महाधिवेशन टार्न देउवाका तीन दाउ

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन कहिले हुने भन्ने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । कोरोनाभाइरसका कारण र काङ्ग्रेसले महाधिवेशन अगाडि गर्नुपर्ने काम नसक्दा फागुनमा गर्ने भनिएको महाधिवेशन भदौमा सर्न सक्ने सम्भावना बढिरहेको छ । 

कांग्रेसका केही युवा नेताहरु तथा रामचन्द्र पौडेल समूहले पनि भदौका लागि महाधिवेशन सार्दा ठिक हुने राय दिइरहेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेसम्म महाधिवेशन फागुनमै हुने अभिव्यक्ति दिएका छन् । उनले महाधिवेशन फागुनमा नै हुने बताएपछि यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन फागुनमा नै गर्नुपर्ने बताएका थिए ।

त्यसो त पौडेलले यसअघि विशेष महाधिवेशनको चर्चा पनि गरेका थिए । उनले विशेष महाधिवेशन गरेर कांग्रेसको वैधानिकतामाथि प्रश्न आउन दिन नहुने बताएका थिए । तर, यो पनि उनले आफूलाई नेतृत्वमा ल्याउन गरेको प्रयास भएको टिप्पणी कांग्रेसकै अन्य नेताहरुले गरेका छन् । 

फागुनमा गर्ने भनिएको महाधिवेशन अब कहिले होला भन्ने अनुमान गर्न पनि सकिँदैन । ‘कोरोनाको पिक टाइम अझै आएको छैन भन्ने अनुमान छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘यस्तै अवस्थामा देउवाले महाधिवेशन गरेनन् भन्न सकिँदैन । अर्कोतिर देउवा यो महाधिवेशनमा पछि पनि आफैं सभापति हो भन्नेमा ढुक्क हुन सकेका छैनन् । त्यसैले अहिले नै उनले महाधिवेशन गरेर सोझै पार्टी नेतृत्व अरुलाई सुम्पिने सम्भावना नै रहँदैन ।’

देउवाकै विश्वासपात्र मानिएका विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बताएपछि देउवा आफूबाट नेतृत्व खोसिने कुरामा डराएका छन् । 

‘विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिँदा सभापतिका दाबेदारको संख्या बढ्ने मात्र होइन, देउवालाई सभापतिमा दोहोरिन सकस पनि हुनेछ,’ कांग्रेसका ती केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘त्यसैले देउवाले यो महाधिवेशन अहिले तत्कालका लागि टार्न खोजिरहेका छन् ।’



महाधिवेशन टार्नका लागि देउवाले तीन विकल्पलाई अगाडि सारेका छन् । 

त्यस्तोमा देउवाले सोचेको पहिलो विकल्प हो, नेपाली कांग्रेस (बिपी)लाई पार्टीमा एकता गराउने । हरिबोल भट्टराईको नेतृत्वको यो पार्टीसँग एकता गर्दा थप पाँच वर्ष महाधिवेशन गर्नु नपर्ने देउवाको दाउ छ । तर, देउवाको यो दाउ किन कमजोर भएको छ भने थप पाँच वर्ष महाधिवेशन नगर्नका लागि नेपाली कांग्रेस (बिपी)सँग एकता गर्दा पार्टीको नाम र पार्टीको चुनाव चिन्हसमेत फेर्नु पर्ने हुन्छ । 



यसबाट आफ्नो ध्येय पूरा हुने नदेखेपछि देउवाले अर्को दाउलाई अगाडि बढाउन थालेका छन् । उनी अब यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासमा लिने प्रयासमा छन् । 

‘नेकपाले पनि यस विषयमा संवैधानिक व्यवस्था परिवर्तन मानेको खण्डमा देउवालाई कांग्रेसको नेतृत्वमा आफू रहने समय सहजै लम्बिने विश्वास छ,’ कांग्रेसका ती केन्द्रीय सदस्यले भने, ‘यसका लागि उनले ओलीसँग कुराकानी सुरु गरिसकेका छन् ।’

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देउवाको यो प्रस्ताव मान्दा उनलाई पनि नेकपामा सहज हुने वातावरण देखिन्छ । अहिले नेकपाले चैतमा गर्ने भनेको महाधिवेशन निश्चित छैन, बरु थप अनिश्चित बनेको छ । पछिल्लो पटक नेकपामा बढेको विवादका कारण चैतमा नै महाधिवेशन होला भन्ने विश्वासमा नेकपाकै कार्यकर्ता तथा नेता छैनन् । त्यसैले, देउवाले यसलाई अवसरका रुपमा लिन खोजेका छन् । 

‘निर्वाचन आयोगमा राष्ट्रिय दलसम्बन्धी मान्यता जुन छ, त्यसमा अहिले केही हेरफेर गर्न सकियो भने देउवाले आफूलाई थप केही समयका लागि पार्टी नेतृत्वमा हुने आधार देखेका छन्,’ कांग्रेसका ती नेताले फरकधारलाई भने, ‘यसमा उनी अहिले नेकपाको विश्वास जित्ने दाउमा छन् ।’

कांग्रेस सभापति देउवाले अहिले तत्कालका लागि यो सम्भव नभएमा अर्को रणनीति पनि अगाडि सार्ने योजना बनाएका छन् । देउवा कांग्रेसमा अहिले कोरोनाभाइरस महामारीका कारण महाधिवेशन गर्न नसकिने तर्क मात्र दिइरहेका छैनन्, उनी पार्टीमा सभापतिमा आकांक्षीहरु सबैलाई मिलाएर अगाडि बढ्ने दाउमा पनि रहेका छन् ।

‘यसका लागि उनी पावर सेयरिङ गर्न र धेरै सहअध्यक्षहरुको मोडलमा जान खोजिरहेको पछिल्लो समय उनी निटक नेताहरुले गर्न थालेका कुराकानीबाट बुझ्न थालिएको छ,’ ती नेताले भने ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १९:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया