जनप्रतिनिधिलाई सडकमा हिड्न प्रतिबन्ध !
सडक मर्मत गर्दै स्थानीय युवा र जनप्रतिनिधिलाई निषेध भनी पोलमा टाँसिएको सूचना । तसिबर फरक ार

लामो समयपछि स्थानीय तहको निर्वाचन हुँदा जनता उत्साहित थिए। सबै जनताको एउटै अपेक्षा , अब विकासले गति लिन्छ भन्ने  । तर निर्वाचन भएको ३ वर्ष बितिसक्दा पनि जनताले विकासको अनुभूति गर्न पाएका छैन। 

जनप्रतिनिधिको आधा कार्यकाल बितिसक्यो। तर सडक मर्मत पनि गराउन नसक्दा जनताले अब जनप्रतिनिधिलाई सडकमा हिड्न प्रतिबन्ध लगाउन थालेका छन्। धनुषाको हँसपुर नगरपालिका–४ का युवाले जनप्रतिनिधिका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन्।

गरैया टोलका युवाको एक समूहले मेयर, उपमेयर र वडाध्यक्षलाई त्यस सडक भएर हिड्न नदिने घोषणा गरेको छ। युवाहरुले पोल–पोलमा ‘जनप्रतिनिधि निषेधित क्षेत्र’ लेखिएको पर्चा टाँसेका छन्। पटक–पटक बिन्ती गर्दा पनि सडक मर्मत समेत गराउन नसक्दा जनप्रतिनिधिलाई सडक भएर हिड्न नदिने घोषणा गरेका स्थानीय युवा श्याम कुमार यादवले बताए।

हिलोको समस्या थियो। अहिले हिलो त सुकेको छ तर जताततै खाल्डो छ।’ श्याम कुमारले भने–‘आवत–जावत गर्न निकै समस्या भइरहेको छ। दुर्घटनाको जोखिम छ। तर जनप्रतिनिधिले सडक मर्मत पनि गराउन सकेनन्।’



जनप्रतिनिधिले सडक मर्मत गराइदिन्छ भन्ने आश मरेपछि युवाहरुले एउटा पोखरीमा पालेको १ लाख १० हजारको माछा विक्री गरे। माछा विक्री वापतको रकमले सडक मर्मत गराउने उनीहरुको सोच थियो। तर त्यो रकम पनि वडाध्यक्ष किशोरी यादवले युवाहरुलाई फकाएर लिइसके। वडाध्यक्षले सडक मर्मत गराइदिन्छु भन्दै रकम लिएर पनि अहिलेसम्म केही काम नगरेको युवाहरुको गुनासो छ।

स्वतन्त्र युवा समूहका रामकरण भण्डारी भन्छन्, ‘सडकमा अत्यधिक हिलो जमेपछि माछा बिक्री गरेर मर्मत गराउने सोचेका थियौं। १ लाख १० हजारमा माछा पनि बेच्यौं। त्यो रकम पनि हामीबाट वडाध्यक्षले लिनुभयो। तर अहिलेसम्म सडक मर्मत गराइदिएनन्।’ वडाध्यक्ष पनि ठग सावित भएको आरोप उनले लगाए।



वडाध्यक्ष यादवले हालसम्म यस वडामा कुनै काम नगरेको उनको गुनासो छ। मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पनि भोट मागेर गएदेखि हालसम्म फर्के नआएको  युवाहरुले बताएका छन्। 

सोमबार जनप्रतिनिधि विरुद्ध प्रदर्शन गरेका युवाहरुले चन्दा उठाएर सडक मर्मतको काम पनि सुरु गरेका छन्। उनीहरु मध्ये कोही ५ हजार त कोही १० हजार दिएर सडकमा माटो पुर्ने काम गरिरहेका छन्।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १३:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया