प्लाज्मा थेरापीका लागि कोरोनामुक्त प्रदेशसभा सदस्यसहितले गरे रक्तदान

कोरोना सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापीका लागि सहयोग पुर्याउन बाग्मती प्रदेशससभासहितको टोलीले आज रक्तदान गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी भक्तपुरमा पुगेर बाग्मती प्रदेशसभा सदस्य एवं भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार निवासी शशिजंग थापा, औषधि व्यवसायी संघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद भुसाल र पत्रकार लीला श्रेष्ठले आज प्लाज्माका लागि एकैसाथ रक्तदान गरेका हुन् ।

गत भदौ २१ गतेदेखि सङ्क्रमण निको भएका स्वस्थ्य व्यक्तिको रगत संकलन  गरिएको छ । प्लाज्मा थेरापीका लागि रक्तदातालाई घरसम्मै रेडक्रसले सवारी साधन लिएर लिन जाने गरेको छ । भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रमा रगत संकलन गरी प्लाज्मा छुट्याएर सङ्क्रमितलाई उपलब्ध गराइने गरिएको छ ।

रक्तदानपछि सञ्चारकर्मीसंँग कुरा गर्दै प्रदेशसभा सदस्य थापाले कोरोना सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्माले सङ्क्रमित गम्भीर बिरामीका लागि जीवनदान बन्न सक्ने भएपछि आफैँले साथीहरुलाई प्लाज्मा दानका लागि रक्तदान गरेको बताए । 

‘कोरोना भाइरस पोजेटिभ आएर निको भएका चिनजानका १० भन्दा बढीलाई एकैपटक रक्तदान गराउन खोजेको थिएँ, आज अपर्झट एकजना साथी लिएर आइयो,’ प्रदेशसभा सदस्य थापाले भने, ‘सङ्क्रमण निको भएकाले आफ्नो रगत खेर जान दिनुभन्दा मृत्युसँंग जुधिरहेका सङ्क्रमितको ज्यान बचाउनु उपयुक्त भनेर प्लाज्मा दानका लागि रगत दिएको हुँ, कोरोना निको भई स्वस्थ्य रहेका सबैलाई प्लाज्माका लागि रक्तदान गर्न आह्वान गर्दछु ।’

कोरोना भाइरसको औषधि र खोप पत्ता नलागेको अहिलेका अवस्थामा सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्मा गम्भीर संक्रमितका लागि जीवनदान हुने भएकाले अरुलाई प्रेरणा मिलोस् भनेर नै रक्तदान गर्न आएको उनको भनाइ छ । 



सङ्क्रमितले भोग्ने पीडा र कोरोनासंँगको जुध्दा सकस भोग्नेलाई मात्रै थाहा हुने बताउँदै उनले सङ्क्रमण निको भएका आफूले चिनेका व्यक्तिलाई पनि प्लाज्माका लागि रक्तदान गर्न पठाउने जानकारी दिए ।



  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार २०:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया