बंगलादेश पुगेको नेपाली फुटबल टोली होटलको छतमै अभ्यासमा [भिडियोसहित]

मैत्रिपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेको थियो ।

मैत्रिपूर्ण खेलका लागि यति बेला नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशको ढाकामा रहेको छ । एक साता क्वारेन्टाइन बसाइपछि टोलीले दुई मैत्रिपूर्ण खेल खेल्ने छ । बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्ड अनुसार क्वारेन्टाइन बसाइमा शुक्रबार सामान्य अभ्यास गरेको हो । यसअघि होटलमै नेपाली टोलीको पिसिआर परीक्षण गरिएको थियो । अहिलेसम्म नतिजा आएको छैन ।

पिसिआर परीक्षणको नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास सुरु गर्ने  तालिका रहेको छ । रिपोर्ट आउनु पूर्व टोलीले शुक्रबार क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको हो । होटलको छतलाई खेलाडीले सामान्य अभ्यास गर्ने स्थल बनाएका छन् । यससँगै नेपाली खेलाडी मैदान उत्रिन कतिको आतुर छन् भन्ने प्रस्ट्याएको छ । 

पाँच दिनको होटेल आइसोलेसनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीन दिनपछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सरेको छ । कोरोना भाइरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । मैत्रिपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्यीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो । 

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ । बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।

 





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १९:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया