अमेरिकामा शरणार्थी भित्रिन कटौती गर्ने ट्रम्पको योजना

ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । 

अमेरिकी तल्लो सदन कंग्रेसमा पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालु वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । यस वर्ष १८ हजारलाई शरणार्थीका रुपमा अमेरिकामा प्रवेश दिइने प्रस्ताव गरिएको थियो । 

तोकिएको संख्याभन्दा यस वर्ष केही कम अर्थात् १० हजार ८०० ले शरणार्थीका रुपमा अमेरिका प्रवेश पाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

ट्रम्प प्रशासनको पत्रका बारेमा कंग्रेसमा छलफल हुनेछ । कंग्रेसले शरणार्थीको संख्या कटौती गरेकामा आपत्ति जनाएको छ, तर ट्रम्प प्रशासनले गरेका निर्णय विरुद्ध कंग्रेस जान सक्ने सम्भावना कमै छ ।

अमेरिकी राष्ट्रपतिले मिनेसोटाको डुलुथमा आयोजित चुनावी सभामा शरणार्थीको संख्या कटौती गर्ने आफ्नो पूर्वघोषित नीति रहेको बताउँदै विपक्षी डेमोक्रेटिक पार्टीका जो बाइडेन मुलुकमा अधिकाधिक विदेशी भित्र्याउन चाहने व्यक्ति भएको बताए ।

उनले भने, ‘बाइडेनले मिनेसोटा राज्यलाई शरणार्थी शिविर बनाउन चाहनुहुन्छ, र यसबाट सरकारी स्रोतसाधनको बढी खर्च हुने, विद्यालयहरुमा बढी विद्यार्थी हुने तथा अस्पतालमा बिरामीको चाप बढ्ने हुन्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।’



राष्ट्रपति ट्रम्पले कोरोना महामारी सुरु भएपछि गत मार्चदेखि शरणार्थीको प्रवेशलाई रोकेका छन् । उनले कोरोनाभाइरसबाट क्षति पुगेको अर्थतन्त्र र रोजगारीलाई शरणार्थी भित्र्याएर थप संकटमा पार्न आफूले नचाहेको स्पष्ट पारे । 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले विश्वका संकटग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन अमेरिका सदैव तत्पर रहेको बताउँदै आगामी दिनमा पनि अमेरिकाले यस्तो सहायतालाई निरन्तरता दिने जानकारी दिए ।



  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १८:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया