नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण आवश्यक

नेपाल शिक्षक महासंघले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । २७ औं विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल छलफलमा महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ पाठ्यक्रम हुनुपर्छ भन्ने पक्षमा रहे पनि शिक्षकलाई तयारी नगराउँदा यसको सही कार्यान्वयन हुन नसक्ने स्पष्ट गरे ।

सो तहमा कार्यान्वयनमा ल्याउन नसकिने खालका धेरै ऐच्छिक विषय समावेश नगर्न पनि उनले आग्रह गरे । नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्ले २०७६ भदौ २० गते संविधान र सङ्घीयता अनुकूल हुने गरी विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप ल्याएको थियो ।

नयाँ व्यवस्थाअनुसार कक्षा १० पछि माध्यमिक शिक्षाको निरन्तरता स्वरुप कक्षा ११ लाई जोड्दै ११ र १२ कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ । पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रदेखि यसको कार्यान्वयन शुरु भएको जनाइसकेको छ ।

अध्यक्ष थापाले नयाँ पाठ्यक्रम प्रणालीअनुसार शिक्षकलाई सेवा आयोगको परीक्षामा भाग लिने योग्यताबारे तालमेल मिलाउन शिक्षा सेवा आयोगको नियमावली समेत परिवर्तन गर्न माग गरे ।

छलफलमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक रुपान्तरणका लागि शिक्षक र शिक्षा पत्रकार कुनै न कुनै रूपमा एउटा बिन्दुमा उभिनुपर्नेमा जोड दिए । 

 





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १५:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया