रामलाल जोशीका पाँच प्रिय पात्र
फरकधार / २४ असोज, २०७७

रामलाल जोशी अब नेपाली साहित्यमा स्थापित नाम भइसकेको छ । धनगढी, कैलालीका यी लेखकको पुस्तक ऐनाले ४ वर्षअघि मदन पुरस्कार जितेपछि उनी झन् चर्चामा आए । 

त्यसपछि उनको सखी नामको उपन्यास प्रकाशित भएको छ । 

नेपाली साहित्यमा सुदूरपश्चिमका मिथ र समाजलाई प्रकाशमा ल्याएका जोशीसँग फरकधारका कमल विष्टले प्रश्न गरेका छन्– तपाईंलाई मन पर्ने पाँच पात्र कुन हुन् र किन ? 

जोशीले भने– 

तीन घुम्तीकी इन्द्रमाया

‘तीन घुम्ती’ उपन्यासकी इन्द्रमाया मलाई मन पर्ने पात्र हुन् । एउटा अस्तित्ववादी पात्रको रुपमा उनलाई म लिन्छु । बिपी कोइरालाको ‘तीन घुम्ती’ उपन्यासकी इन्द्रमायालाई म बारम्बार सम्झिरहन्छु । मेरा निम्ति उनी किताबबाट ओर्लेर मानवलाई संघर्ष, अस्तित्व र स्वनिर्णयको पाठ सिकाउने पात्र हुन् । बा–आमाले ‘मारे पाप, पाले पूण्य’ भन्दै छोरी सुम्पने जमानामा उनले आफ्नो अस्तित्व बोध र स्वनिर्णयबाट जात नमिल्ने पीताम्बरसँग बिहे गर्ने साहस देखाइन् । 

त्यो समयको कट्टर नेवार परिवारकी कन्याले ब्राह्मण केटा रोज्नु चानचुने विद्रोह थिएन । राजनीतिमा लागेका पीताम्बर जेल परेपछि इन्द्रमाया पीताम्बरकै राजनीतिक साथी रमेशको आत्मीयतामा पर्छिन् । रमेशको आत्मीयताबाट जैविक आवश्यकता पूर्ति गरेपछि इन्द्रमायाले छोरी जन्माउँछिन् । समाजद्वारा निषेधित सम्बन्धबाट जन्मिएकी छोरीलाई उनी आफ्नो निर्णयको प्रतिफल मान्छिन् र दिलोज्यानले छोरी हुर्काउन थाल्छिन् । यो घटनामा उनलाई कुनै ग्लानी हुँदैन, कुनै क्षोभ उनी पाल्दिनन् । 

तीन वर्षपछि जेलबाट छुटेर आएका पीताम्बरले इन्द्रमायालाई आफू र छोरीमध्ये एक जना रोज्ने विकल्प दिन्छन् । यो खसमा इन्द्रमायाका लागि चुनौति पनि थियो । इन्द्रमायाले सहज रूपमा पीताम्बरलाई अस्वीकार गरेर आफ्नो निर्णयप्रति जवाफदेही हुँदै स्वाभिमानी नारीको परिचय दिन्छिन् ।

इन्द्रमायाकी छोरी ठूली हुन्छिन्, इन्द्रमायालाई ती उमेरका यादहरु दिँदै जान्छिन् । जीवनमा आइपरेका तीन चुनौतीपूर्ण घुम्तीमा इन्द्रमायाले निर्णय गर्दा आफ्नो मनको आवाज सुन्छिन् । आफूले गरेका सही वा गलत निर्णयहरूको परिणाम स्वीकार्दै आफू हुनुको अस्तित्व बोध गर्छिन् । त्यसैले पनि मेरालागि अस्तित्ववादी जीवनको एक प्रतीक हुन्, मेरा लागि अविस्मरणीय पात्र हुन् ।

 

माधवीकी माधवी 

मदनमणि दीक्षितको उपन्यास माधवीकी माधवी मलाई मन पर्ने अर्की नारी पात्र हुन् । यायातीकी पुत्री माधवीले जुन अदम्य साहस प्रस्तुत गर्छिन्, त्यसले मेरो मन जितेको छ । गुरु विश्वामित्रले अश्वेमेघ यज्ञका लागि आफूलाई चार ओटा श्यामकर्ण घोडा गुरु भेटीका रुपमा उपलब्ध गराउनु पर्ने माग राखेपछि उपाय विहीन भएर गालव यायातीकहाँ सहयोगको याचना गर्दै उनी पुग्छिन् । 

माधवीले यसका लागि ठूलो त्याग गरेकी छिन् । कथामा उनी चार राज्य घुम्छिन्, ती चार राज्यका राजालाई उनी रिझाउँछिन् । अनि चारै राज्यका राजाको सन्तान जन्माउँछिन् । अनि उनले चारवटा श्यामकर्ण घोडा पाउन पनि सहयोग गर्छिन् । माधवीले गालवकी प्रेमिकाको रुपमा जुन त्याग र सहयोग गरेकी छिन्, त्यो अविस्मरणीय छ । त्यति उदाहरण पेश गरेर माधवीले नारीहरु पुज्य हुन्छन् र सर्वशक्तिमान हुन्छन् भन्ने प्रमाणित गरेकी छिन् । पौराणिक कालमा महिलाहरु पुज्य हुन्छन्, सर्वशक्तिमान हुन्छन्, पुरुषहरु धेरै कुराको प्राप्तिका लागि नारीमा निर्भर हुन्छन् भन्ने गतिलो उदाहरुणका रुपमा उनी प्रस्तुत भएकी छन् । माधबीले निर्वाह गरेको भूमिका मलाई निकै महत्वपूर्ण लाग्छ । 

 

बसाइँको मोटे कार्की

लीलबहादुर क्षेत्रीको बसाइँ कालजयी कृति हो । नेपालीहरु कसरी मुग्लान पस्न विवश भए भन्ने कुरा अत्यन्त मार्मिक ढङ्गले त्यसमा चित्रण गरिएको छ । नेपाली समाजको गरिबी र निम्नवर्गीय पात्रको कारुणिक जीवन कथाले मन रुवाउँछ । त्यसमा आएका पात्रहरुमा मोटे कार्की एक विशाल हृदय भएको पात्र हो । उसलाई उपन्यासमा एउटा विशाल र सहयोगी मन भएको पात्रका रुपमा चित्रिण गरिएको छ ।

साहरा कोही नभएको मोटे कार्की विवाह नगरी बसेको हुन्छ । पाए झुमालाई बिहे गर्ने उसको भित्री चाहना हुन्छ । तर झुमा उसलाई टेरपुच्छर लाउँदिन । उपन्यासको मूल पात्र धनेले गरिवीकै कारण जवान बैनी झुमाको बिबाह गर्न सकेको हुँदैन । त्यहीबेला विदेशमा लाहुरेको रुपमा काम गर्ने रिकुटेले गाउँ आउँदा झुमालाई देखेर लोभिन्छ । एक दिन जंगलमा झुमालाई फकाएर म तिमीलाई बिहे गर्छु, विदेशमा लग्छु भनेर फकाउँछ । प्रेम देखाउँछ र झुमाको अस्तित्व लुट्छ । झुमालाई गर्भवती बनाउँछ । स्वार्थपूर्ति गरिसकेपछि झुमालाई अलपत्र पारेर रिकुटे भाग्छ । 

रिकुटेको गर्भ बोकेकी झुमा रिकुटेबाट धोका पाएपछि मर्न जान्छे । राती खेतमा पानी लाउन गएको मोटे कार्कीले झुमालाई मर्नबाट मात्रै जोगाउँदैन, उसको पेटको गर्भसमेत स्वीकारेर झुमालाई पत्नीका रुपमा अपनाउँछ । झुमालाई जीवनदान दिएको मोटे कार्कीको यो सहयोगी मनले मलाई लोभ्याएको हो । नपढेको, नलेखेको एउटो सोझो मान्छेमा पनि यति धेरै महानता र ठूलो हृदय हुन्छ भन्ने उसको चरित्रले मलाई निकै लोभ्याएको हो ।

 

चाणक्यको चाणक्य

चाणक्य हिन्दी साहित्यका उपन्यासकार सत्यकेतु विद्यालङ्करको बहुचर्चित उपन्यास हो । आचार्य चाणक्यको जीवनीमा आधारित यस उपन्यासमा ज्ञान र नीतिज्ञ मात्र होइन एउटा साहसी, धीर र वीर पात्रको रुपमा आचार्य चाणक्यको भूमिकाले उनी अजर अमर बनेको उदाहरण छ । 

आचार्य चाणक्य तक्षशीला विश्वविद्यालयका गुरु मात्र होइन, प्राचीन मगध राज्यका संरक्षकका रुपमा समेत देखिएका छन् । ससाना राज्यमा विभक्त प्राचीन भारतका राज्यहरुमा ग्रीसेली सम्राट सिकन्दरको आक्रमणलाई परास्त गरेर पाटली पुत्रको नेतृत्वमा ससाना राज्यलाई एक गरी आर्य राज्यको अस्तित्व बचाए ।

चन्द्र गुप्त मौर्यलाई सम्राटका रुपमा स्थापित गराई पतन उन्मुख मगध राज्यको अस्तित्व उनैले बचाए र महान भारतीय सभ्यताको रक्षा गरे । एक राजनीतिज्ञको रुपमा आफ्नो अद्भूत साहस र भूमिका निर्वाह गरिसकेपछि अन्त्यमा तक्षशीला विश्वविद्यालयमै फर्केर उनले आचार्यका रुपमा महान गुरुको भूमिका निर्वाह गरे । आजका सम्पूर्ण राजनीतिज्ञले पढ्नु पर्ने उपन्यास सत्यकेतु विद्यालङ्करको ‘ चाणक्य’ हो भने अनुकरण गर्नुपर्ने पात्र पनि आचार्य चाणक्य हुन् । मेरो मानसपटलमा गहिरो प्रभाव पारेका पात्र चाणक्य हुन् ।

 

द्रौपदीकी द्रौपदी

डा. प्रतिभा रायको बहुचर्चित र धेरै भाषामा अनुवाद गरिएको उपन्यास ‘द्रौपदी’ हो । यसलाई बिन्दया सुब्बाले नेपालीमा अनुवाद गरेकी छिन् । यस उपन्यासकी मूल पात्र द्रौपदी हुन् । द्रौपदी महाभारतकी समेत मूल पात्र हुन्, जो अग्नीकुण्डबाट उत्पन्न भएकी हुन् । महाभारतकी तिनै मुख्य पात्र वरिपरि यो उपन्यास घुमेको छ । 

एक अवला नारीका रुपमा उनको आत्मस्वीकृति र उनले महसुस गरेको जीवन भोगाइ अनुभूत गर्न सकिन्छ कि देखिने द्रौपदी र नदेखिने द्रौपदी फरक फरक छन् । बाहिरी भूमिकामा देखिने द्रौपदी भन्दा भित्र भित्रै जल्ने छट्पटाउने र दुखको आहालमा डुबेकी द्रौपदीको आत्म पीडाले पाठकका भित्रभित्रै आँसुको मूल फुटाउँछ । 

उनले भोगेको जीवन जस्तो भएपनि उनी देखावटी रुपमा आफ्नो आदर्श चरित्र कहिल्यै छोड्दिनन् र उनी किञ्चित कर्तव्य र जिम्मेवारीबाट पछाडि हटिनन् । चाहे पाँचवटा पतिको पत्नीका रुपमा एक भोग्या नारीका रुपमा उनले अपमान पूर्वक निर्वाह गर्नु परेको भूमिका होस् चाहे कुरुसभामा निर्वस्त्र पारिएर सहनु परेको बेइज्जत होस्, नारी जीवनका सबै अभिशाप र अपमानका विष पिएर पनि उनले सत्य, निष्ठा धर्म र आदर्शको बाटो छोडिनन् र संसारबाट पाप र अन्यायलाई पराजित गराएर धर्मलाई विजय गराउन उनले ठूलो संघर्ष र त्याग गरिन् । उनको यही चरित्रको गहिरो प्रभावले मेरो मनमा उनी सदा बस्नेछिन् । द्रौपदीले त्यो कालखण्डमा भोग्नु परेको नियति र गर्नु परेको संघर्ष आज पनि धेरै नारीहरुले भोगिरहेकै छन्, समाजमा ।

  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार १०:५९:१५,   अन्तिम अपडेट : असोज २४, २०७७ शनिबार ११:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया