पूर्वमाओवादीतर्फका तीनबाहेक अन्य मन्त्री हटाउने प्रचण्डको प्रस्ताव
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् । यसै सन्दर्भमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । 

केही दिनयता दुई अध्यक्षबीच जारी छलफलमा कुनै ठोस निष्कर्ष भने निस्कन सकेको छैन । बिहीबार पनि नेकपाका दुई अध्यक्ष ओली–प्रचण्डबीच भेटवार्ता भएको छ । छलफलमा मन्त्रीपरिषद् पुनर्गठन गर्दा कुन मापदण्डमा गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । 

यसैबीच नेकपाका अध्यक्ष प्रचण्डले नयाँ प्रस्ताव अगाडी सारेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले हाल सरकारमा रहेका पूर्वमाओवादी तर्फका तीन जना मन्त्रीबाहेक सबै मन्त्रीहरु हटाउने प्रस्ताव गरेका हुन् । यसै विषयमा प्रचण्डले आफ्ना निकट नेताहरुसँग केही दिन पहिले परामर्श समेत गरेका थिए । 

अध्यक्ष प्रचण्डले पूर्व माओवादीका तीन जनाबाहेक सबै मन्त्री हटाउने र नयाँ अनुहारलाई मन्त्रीको जिम्मेवारी दिने प्रस्ताव ओलीसमक्ष राखेको स्रोतले जनाएको छ । बिहीबारको छलफलमा आफ्नो निष्कर्ष यही रहेको भन्दै ओलीलाई जानकारी गराएका थिए। 
स्रोतका अनुसार प्रचण्डले गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरबाहेक पूर्व माओवादीका सबै मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका छन् । 

यी तीन जनाबाहेक हाल मन्त्रिपरिषद्मा पूर्व माओवादी तर्फका ४ मन्त्री छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सरकारबाट हटाउने प्रस्ताव प्रचण्डले गरेको स्रोतको भनाइ छ । 
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पु¥याएका बेला प्रचण्डले यस्तो प्रस्ताव गरेको स्रोतले जनाएको छ । 

मन्त्री बनाउन नयाँ नाम प्रस्ताव



स्रोतका अनुसार प्रचण्डले मन्त्री बनाउन नयाँ नाम प्रस्ताव गरेका छन् । बिहिबार ओलीसँगको भेटमा प्रचण्डले जर्नादन शर्मा, देव गुरुङ, मात्रृका यादव, पम्फा भुसाललाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । प्रचण्डले अगाडी सारेका नामको सन्दर्भमा प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनमा सहमति नभए रिक्त रहेका तीन मन्त्री मात्रै थप्ने तयारीमा छन् । अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय अहिले खाली छ । ती मन्त्रालयमा मात्र मन्त्री थप गरेर बाँकी मन्त्रीपरिषद्को पुनर्गठन दसैंपछि गर्ने ओलीको तयारी छ । 



ओलीले पार्टी महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री र बाँकी मन्त्रालयमा सुरेन्द्र पाण्डे वा जनार्दन शर्मालाई जिम्मेवारी दिने तयारी गरेका छन् । 
मन्त्रिपरिषद पुनर्गठनका सम्बन्धमा बिहिबार प्रचण्डले नयाँ प्रस्ताव अगाडी सारेपनि ओली–प्रचण्डबीच कुनै सहमति नभएको स्रोतको भनाइ छ । 

  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार २२:१९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया