सरकारले सस्तोमा खसीबोका बेचेर द्वन्द्व निम्त्यायो : व्यापारी
उपभोक्ता मारमा

सरकारले बजार भाउभन्दा कम मूल्यमा खसीबोका बिक्री गर्दा आफूहरु मारमा परेको खसीबोका व्यापारीले बताएका छन् ।

काठमाडौंको कलंकीस्थित खसी बजारमा खसीबोका व्यापार गर्दै आएका व्यपारीहरुले दसैंका बेला मूल्य नियन्त्रणका लागि भन्दै सरकारले खरिद मूल्यभन्दा कम मूल्यमा खसीबोका बिक्री गरिदिँदा आफूहरु मारमा परेको गुनासो गरेका छन् । 

आफूहरुले किसानबाट खरिद गर्ने मूल्यभन्दा कम मूल्यमा सरकारले बिक्री गर्दा समस्या पर्ने गरेको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनककुमार खडकाले बताए । बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिँदा आफूहरु र उपभोक्ताबीच द्वन्द्व सिर्जना हुने अवस्था रहेको पनि खड्काले बताए । 

यस्तै अर्का व्यापारी कुमार थापाले सरकारले तोक्ने मूल्य र आफूहरुले बिक्री गर्ने मूल्यमा पहिलादेखि नै फरक पर्ने गरेको बताए । आफूहरुले ५५० रुपैयाँ देखि ६ सय रुपैयाँसम्म किसानबाट खरिद गरी ल्याएकाले सरकारले तोकेको मूल्यमा बिक्री गर्न नसक्ने पनि व्यापारीहरुले बताएका छन् । 

खसीबोकाको मूल्यमा अत्यधिक फरक पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले नियमित अनुगमन गर्दै आएको छ । महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले कस्तो खसी बिक्री गर्ने कस्तो नगर्ने भन्ने सम्बन्धमा लगातार अनुगमन गरिरहेको बताइन् । उचित मूल्य निर्धारण गरेर मापदण्ड अनुसार नै बिक्री–वितरण गर्न समेत सचेत गराइएको पनि उनले बताइन् ।

बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्नका लागि भन्दै सरकारले १ हजार खसीबोका ल्याई आजदेखि बिक्री सुरु गरेको छ । जुन बजारको मूल्य नियन्त्रणका लागि अपर्याप्त हो । व्यापारीहरुले सरकारले कम मूल्य निर्धारण गरी बजारमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाए पनि फेरि एकदुई दिनमै मूल्यमा चलखेल हुनसक्ने सम्भावना देखिएको छ । यसबाट उपभोक्ताले अधिक मूल्य तिरेर खसीबोका किन्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।



अहिले सरकारले खसी बोकाको मूल्य प्रतिकेजी ५६० रुपैयाँ तोकेर १० रुपैयाँ सहुलियत दिई ५५० रुपैयाँमा बिक्री गरिरहेको छ । तर, खसी बजारमा जिउँदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँ देखि ६५० रुपैयाँ, जिउँदो बोकाको मूल्य प्रति केजी ६५० रूपैयाँदेखि ६८० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी ९ सय रुपैयाँ देखि ९८० रुपैयाँ सम्म बिक्री–वितरण भइराखेको छ ।



  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १६:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया