मत्थर हुने लाइनमा छैन नेकपा विवाद, तीन शीर्ष नेता किन मौन ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक किचलोमा झन–झन फस्दै गएको छ। मुलुकमा कोरोना संक्रमणको सुरुवातका बेलादेखि नेकपामा सल्किएको विवादको आगो निम्नुको सट्टा उर्लिँदै जान थालेको संकेत पछिल्ला घटनाक्रमले गरिरहेको छ। 

कोरोना संक्रमणबाट प्रत्येक दिन करिब २० जना नागरिकले मृत्युवरण गरिरहेका छन्।  दिनहुँ हजारौं संक्रमित थपिइरहेका छन्। जाडो याममा संक्रमण झन घातक बन्न सक्ने आँकलन यस क्षेत्रका विज्ञहरुले गरिरहेका छन्। यही क्रम जारी रहेमा कोरोनाका कारण देश थप संकटमा धकेलिने देखिन्छ। 

नेपालमा कोरोनाका एक/दुई केस फेला पर्दा र तिनलाई उपचार गरेर घर फर्काउँदा सरकारले ठूलै लडाई जिते झैँ प्रचार गर्ने गरेको थियो। सबै संक्रमितको सरकारले निशुल्क उपचार गर्ने भनेर सगर्व घोषणा गरेको थियो।  अहिले कोरोना संक्रमणले रफ्तार लिइरहेका बेला संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट सरकारले हात झिकेको छ। 

लामो समय लकडाउन हुँदा तथा संक्रमण फैलिँदै गएका कारण अधिकांश जनताको आयस्रोत ठप्प भएको छ। आफू कसरी पालिने, परिवार कसरी पाल्ने ? भन्ने समस्याले आम नागरिकलाई पिरोलेको छ। 

 धेरै नागरिकहरु कोरोना संक्रमण भई जटिल लक्षण देखिएमा उपचार खर्च जुटाउन नसक्ने अवस्थामा छन्। सिकिस्त भएको संक्रमितहरु अस्पतालको बेड नपाएर र खर्च अभावमा उपचारै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्ने देखिन्छ। 


अहिले हेर्दा सरकार र सरकार हाँकिरहेको दल नेकपा यसप्रति कत्ति पनि गम्भीर नभएको आभास जनतालाई भइरहेको छ। सरकार र नेकपा नेतृत्वलाई कोरोना महामारी र जनताको समस्या भन्दा पार्टीको आन्तरिक किचलोकै समस्याले पिरोलेको छ। पार्टी किचलोमा झन–झन फस्दै गइरहेको छ। गत शनिबार भएको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले 'अब छुट्टा–छुट्टै जाउँ, मिलेर जान सकिदैन’ भनेर भनेको कुरा प्रचण्डले खुमलटारमा आफूनिकटका नेतासमक्ष ब्रिफिङ गरेपछि नेकपा विवादले पुनः तरंग पैदा गरेको छ। 



गत वैशाखमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछि बीचमा विवाद केही मत्थर भएको देखिए पनि विवादको बैठान हुन सकेको छैन। 

शनिबार ओली–प्रचण्डबीच भएको भेटवार्ताको कुरा प्रचण्डले आइतबार खुमलटारमा ब्रिफिङ गरेपछि नेपाली राजनीति पुनः तरंगित भएको छ। उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा नेताहरुले फरक–फरक लाइनका तर्क र विचार प्रस्तुत गरिरहेका छन् 



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार ओली निकट नेताहरुको छलफल र सोही दिन अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यको छलफलले विवादलाई उत्कर्षमा देखाएको थियो। विवाद बाहिरिएको दुई दिन बितेको छ। तर अब नेकपा विवाद कसरी समाधान हुन्छ भन्ने विषयमा अन्यौलता थपिएको छ। 

विवाद समाधान गर्न नेताहरु आन्तरिक रुपमा लागिरहेका छन्। तर, पार्टीका नेतृत्व अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कुनै औपचारिक पहल गरेका छैनन्। नेताहरूबीच सोमबार र मंगलबार पनि कुनै संवाद हुन सकेन। अहिलेसम्मको घटनाक्रम हेर्दा अझै केहीदिन नेताहरूबीच औपचारिक संवाद हुने कुनै सम्भावना देखिँदैन। 

दुई अध्यक्षबीच केही दिन छलफल हुनसक्ने सम्भावना नरहेको अध्यक्ष प्रचण्ड निकट स्रोतले बतायो। अहिलेको राजनीतिक सन्नाटा तोडिन अझै केही दिन लाग्न सक्ने ती नेताले बताए। ‘अहिलेसम्म त्यस्तो कुनै पहलकदमी देखिएको छैन। पछिल्लो विवादको विषयमा केही पनि भएको छैन भन्दा पनि हुन्छ’ ती नेताले भने, ‘तर यो समस्या समाधान हुन्छ। नेताहरु बसेर समाधान गर्नुहुन्छ ।’

प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्ड समूहले सचिवालय बैठक बसेर पछिल्लो घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने माग गर्दै आएका छन्। तर, ओलीले बैठक नबोलाउने अडानमा  छन्।  प्रचण्डनिकट स्रोतका अनुसार ओलीले कुनैपनि पार्टी निर्णय नमान्ने बताएका छन्। 

नेपाल, खनाल र गौतम मौन

विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको  हल्ला चलिरहेका नेकपाका शीर्ष मध्येका ३ नेता मौन छन्। पार्टी विवादमा स्पष्ट लाइनकासाथ सक्रिय भूमिका निर्वाह गर्दै आएका पार्टीका बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम यो विवादमा किन मौन बसे भन्ने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

 अध्यक्ष प्रचण्डले डाकेपछि आइतबार खुमलटारमा पुगेका तीनै जना नेता यसबारे खासै बोलेका छैनन्। उनीहरु फोनमा संवाद गरी पार्टी मिलाउन लागिरहेको बरिष्ठ नेता झलनाथ खनाल निकट स्रोतले जानकारी दिएको छ। ‘पार्टीलाई एकताबद्ध ढंगले लाग्नुको विकल्प छैन’ खनालनिकट स्रोतले भन्यो, ‘प्रत्यक्ष भेटघाट गर्नुभएको छैन। उहाँले फोनबाटै सबै कुराकानी गरिरहनु भएको छैन।’ 
 

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १८:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया