउवाविरुद्ध अभियानको हस्ताक्षर गरेको पत्रमा सिटौला समूहका नेताहरुले हस्ताक्षर गर्न मानेका छैनन् ।

‘हामीले यसअघि यसमा हस्ताक्षर गर्ने भनेकै हो,’ कांग्रेसका ती केन्द्रीय सदस्यले भने, ‘तर, अचानक सिटौलाले आफूनिकट नेताहरुलाई यसमा हस्ताक्षर नगर्न भन्नु भएको छ । उहाँको यो निर्देशन किन आयो भन्ने त थाहा छैन, तर यसले पौडेलको रणनीतिलाई थप कमजोर बनाएको छ । देउवालाई थप सहज हुने अवस्थामा पुर्याएको छ ।’
 



  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १४:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया