कर्णालीका मुख्यमन्त्रीको टोलीले दाहाल र नेपाललाई भेट्यो, प्रधानमन्त्रीसँग भोलि भेट्ने

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई संयुक्त रुपमा भेटेको छ । 

नेपाल पक्षका नेताहरुसहित खुमलटार पुगेर मुख्यमन्त्री शाही नेतृत्वको टोलीले दुई शीर्ष नेतासँग भेट गरेको हो । 

भेटमा मुख्यमन्त्री शाही नेतृत्वको टोलीले कर्णालीमा विकसित घटनाक्रमबारे जानकारी गराएको छ । तर अविश्वासको प्रस्ताव दर्ता गराउन नेतृत्व गरेका यमलाल कँडेलको समूह भने खुमलटार गएनन् । 

कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि शाहीले पार्टीका सचेतकलाई बर्खास्त गरेर नयाँ व्यक्तिलाई सो जिम्मेवारी दिएका छन् । 

केन्द्रबाट माधव नेपाल र प्रचण्डले फोन गरेर शाही विरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न भनेपछि उनीहरुनिकट नेताहरुले प्रस्तावबाट आफ्नो नाम हटाउन निवेदन दिएका छन् । 

विवाद बढ्दै गएपछि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले मुख्यमन्त्री शाहीको समूह र अविश्वासको प्रस्ताव दर्ता गराउने दुवै पक्षलाई काठमाडौं बोलाएका छन् ।



प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनमा व्यस्त भएपछि उनले दुवै समूहसँग भोलि शुक्रबार मात्रै छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलका लागि उनीहरुलाई बिहीबारै बोलाइएको भए पनि मन्त्रिपरिषद् पुनर्गठनका कारण प्रधानमनत्रीलाई समय नभएकाले भेटघाट भोलिलाई सारिएको हो ।



  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार २०:४९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया