उत्साहविहीन दसैं : बजारमा चहलपहल शून्य
व्यवसायी भन्छन्– मासुको माग घट्दैन, मदिरामा ५० प्रतिशत ह्रास
दसैंको निकटमा म‌ंगलबार सुनसान देखिएको असन बजार । तस्बिर सौजन्य : कमला अवस्थी

नेपालीहरूको महान् पर्व दसैं संघारमै आइपुगेको छ । कोरोना भाइरसको प्रभावका कारण यो वर्ष बजारमा चहलपहल शून्यप्रायः छ ।

‘अघिल्ला वर्षहरूमा यतिबेला बजारमा चहलपहल निकै बढिसक्थ्यो । दैनिक १० देखि १५ हजारको व्यापार हुन्थ्यो । यसपालि दिनमा एक हजारको व्यापार पनि हुँदैन’, असन छिर्ने बाटोमा फेन्सी पसल भएकी धादिङकी रमिता कार्की भन्छिन् ।

यस्तै असन चोकमा भाँडा पसल भएका नेपालगञ्जका अजमर राई भन्छन्, ‘विगतका दसैंमा तामा, पित्तल चाँदीका जलप लगाइएका भाँडा किन्नेहरूको भीडभाड हुन्थ्यो । यो वर्ष कुनै दिन त ‘बोहनी’ पनि हुँदैन ।’

यी त बजारका प्रतिनिधि ‘आवाज’ मात्रै हुन् । यतिबेला बजारमा चहल–पहल शून्य रहेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले बताए । फरकधारसँग उनले भने, ‘यो वर्ष बजारमा दसैंको कुनै पनि उत्साह छैन । व्यापारीहरू निराश छन् । ग्राहकहरू पीडामा छन् ।’ 

उनकाअनुसार दसैं र तिहारमा मात्रै वर्षभरि हुने कुल ४० प्रतिशत कारोबार हुन्थ्यो । तर, यो वर्ष बजार सामान्य अवस्थामा समेत फर्किन सकेको छैन ।

‘मानिसको क्रयशक्ति निकै कम भएको छ । कयौं व्यापारी नै विस्थापित भएका छन् । मानिसहरूलाई यो वर्ष बाहिरतिर हिँड्ने माहोल नभएकाले पनि माग कम भएको छ’, अग्रवाल भन्छन्, ‘अर्को कुरा हाम्रो उत्पादन पनि ठप्प भएको छ । नेपालको मात्रै होइन कुल आयातको ६५ प्रतिशत हिस्सा ओगटेको भारतीय बजारमा पनि उत्पादन ह्वात्तै घटेको छ । यस्तो अवस्थामा दसैं बजारमा माग र आपूर्ति दुवै छैन ।’



दसैं बजारमा यतिबेला खाद्य सामग्रीको पनि जोहो धमाधम गरिन्थ्यो । यो वर्ष आवश्यक खाद्य सामग्रीबाहेक खास सामग्री कसैले किनेका छैनन् । ग्यास बिक्रेता संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका खुद्रा व्यापारी चन्द्र थापाले फरकधारसँग भने, ‘यो वर्ष बजारमा खाद्य सामग्रीको पनि कुनै चहलपहल छैन ।’

थापाले यो वर्ष बजारमा ग्यासमा भने कुनै अभाव नहुने जानकारी दिए । 



मासुको माग भने घटेन

दसैं बजारमा चहलपहल घटे पनि यो वर्ष मासुको मागमा भने त्यति कमी नआएको बताइन्छ । गत वर्षमा मासु बजारमा काठमाडौं उपत्यका मात्रै दसैंमा ६० देखि ७० हजार खसीबोका, च्याङ्ग्राको माग हुने गरेकोमा यो वर्ष पनि नघट्ने व्यवसायीको अनुमान छ ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष श्यामकुमार पोखरेलले अरु चीजको माग घटे पनि मासुको बजारमा कमी नआउने बताए । उनले भने, ‘लकडाउन सुरु हुँदादेखि नै हामीले विचार गरेका छौं । खसीको माग अन्य वर्षको भन्दा घटेको छैन । बरु बढेको छ । दसैंमा पनि घट्छ भन्ने लाग्दैन ।’

उनले व्यवसायीका तर्फबाट यो वर्ष ५० देखि ६० हजार खसीबोका काठमाडौं भित्र्याउने तयारी भइरहेको बताए । यता खाद्य विभागले यो वर्षका लागि २ हजार खसीबोका र च्याङ्‍ग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।

मदिरा बजारको माग ह्वात्तै घट्यो

मानिसको क्रयशक्ति घट्दा यो वर्ष मदिराको माग भने ह्वात्तै घटेको व्यवसायी बताउँछन् । मदिरा बिक्रेताहरूका अनुसार यो वर्षको दसैंमा ५० प्रतिशतभन्दा बढी मदिराजन्य पदार्थको माग घटेको छ । एक व्यापारी भन्छन्, ‘मानिसहरूलाई सर्भाइबको समस्या छ ।  मनोरञ्जन टाढाको कुरा हो नि । यो वर्षको दसैं यही हो ।’

सुपथ मूल्य पसल बिहीबारदेखि

सरकारले दसैंलाई लक्षित गर्दै असोज १५ गते बिहीबारबाट सहुलियत मूल्यको पसल सञ्चालन गर्न लागेको छ । 

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिनेछ ।

कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै यो वर्षको सुपथ मूल्य सञ्चालन गर्दा पुरानै बिक्री काउन्टरबाट गरिनेछ । गत वर्ष सुपथ मूल्य बजारमा अनुमति पाएका कम्पनीहरूले एउटै छानामुनि बसेर बिक्री–वितरण गर्ने गरेकोमा यो वर्ष अनावश्यक भीड नियन्त्रण गर्न आफ्नै काउन्टरबाट मात्रै बिक्री–वितरण गर्न पाउने भएका हुन् ।

सुपथ मूल्यका पसल छठ पर्वको भोलिपल्ट बन्द गरिनेछन् । 

कम्पनीले दसैंका लागि काठमाडौं ल्याउन लागेको २ हजार खसीबोका र च्याङग्राको बिक्री वितरण थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन अघिदेखि बिक्री गर्ने जनाएको छ ।

  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १५:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया