कर्णालीको तरंगले केन्द्रमा हलचल : शीर्ष नेता सक्रिय
संसदीय दल बैठकको तयारी भइरहँदा प्रमुख सचेतकको बर्खास्तगी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रमा आन्तरिक विवाद समाधान भएको महिना नपुग्दै कर्णाली प्रदेशमा पुनः अर्को समस्या उत्पन्न भएको छ । आइतबार कर्णाली प्रदेशसभाका नेकपाका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव ल्याएपछि त्यो तरंगले केन्द्रमा हलचल उत्पन्न गरेको छ । 

प्रदेश सभामा देखिएको विवादले केन्द्रमा समेत असर गर्ने देखिएको छ । तत्कालीन एमाओवादी केन्द्र र नेकपा एमालेका बीचमा आफ्नो वर्चस्व भएका ६ प्रदेशमध्ये ४ प्रदेश पूर्वएमालेलाई र २ प्रदेश पूर्वमाओवादीलाई दिने गरी भागबण्डा गरिएको थियो । तर, आइतबार नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेपछि यसले केन्द्रीय राजनीतिमै हलचल ल्याएको छ । कर्णालीमा देखिएको विवादले काठमाडौंमा रहेका नेकपाका शीर्ष नेतालाई समेत तरंगित बनाएको छ ।

संविधानअनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ । संसदीय दलको विधानमा अविश्वासको प्रस्ताव आएको अवस्थामा १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । सोही विषयमा छलफल गर्न नेकपा प्रमुख सचेतक शाहले मंगलबार १ बजेका निम्ति संसदीय दलको बैठक समेत बोलाएका थिए ।  

छलफल सुरु नहुँदै प्रमुख सचेतकको बर्खास्तगी

संसदमा दर्ता भएको अविश्वास प्रस्ताव छलफल नहुँदै मुख्यमन्त्री शाहीले नेकपाका प्रमुख सचेतक गुलाबजंग शाहलाई बर्खास्त गरेका छन् । शाहीले उनको ठाउँमा सांसद सीता नेपालीलाई नियुक्त गरेका छन् । आइतबारको मिति राखेर मुख्यमन्त्री शाहीले उक्त निर्णय सोमबार सार्वजनिक गरेका हुन् । शाह पूर्वएमाले पक्षका हुन् भने नेपाली पूर्वमाओवादीकी सांसद हुन् । उनी यसअघि नेकपा संसदीय दलकी सचेतक थिइन् ।



अविश्वासको प्रस्ताव दर्तापछि उहाँ दलको नेता होइनः गुलाबजंग शाह

मुख्यमन्त्रीले प्रमुख सचेतकबाट हटाउनुअघि फरकधारसँग कुराकानी गर्दै शाहले त्यो प्रस्तावमाथि बैठकमा नै छलफल हुने बताएका थिए । ‘नेकपाका ३३ सांसदमध्ये १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उहाँ(मुख्यमन्त्री) अहिले दलको नेताको रुपमा रहनुभएन,’ प्रमुख सचेतक शाहले भनका थिए, ‘त्यस्तो अवस्थामा प्रमुख सचेतकको अध्यक्षतामा बैठक बस्ने भयो । बैठकले उक्त  प्रस्तावमाथि छलफल गर्छ । छलफलमा अब साथीहरुले के भन्नुहुन्छ, त्यहीअनुसार अघि बढ्छौँ ।’ 



४० सदस्य रहेको प्रदेशसभामा सभामुखसहित ३३ जना सदस्य नेकपाका मात्रै रहेका छन् । जसमध्ये पूर्वएमालेका २० र पूर्वमाओवादीका १३ जना छन् । 

नेकपाका नेता यमलाल कँडेलको नेतृत्वमा ३ पूर्वमाओवादी सांसदसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । सांसद कँडेलले पूर्वएमालेतर्फका सांसदलाई करिब आफ्नो पक्षमा ल्याइसकेकोको भए पनि अविश्वासको प्रस्तावमा पूर्वएमाले तर्फबाट सरकारमा रहेका मन्त्री प्रकाश ज्वाला, दल रावल, नन्दसिंह बुढा, सभामुख राजबहादुर शाही र प्रमुख सचेतक गुलाबजंग शाहले हस्ताक्षर गरेका छैनन् । 

ओलीलाई भेटेर प्रचण्डले भने– कर्णालीमा जे भयो बेठिक भयो

यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले कर्णालीमा मुख्यमन्त्री शाहीबिरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कुराकानी गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले कर्णालीको घटना पार्टी एकताको स्पिरिटविरुद्ध भएको बताएका छन् । अध्यक्ष प्रचण्डले ओलीसँग भने, ‘कर्णालीमा जे घटना भयो यो बेठिक भयो । यो पार्टी एकताको स्प्रिटको विरुद्ध भयो । पार्टी एकताको जुन स्पिरिट हो, त्यो स्प्रिटलाई पक्रेर अगाडि बढ्नुपर्छ । जे गर्नुपर्ने हो, पार्टीमा सल्लाह गरेर अघि बढ्नुपर्छ ।’

स्रोतका अनुसार अध्यक्षद्वय ओली–प्रचण्डबीच मुख्यमन्त्री शाहीविरुद्ध सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता गराउन लगाउने तयारी छ । पूर्वमाओवादी समूहमा छलफल गरेर प्रचण्ड प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । 

कर्णालीमा देखिएको समस्या समाधानका विषयमा छलफल गर्न केन्द्रमा शीर्ष नेताहरुको सक्रियता बढेको छ । यही विषयमा छलफल गर्न सोमबार बिहानै वरिष्ठ नेता माधवकुमार नेपाल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । पार्टी एकताको मर्मअनुसार प्रदेश सरकारको पुनर्गठनलाई एजेण्डा बनाउने वा के गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको खुमलटार स्रोतले जानकारी दियो । 

यस्तै, पूर्वमाओवादीका नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर कर्णालीको घटना व्यक्तिविरुद्धको अविश्वास मात्र नभएर पार्टी एकतामाथिको प्रहारका रुपमा लिनुपर्ने भन्दै उनीमाथि दबाब दिएका छन् । उनीहरुले कर्णाली प्रदेशको मुख्यमन्त्री छाड्नुपर्ने अवस्था भएमा अन्यत्र कहाँ दिने भन्ने प्रस्ट भागबण्डा हुनुपर्ने बताएको स्रोतको भनाइ छ । आज बिहानै नेकपा स्थायी समिती सदस्यहरु वर्षमान पुन, जर्नादन शर्मा, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेका थिए । 

  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १७:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया