प्रशासनलाई चुनौती दिँदै बोका बली दिने तयारी

कोरोना भाइरस संक्रमणका कारण यसवर्ष दशैँमा बोका बली चढाउन प्रशासनले प्रतिबन्ध लगाएको छ । प्रशासनलाई चुनौती दिँदै मेला आयोजक कमिटीहरु बोका बली चढाउने तयारीमा जुटेका छन् ।

जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा बली चढाउने तयारी भइरहेको छ । आयोजक महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साह भन्छन्, ‘बली चढाउने विषय अन्यौल छ । यद्यपी बोका लिएर मन्दिर आइपुगेपछि फर्काउन सकिँदैन ।’ उनले भाकल नगरेकाहरुसँग बली नचढाउन आग्रह गरिरहेको बताएका छन्।

बली चढाउन प्रतिबन्ध लगाएर प्रशासनले आस्थासँग खेलबाड गरेको अध्यक्ष साहको आरोप छ । ‘प्रसाद चढाउँन लाखौं जम्मा हुन्छन्, अनि प्रसाद चढाउन दिने,बलीमा प्रतिबन्ध लगाउने ?’ साह भन्छन् ‘प्रशासनले गलत निर्णय गरेको छ ।’ प्रशासनले बली चढाउन सहमत भएमा भीडभाड नहुने गरी व्यवस्थापन मिलाउने उनको भनाइ छ।

बली चढाउने भाकल गरेकाहरुको फोनले हैरान बनेको क्लबका पदाधिकारीहरुले  बताउँछन् । क्लबसँग आवद्ध दिपक यादव भन्छन्, ‘बली चढ्ने वा नचढ्ने बारे बुझ्न मानिसहरुले फोन गरेर हैरान पारेका छन् । कसलाई के भन्नु । जवाफ नै छैन ।’ बली चढाउन दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीसँग पटक–पटक वार्ता गरेपनि विना निष्कर्ष टुंगिएको उनको भनाइ छ । गतवर्ष राजदेवी मन्दिरमा करिब साढे १४ हजार बोकाको बली चढेको थियो । 



धनुषाकै सबैला शक्तिपीठमा भने बली चढाउन अग्रिम बुकिङ खुल्ला गरिएको छ । अहिलेसम्म हजारौं व्यक्तिले बली चढाउने टिकट लिएका हुन् । मेला आयोजक कमिटीका एक सदस्यले भने, ‘प्रशासनले त प्रतिबन्ध लगाएको छ । तर रोक्न सक्ने अवस्था छैन ।’

मन्दिर सजावटमा २० लाख खर्च



राजदेवी मन्दिरलाई दुलहीझैँ सिंगारिएको छ । मन्दिर सजावटमा करिब २० लाख खर्च  भएको महावीर युवा कमिटीले जनाएको छ ।  विगतका वर्षहरुमा व्यापारीबाट चन्दा र क्लबका सदस्यबाट संकलन भएको रकमबाट सजावट हुन्थ्यो । तर यसवर्ष कोरोना संक्रमणका कारण व्यापारीको अवस्था पनि ठिक छैन । त्यसैले चन्दा संकलन गरिएको छैन ।

अध्यक्ष साहले यसवर्ष स्थानीय तह र प्रदेश सरकारबाट सहयोग पाउने आश गरेको सुनाए । उनले भने, ‘अहिले व्यापारी आफैं संकटमा परेका कारण चन्दा समेत उठाएनौं । प्रदेश सरकार, स्थानीय तह र केही दाताबाट मात्र सहयोग पाउने आश छ ।’ 


 

  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १८:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया