पर्सामा नेकपाः गर्दै छ मृतक चौरसियाको शवमाथि राजनीति
मृतक चाैरसिया ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनको विषयमा सबैभन्दा बढी चर्चा राजधानी काठमाडौंमा हुनसक्छ । तर, दुई वर्षअघि एकता भएर बनेको नेकपाका अहिले पनि विभिन्न जिल्ला र कमिटीमा ठ्याक्कै दुई चिरामा विभाजित छ । 

त्यसको उदाहरण हो, पर्सा । 

पर्सामा अहिले दुई खेमामा बाँडिएका नेकपा नेता तथा कार्यकर्ताबीच शक्ति प्रदर्शनका विद्रुप रुप देखिन थालेको छ । पूर्वमाओवादी र पूर्वएमाले दुई फ्याकमा पर्सामा बाँडिएको नेकपाका नेता तथा कार्यकर्ताले केही दिन यता आआफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली खेमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल खेमामा बाँडिएका पर्साका नेता तथा कार्यकर्ता अहिले यति विभाजित भएका छन् कि उनीहरुबीच पानी बाराबारको अवस्था सिर्जना भइसकेको छ । कतिसम्म भने यसमा प्रहरीको ‘रोल’ पनि अब विवादमा आउन थालेको छ ।

यसलाई बुझ्न केही दिन अघिको घटनामा जाऔँ । 

घटना हो, ६ असोजको । अनि स्थान हो, पर्साको बिन्दवासिनी गाउँपालिका । पात्रहरु हुन्, नेकपाका नेता तथा कार्यकर्ता । 



यो दिन त्यही दिन हो जहाँ एक नेकपा कार्यकर्ताको हत्या भयो । र, उनको हत्यामा संलग्न भएकाहरु पनि हुन्, नेकपाकै कार्यकर्ता ।

बिन्दवासिनी गाउँपालिकाको प्रसौनीभट्टामा नेकपा गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रम चलिरहेको थियो । अनि यो कार्यक्रममा उपस्थित थिए, जिल्ला तथा केन्द्रीयस्तरका नेताहरु ।



कार्यक्रमको बीचमा नै नेकपा गाउँ कमिटीकै केही नेताहरु आए र कार्यक्रम आयोजकलाई प्रश्न गर्न थाले– हामीलाई किन यो कार्यक्रममा आमन्त्रण गरिएन ? 

उनीहरु पनि त्यही गाउँ कमिटीका नेता तथा कार्यकर्ता थिए । उनीहरु आफ्नो पार्टीले गरेको कार्यक्रममा आफूलाई बोलाइनु सामान्य मानिरहेका थिए, त्यहीअनुसार अभिव्यक्ति दिइरहेका थिए ।

तर, सामान्य विरोधबाट सुरु भएको यो विवाद थप तनावमा बदलिन थाल्यो । यसले अचानक उग्ररुप लियो । 

अनि त्यहाँ नेकपाका कार्यकर्ताहरुले एकअर्कालाई भाटा हान्न थाले, एकअर्कामाथि गम्भीर प्रहार गर्न थाले । घटनामा कम्तिमा पनि ७ जना घाइते भए । तीमध्ये एक जना गम्भीर घाइते भए । 

घाइतेहरु सबैलाई अस्पताल भर्ना गरियो । सबैको अवस्थामा विस्तारै सुधार आउन थाल्यो, मुकेश चौरसियाबाहेक ।

नेकपामा प्रवेश गरेकाहरुको सपथमा पुगेका चौरसिया त्यो सपथबाट घर फर्किन पाएनन् । भोलिपल्ट अस्पतालमा चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरे ।

चौरसियाको मृत्यु त भयो तर नेकपा पर्साका नेता तथा कार्यकर्ता अब यसलाई आफ्नो दाउ बनाइरहेका छन्, शक्ति प्रदर्शन गर्ने । अनि यही विषय अब गुट–उपगुटको लडाइँमा पुगेको छ ।

आखिर यो अवस्था त्यहाँ किन आइपुग्यो त ? 

यसलाई सहज तरिकाले बुझौँ । 

सपथ कार्यक्रममा टाउकोमा भाटा प्रहार भएपछि अचेत बनेका चौरसिया पर्साका पुराना पूर्वमाओवादी नेता हुन् । उनी नेकपा नेता मातृका यादवनिकट पर्साका नेता छोटेलाल यादवनिकट भएको मानिन्छ । 

तिनै चौरसियाको घटनामा निधन भयो । आफ्नो नजिकको कार्यकर्ताको निधन भएपछि छोटेलाल यादवमात्र होइन, मातृक यादव पनि अब वीरगन्जमा चौरसियाको पक्षमा वकालत गरिरहेका छन् ।

यतिमात्र होइन, घटनामा संलग्न भएको भन्दै उनीहरुले केही पूर्वएमालेका नेता तथा कार्यकर्ताको नाममा प्रहरीमा किटानी जाहेरी दिन खोजिरहेका छन् । तर, प्रहरीले उनीहरुले लिएका नाममा राजनीतिक प्रतिशोध देखिएको बताउँदै यो किटानी जाहेरी लिन मानेको छैन । 

फरकधारलाई प्रहरी स्रोतले बताएअनुसार घटनामा संलग्न भन्दै पर्साका पूर्वसांसद् राजकुमारप गुप्तासहित १२ जनाको नाममा मातृका यादव र उनीनिकट नेताहरुले किटानी जाहेरी दिन चाहिरहेका थिए । ‘तर, यसमा राजनीतिक प्रतिशोधको गन्ध देखियो,’ प्रहरी स्रोत भन्छ, ‘त्यसैले किटानी जाहेरी लिन मिलेन ।’

प्रहरीका अनुसार चौरसियामाथि आक्रमण भएको त्यो कार्यक्रममा पूर्वसांसद गुप्ता सहभागी नै थिएनन् । तर, उनीविरुद्धका नेकपा नेताहरुले उनको डिजाइनमा नै यो आक्रमण भएको आरोप लगाइरहेका छन् । 

मृतक चौरसियाका आफन्त र उनलाई समर्थन गरेका नेताहरुलाई पछिल्लो समय प्रहरी भनिरहेको छ– घटनामा संलग्न भएकाहरुको मात्र नाममा किटानी जाहेरी दिनू !

तर, चौरसियाका आफन्तहरु र उनको मृत्युको छानबिन हुनु पर्ने माग राख्ने नेताहरु गुप्ताविरुद्ध नै किटानी जाहेरी प्रहरीले लिनु पर्ने अडानमा छन् । 

फलस्वरुपः पाँच दिनदेखि चौरसियाको शव अस्पतालमा नै छ !

अब लागौँ शवमाथि पर्सामा किन यो राजनीति गरिएको छ भन्नेबारे ।

यो घटना पर्सा क्षेत्र नम्बर तीनको हो । जहाँबाट यसअघिको निर्वाचनमा नेकपाबाट पूर्वसभासद गुप्ता पराजित भएका थिए  । 

गुप्ताको यही क्षेत्र हो, पूर्वमाओवादी नेता छोटेलाल यादवको क्षेत्र पनि । यही क्षेत्रबाट यादव चुनाव लडेका थिए । 

अबको निर्वाचनमा नेकपा पार्टीबाट कसले यहाँ चुनावी टिकट पाउने भन्ने बहस अहिले नै सुरु भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकै नजिक मानिएका गुप्ताले आफू नै अबको उम्मेदवार भएको अहिले नै बताउन थालिसकेका छन् । 

र, उनलाई यो अवसर दिनबाट रोक्न चाहन्छन्, यादव । 

‘एउटाले अर्कोलाई फसाएर अगाडि बढ्दै आफ्नो राजनीति सुनिश्चित गर्ने खेल हो यो,’ नेकपा पर्सा जिल्लाका अध्यक्ष प्रभु हजारले फरकधारलाई बताए । 

अर्कोतिर, प्रहरीले यो मुद्दामा आफूहरुले गम्भीर रुपमा अध्ययन गरेको बताएको छ । ‘राजनीतिक प्रतिशोधका आधारमा यो मुद्दालाई डाइभर्ट गर्न खोजिएको छ,’ पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले फरकधारलाई बताइन्, ‘प्रहरीले यो मुद्दामा गम्भीर र सुक्ष्मरुपमा अध्ययन गरिरहेको छ ।’

उनका अनुसार घटनाको भिडियो प्रहरीले हेरिसकेको छ र त्यसको छानबिन पनि भइसकेको छ । ‘तर, भिडिओमा कतै नदेखिएका व्यक्तिहरुको नाममा किटानी जाहेरी दिन खोजिएको छ,’ उनले भनिन्, ‘त्यसैले प्रहरीले मुद्दा दर्ता गरेको छैन ।’

पन्तले घटनामा संलग्नहरुको नाममा उजुरी आए प्रहरीले लिने र त्यसलाई गम्भीर रुपमा अगाडि बढाउने फरकधारसँग बताइन् ।

अर्कोतिर, नेकपा वीरगन्ज महानगरका अध्यक्ष रहबर अन्सारीले यो घटनामा प्रहरीले बदमासी गरेको आरोप लगाउँछन् । ‘मृतकको परिवारले दिएको किटानी जाहेरी नै नलिएर प्रहरीले ठूलो गल्ती गरेको छ,’ उनले फरकधारसँग भने, ‘तर, प्रहरीले यहाँ अनुसन्धान नै गरेको छैन, फलानो फलानो नाममा उजुरी दिनुहोस् भनेर प्रहरीले ह्विप जारी गर्न पाउँछ ?’

प्रहरी र नेकपाका दुई पक्षका नेताहरुका फरक फरक दाबी आए पनि चौरसियाको शव अझै अस्पतालमा छ । जे जे बाहनामा भए पनि अहिले पर्सामा नेकपाकै नेताहरु शवमाथि राजनीति गरिरहेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १८:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया