मन्त्रीज्यू मास्क खै ? किन लापरबाही ? सर्वसाधारणलाई मात्रै गाली ?

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण देखिएको छ । संघीय सरकारको मन्त्रीमा कोरोना संक्रमण देखिने भट्टराई पहिलो हुन् । 

मन्त्री भट्टराई स्वयंले सामाजिक सञ्जालमार्फत गराएको जानकारी अनुसार असोज १९ गत मात्रै पनि उनको स्वाब परीक्षण गरिएको थियो । त्यतिबेला नेगेटिभ रिपोर्ट आएपछि राजधानीबाहिरका केही कार्यक्रम भाग लिन गएको उनले जानकारी दिएका थिए । 

शुक्रबारदेखि बेलुका निवास फर्किँदा हल्का ज्वरोको महसुस भएको र शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् ।  

मन्त्री भट्टराईले पछिल्ला दिनमा फेसबुकमा सेयर गरेका तस्बिर हेर्दा उनले सरकारले नै तोकेका स्वास्थ्यका मापदण्ड पालना गर्ने निकै नै हेलचेक्रयाइँ गरेको देखिन्छ । 

शनिबार कोरोना संक्रमण पुष्टि भएका मन्त्री भट्टराईले शुक्रबार(२३ गते) मात्रै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेटघाट गरेको तस्बिर फेसबुकमा सेयर गरेका छन्। 



त्यसमा हेर्दा भट्टराईले न मास्क लगाएको देखिन्छ न भेटघाट गरेको व्यक्तिसँग भौतिक दूरी नै कायम गरेका छन् । सो भेटघाटका क्रममा राजदूत क्वात्रासहित अन्य तीनजनाले मास्क लगाउँदा मन्त्री भट्टराईले चाँहि मास्क लगाएका छैनन् । 



२१ गते भट्टराईले फेसबुकमा सेयर गरेको तस्बिरमा पनि उनले मास्क लगाएका देखिँदैन। ताप्लेजुङकाे ओलाङ्चुङगोला र संखुवासभाको किमाथान्कास्थित नेपाल–चीन सीमा नाकामा सशास्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापना गर्ने कार्यक्रमको उद्घाटन गर्दाको तस्बिर मन्त्री भट्टराईले सेयर गरेका छन् ।

सुररक्षाकर्मीसहित थुप्रैकाे उपस्थितिका बीचमा देखिएका छन्,भट्टराई । उनले त्यहाँ मन्तव्य राख्दै गरेका अन्य उपस्थित तथा अतिथिसँगै बसेका तस्बिरहरु छन् । ती कुनै पनि तस्बिरमा मन्त्री भट्टराईले मास्क लगाएको देखिँदैन । 

त्यहाँ सहभागी अन्य धेरैले मास्क लगाएका छैनन् । ती ठाउँमा कोरोना संक्रमण खासै नदेखिएकाले पनि त्यस्तो गरेको हुनसक्छ । तर, कोरोना संक्रमणको हटस्पट बनिरहेकाे काठमाडौंबाट गएका मन्त्री भट्टराईले त्यसरी लापरबाही गर्दा त्यहाँका अन्य व्यक्ति कति जोखिममा परे ? सायद आफूमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसको आकलन मन्त्री भट्टराईले गरे होलान् । 

मन्त्री भट्टराईले असोज १९ पनि आफ्ना मास्कविहीन तस्बिर सार्वजनिक गरेका छन् । यसमा भट्टराईले आफू सहभागी दुई कार्यक्रमका फोटो पोस्ट गरेका छन् ।  असोज १५ गते १९ गते कार्यक्रमका ती तस्बिरमा पनि मन्त्री भट्टराई मास्क लगाएको अवस्थामा देखिँदैनन् ।

१. सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नति गर्न केन्द्र र प्रदेश सरकारका बीचमा लागत साझेदारी पत्रमा हस्ताक्षर कार्यक्रम असोज १५ गते।

.विराटनगर विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि केन्द्र, प्रदेश र विराटनगर महानगरपालिका बीचमा लागत साझेदारी पत्रमा हस्ताक्षर, असोज १९ गते ।

भटराईले १९ गते नै स्वाब परीक्षण गरेको जानकारी दिएका छन् ।  परीक्षणका लागि स्वाब दिएर मन्त्री भट्टराई किन विराटनगर पुगे र सार्वजनिक कार्यक्रममा भाग लिए ? जब कि स्वास्थ्य मन्त्रालयले शंका लागेर स्वाब परीक्षणका लागि दिएपछि कतै नहिँड्न र रिपोर्ट नआउन्जेललका लागि अनिवार्य क्वारेन्टाइनमा बस्न बारम्बार आग्रह गरिरहेको छ। 

सरकारले बनाएको नियम सरकारकै मन्त्रीलाई चाहिँ लागू हुँदैन ? कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको छ । मृत्यु हुने संख्या पनि बढिरहेको छ । 

सर्वसाधारणह सचेत नभएकाले संक्रमण बढेको आरोप सरकारले लगाइरहेको छ । स्वास्थ्य मन्त्रालयकाे प्रेस ब्रिफिङमा प्रवक्ताले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, विनाकाम कतै नहिँड्न आग्रह गरिरहेका छन् । स्वास्थ्यका मापदण्ड पालना नगरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने चेतावनी पनि दिइरहेका छन् ।

अनि यी सबै आग्रह, चेतावनी सर्वसाधारणका लागि मात्रै हो ? यस्तो जोखिमका वेलामा प्रधानमन्त्री सचिवालयकै व्यक्तिमा संक्रमण देखिइरहेका वेला उद्घाटन, शिल्लान्यासका कार्यक्रममा गएर विनामास्क सहभागी हुने मन्त्रीज्यूलाई जिम्मेवार बनाउने कसले ?

  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १८:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया