मलेसियामा रहेका नेपालीलाई अपहरण गरी फिरौती उठाउने व्यक्ति पक्राउ परको छन् । मोरङका दुर्गाबहादुर श्रेष्ठ उर्फ डेबिड पक्राउ परेका हुन् ।
उनलाई मंगलबार काठमाडौं महाराजगन्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले जानकारी दिएको छ। सिआइबी प्रमुख सहकुल थापाका अनुसार मलेसियामा होटल सञ्चालन गर्दै आएका श्रेष्ठले मलेसियामै काम गर्ने दाङका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएका थिए।
श्रेष्ठले रैदासकी श्रीमतीलाई फोन गरी आफ्नो खातामा ६० हजार रिङगेट हालिदिन भनेका थिए । आफूले भने अनुसार रकम नपठाए मारिदिने धम्की पनि दिएका थिए।
श्रीमानलाई मारिदिने धम्की दिएपछि रैदासकी श्रीमतीले फिरौती बापत १५ लाख ९२ हजार श्रेष्ठको खातामा पठाएकी थिइन् । त्यसपछि मात्रै उनले रैदासलाई छाडेका थिए। अपहरण मुक्त गरे पनि राहदानी कब्जामा लिई रैदासलाई नेपाल आउन वञ्चित गराइएको सिआइबीले जानकारी दिएको छ ।
मंगलबार जिपमा चढेर महाराजगन्जबाट रानी पोखरीतर्फ आउँदै गरेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएका प्रहरीले जनाएको छ ।
श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपालीलाई धम्क्याउने, रकम असुल्ने कुटपिट जस्ता गतिविधिसमेत गरेको पाइएको सिआइबी प्रमुख थापाले बताए ।
अहिले सिआइबीको हिरासतमा रहेका श्रेष्ठ अन्य अपराधमा संलग्न रहेको हुनसक्ने देखिएकोले सो समेत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।